Logo
|
Thursday 28th March 2024
Logo

epaper

पिसाबसम्बन्धि संक्रमण र पत्थरी



डा. कृष्ण काजी भोमी काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा वरिष्ठ युरोलोजिष्ट एवं एसोसियट प्रोफेसर हुनुहुन्छ । यो क्षेत्रमा एक दशकको अभ्यासमा डा. भोमीले करिब १ लाख जति व्यक्तिलाई युरोलोजीसम्बन्धि सेवा दिइसक्नुभएको छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सातामा दुई दिन ओपिडी सेवा दिनुहुने डा. भोमीबाट महिनामा करिब ७ सय बिरामीले युरोलोजीसम्बन्धि सेवा प्राप्त गरिहेका छन् । जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले युरोलोजीसम्बन्धि समस्याबारे डा. भोमीको आफ्नै शव्द प्रस्तुत गरेका छौं ।
खासगरीे पिसाबसम्बन्धि पत्थरी र संक्रमणले धेरैलाई सताएको पाइन्छ । मिर्गौला, मुत्रनली र पिसाबथैलीमा संक्रमणसम्बन्धि समस्या लिएर आउने बिरामीहरुको संख्या पनि कम छैन ।
पिसाबको थैली र पिसाबको नलीसम्बन्धि संक्रमण महिलाहरुमा धेरै हुने गर्छ । संरचनागत रुपमा महिलाहरुमा पिसाब र दिसा गर्ने ठाउँ सँगसँगै हुने भएकाले दिसा गर्ने ठाउँको किटाणु सजिलैसँग पिसाब गर्ने ठाउँमा छिर्नसक्छ । संक्रमण र पत्थरीसम्बन्धि समस्या बाल्यावस्थामा पनि हुनसक्छ । तर अस्वस्थ्यकर जीवनशैलीका कारण वयस्क उमेरका व्यक्तिलाई धेरै देखिने गरेको छ । प्रायः पिसाबसम्बन्धि संक्रमणको लक्षण महिला र पुरुष दुवैमा एकै प्रकारको देखिन्छ ।

संक्रमणका लक्षण
मुख्य समस्या
-पिसाब फेर्दा पोल्ने
– पिसाब फेर्न छिटो छिटो र हतारिएर जानुपर्ने
-कसैकसैमा पिसाबमा रगत देखापर्ने
– पिसाबको धारा मसिनो हुने
– संक्रमण बढ्दै गएमा ज्वरो आउने, तल्लो पेट दुख्ने, पछाडि कोखा दुख्ने आदि ।

संक्रमण बढ्दै जाँदा पार्ने प्रभाव
– पिसाब पोलेर पीडा दिने
– मिर्गौला विफल समेत गराउनसक्ने
– संक्रमण कडा भएमा बिरामी बेहोस हुनसक्ने । यसलाई मेडिकल भाषामा युरो सेप्सिस भनिन्छ ।
– यदि समयमा उपचार नपाएमा बिरामीको ज्यान समेत जानसक्ने

संक्रमणको कारण
धेरैजसो पिसाबको संक्रमण पानी कम खाने व्यक्तिमा देखिन्छ । प्रोस्टेटको समस्याले पिसाब राम्रोसँग ननिख्रिने कारणले पनि संक्रमण हुनसक्छ । कसैकसैमा जन्मजात पिसाबनलीको गडबडीले पनि संक्रमण भइरहनसक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पटकपटक पिसाब नली र पिसाब थैलीको संक्रमण भइरहन्छ ।

उपचार
पिसाबको ल्याव परीक्षणको रिपोर्टका आधारमा बिरामीलाई एन्टिबायोटिकलगायत आवश्यक औषधि दिनुपर्छ । यदि समस्या निको नभएमा थप कारण पत्ता लगाउने र आवश्यक उपचार शुरु गर्नुपर्छ । पत्थरसम्बन्धि कारणले संक्रमण भएका व्यक्तिहरुमा उपचार पछि पनि पटक पटक समस्या दोहोरिने सम्भावना रहेकाले सम्बन्धित चिकित्सकको परामर्श र निगरानीमा बस्नुपर्छ ।

पिसाबसम्बन्धि पत्थर
हामीले खाएको खाना पचिसकेपछि निस्किएको निश्चित विकारजन्य पदार्थ शरीरले मिर्गौलाको माध्यमबाट पिसाबमा फाल्छ । यसरी पिसाबमा घोलिएर रहेका विकारजन्य पदार्थ थेग्रिन गएमा मिर्गौला वा पिसाब थैलीमा पत्थर बन्छ । हाम्रो देशमा यस किसिमको समस्या धेरैलाई हुने गरेको पाइन्छ ।

पत्थरको प्रमुख कारण
– शरीरमा पानीको मात्रा कम भएमा विकारजन्य पदार्थ घोलिएर जान सक्दैन र यो थेग्रिएर पत्थरको रुप धारण गर्छ ।
– पिसाबमा विकारजन्य पदार्थ धेरै भएमा यस किसिमको समस्या हुन्छ । त्यसैले कम पानी पिउने मानिसमा यस प्रकारको समस्या हुनसक्छ ।
– पिसाबथैलीमा पटक पटक संक्रमण भइरहेमा पत्थर बन्ने सम्भावना धेरै हुन्छ ।
– पत्थरले गर्दा पिसाबथैलीमा संक्रमण हुन्छ भने संक्रमणले गर्दा पनि पत्थर हुने सम्भावना रहन्छ ।
– युरिया स्प्लिटिङ अर्गानिजम जस्तो किटाणुले संक्रमण गरेको मिर्गौलाहरुमा पत्थर हुने सम्भावना बढी हुन्छ ।
– खानामा कुनै पनि तत्वको मात्रा बढी भएमा मिर्गौलाले त्यसलाई फाल्न नसक्दा पत्थर हुने सम्भावना धेरै हुन्छ ।
– बच्चाहरुमा कन्जनाइटल एनामली अर्थात कुनै कारण जन्मजात बच्चामा मिर्गौलाको संरचनामा गडबड भएर पिसाब जाम भएमा पत्थर बन्ने सम्भावना रहन्छ ।

त्यसैले सन्तुलित भोजन बेवास्ता गरी कुनै एक प्रकारको खाना बढी खाने मानिसहरुमा पत्थर हुने सम्भावना धेरै हुन्छ । त्यसैले सन्तुलित भोजनमा जोड दिएमा पत्थर बन्ने सम्भावनालाई न्यूनिकरण गर्न सकिन्छ ।

लक्षण
– मिर्गौलामा पत्थरी भएमा कोखामा दुखाई हुन्छ ।
-पिसाबनलीमा पत्थर अड्किएमा कोखाको साथसाथै तल्लो पेट पनि दुख्छ ।
-कसैकसैमा लक्षणबिना पनि पत्थर भई बढ्दै जानसक्छ । बढेको पत्थरले मिर्गौलालाई विफल गराइसकेपछि मात्र बिरामीलाई थाहा हुनसक्छ ।

डायग्नोसिस
साधारण एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान गरेर पिसाबसम्बन्धि पत्थरी पत्ता लगाउन सकिन्छ । पत्थरीले निकट भविष्यमा मिर्गौलामा असर गर्ने सम्भावना कति छ भन्ने पहिचान गर्नुपर्छ । मिर्गौलामा भएका ४—५ मिलिमिटर पत्थरको खासै उपचार गरिरहन आवश्यक हुँदैन । यस्ता पत्थरी आफैं पनि पिसाबबाट जानसक्छन् । तर पत्थरको आकार ५ मिलिमिटरभन्दा बढी भएमा वा मिर्गौला भन्दा तल आएर मिर्गौलाको मुख वा नलीमा अड्किएमा उपचार गर्नुपर्ने हुन्छ । पत्थर भएको बिरामीले बेलाबेलामा मिर्गौलाको अवस्थाबारे परीक्षण गरिरहनुपर्छ । यसबाट पत्थरले मिर्गौलालाई असर गरेनगरेको पहिचान हुन्छ ।

उपचार
पिसाबसम्बन्धि पत्थरमा मेडिकल वा सर्जिकल उपचारको जरुरत पर्नसक्छ । १० मिलिमिटर भन्दा सानो पत्थर झरेर नलीमा अड्किएर मिर्गौलामा समस्या नभएको अवस्थामा केही समयका लागि नलीलाई फुलाउने औषधि दिने गरिन्छ । यस्तो अवस्थामा बिरामीलाई पर्याप्त पानी पिउन र शारीरिक अभ्यास गर्न सल्लाह दिइन्छ । बिरामीलाई दुखाई कम गर्ने औषधि दिएर यस किसिमको उपचार दुई हप्तासम्म गरेर हेर्न सकिन्छ । यदि बिरामीलाई लामो समयसम्म पत्थर नझरेमा वा असह्य पीडा भएर ज्वरो आएमा तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । ठूलो पत्थरलाई औषधिले काम नगर्ने भएकाले शल्यक्रिय आवश्यक हुन्छ ।
मिर्गौलाको पत्थरको सबभन्दा पुरानो उपचार चिरेर गर्ने ओपन सर्जरी हो । त्यसबाहेक मिर्गौलाको पत्थरी बाहिरैबाट अल्ट्रासोनिक वेभले फुटाएर झार्ने प्रविधि पनि छ । यसलाई इएएसडब्लुएल (एक्स्ट्रा कर्पोरियल सकवेभ लिथोट्रिप्सी) भनिन्छ ।
पिसिएनएल पद्धतिमा मिर्गौलामा भएको पत्थरलाई छालामा सानो प्वाल पारेर त्यसबाट दुरबीन छिराएर पत्थर फुटाएर सोझै प्वालबाट बाहिर निकालिन्छ । आजभोलि मिर्गौलाको पत्थरीका लागि यो राम्रो प्रविधि मानिन्छ । अहिले आरआइआरएस प्रविधि पनि शुरु भइसकेको छ जसमा मिर्गौलाको पत्थरी पिसाबनलीबाटै फुटाएर निकालिन्छ । नलीमा अड्किएको पत्थरका लागि युआरएस प्रविधि अपनाइन्छ । युआरएस भनेको पिसाब नलीबाट छिराएर पत्थरसम्म पु¥याई भिडियोमा हेर्दै पत्थरलाई फुटाएर निकाल्ने तरिका हो । नेपालको धेरैजसो अस्पतालमा यस प्रकारको प्रविधि उपलब्ध छ ।

पत्थर बल्झिने सम्भावना
एकपटक पत्थर बनेर उपचार गरेका मान्छेमा फेरि बल्झिने सम्भावना सामान्य व्यक्तिको तुलनामा धेरै हुन्छ । पत्थर निकालिसकेका व्यक्तिमा फेरि पत्थर बन्ने सम्भावना एक वर्षमा १० प्रतिशत, १० वर्षमा ५० प्रतिशत हुन्छ ।

रोकथाम
– पर्याप्त पानी पिउने । शरीरमा भएको विकारजन्य पदार्थ निकाल्न दैनिक दुई लिटर पिसाब बन्न जरुरी छ । दुई लिटर पिसाब बन्न कम्तिमा पनि साँडे २ लिटर पानी पिउनुपर्छ । गर्मी मौसममा धेरै पसिना निस्कने भएकाले वयस्क व्यक्तिले करिब ३, ४ लिटर जति पानी पिउन आवश्यक हुन्छ ।
– सन्तुलित खाना खाने
– सक्रिय जीवन जीउने
-शारीरिक अभ्यास गरिरहने

प्रतिक्रिया दिनुहोस्