Logo
|
Thursday 28th March 2024
Logo

epaper

२२ अर्ब नहुँदा ९१९ स्वास्थ्य संस्था निर्माण अन्योलमा



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भवन विभागले मागेअनुसार रकम उपलब्ध गराउन नसक्दा स्वास्थ्य संस्था निर्माण अन्योलमा परेको छ । आगामी पाँच वर्ष गुरुयोजनाभित्र ९१९ स्वास्थ्य संस्था निर्माण गर्नुपर्ने योजनाअनुसार काम थाले पनि आवश्यक रकम उपलब्ध गराउन नसक्दा निर्माण कार्य अन्योलमा परेको हो ।

 

स्वास्थ्य मन्त्रालयले पाँच वर्षमा ९१९ स्वास्थ्य संस्था निर्माण सम्पन्न गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा दिएको थियो । उक्त भवन निर्माणका लागि करिब २७ अर्ब लागत लाग्ने भए पनि मन्त्रालयले चार अर्ब उपलब्ध गराएको छ ।

व्यवस्थापन महाशाखा योजना शाखाका कम्प्युटर अधिकृत सुशील नेपालले आवश्यक रकम अभावका कारण समयमा भवन बन्ने अवस्था नदेखिएको बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको मन्त्रालयसँग हाल विभागलाई दिने पर्याप्त रकम छैन । विभागलाई मन्त्रालयले स्वास्थ्य भवन बनाएबापत अब २२ अर्ब रुपैयाँ दिनुपर्छ । रकम अभावका कारण समयमा स्वास्थ्य संस्था निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ ।

०६२ देखि स्वास्थ्य संस्था निर्माणको जिम्मा भवन विभागलाई
सरकारले निर्माण गर्नुपर्ने भवनको जिम्मेवारी पूरा गर्न ०६१ सालमा सहरी विकास तथा भवन निर्माण विभागको स्थापना भएको थियो । सोहीअनुरूप ०६२ सालदेखि स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्था सहरी विकास तथा भवन निर्माण विभागबाट हुँदै आएको छ ।

‘आवश्यक स्वास्थ्य संस्था निर्माण गर्न क्रमागत आयोजनातर्फ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामार्फत बजेट तथा कार्यक्रम विनियोजन हुँदै आएको छ,’ स्वास्थ्य मन्त्रालयका उपसचिव भक्तराज जोशीले भने, ‘मन्त्रालयसँग सीमित बजेट भएका कारण तत्काल रकम दिन सक्ने अवस्थामा हामी छैनौँ जसले गर्दा समयसीमाभित्र स्वास्थ्य संस्था निर्माण सम्पन्न हुने आधार देखिँदैन ।’

चालू आवमा तीन अर्ब  ६७ करोड विनियोजन
उपसचिव जोशीका अनुसार चालू आर्थिक वर्षमा निर्माणाधीन भवनको निरन्तरताका लागि तीन अर्ब ६७ करोड विनियोजित बजेटमा विभागले थप तीन अर्ब २२ करोड रुपैयाँ उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई भनेको थियो । आफूसँग आवश्यक बजेट नभएपछि स्वास्थ्य मन्त्रालयले ७२ करोड रुपैयाँ रकमान्तरका लागि अर्थ मन्त्रालयमा फाइल पेस गरेको छ ।

२५८ स्वास्थ्य संस्थाको निर्माण रोकियो
चालू आर्थिक वर्षमा एकीकृत स्वास्थ्य पूर्वाधार परियोजनाअन्तर्गतका थप २५८ भवन निर्माण कार्य रोकिएको छ । उक्त स्वास्थ्य संस्थाको निर्माण गर्न सरकारले ३४ करोड रुपैयाँ बजेटसहित सहरी विकास तथा भवन निर्माण विभागलाई अख्तियारी दिएको थियो । रकम अभावका कारण अर्थले आग्रह गरेपछि निर्माणाधीन स्वास्थ्य संस्थाको काम रोकिएको छ ।

समयमा सम्पन्न गर्न २२ अर्ब आवश्यक : भवन विभाग
सहरी विकास तथा भवन निर्माण विभाग स्वास्थ्य भवन एकाइका प्रमुख हिमाल केसीले समयमा स्वास्थ्य संस्था निर्माण सम्पन्न गर्न २२ अर्ब रकम तत्काल आवश्यक पर्ने बताए । चार अर्ब उपलब्ध भएको भन्दै उनले अब २२ अर्ब उपलब्ध गराए गुरुयोजनाअनुसार काम सम्पन्न हुने दाबी गरे । ‘९१९ स्वास्थ्य संस्थाको निर्माण गर्न अब २२ अर्ब रुपैयाँ लाग्छ,’ केसीले भने, ‘सो रकम उपलब्ध नभएको खण्डमा समयसीमाभित्र काम सम्पन्न गर्न कठिन हुनेछ ।’ उक्त भवन निर्माण गर्न पाँच वर्षको गुरुयोजना रहेको छ । यस आर्थिक वर्षमा नौ अर्ब रुपैयाँ माग गरेकोमा तीन अर्ब ६७ करोड रुपैयाँ विनियोजित भएको छ । नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्