Logo
|
Friday 19th April 2024
Logo

epaper

रोकिएन पोलिथिन झोलाको प्रयोग



पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ ।

प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका लागि प्लास्टिककै झोला दिने र उपभोक्ताले लैजाने गरेको उक्त विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताउनुभयो । सहज रुपमा किन्न पाइने हुँदा पसलले यसको प्रयोग कम गरेका छैनन् भने उपभोक्ताले पनि सित्तैमा पाइने भएपछि अन्य झोला नबोक्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ वातावरण मन्त्रालय र उद्योग मन्त्रालय बसेर छलफल गरेर समाधान निकाल्न सहज हुन्छ । ”

काठमाडौँ उपत्यका र उपत्यका बाहिरका शहरी क्षेत्रमा प्लास्टिकका कारण वातावरण प्रदूषण बढ्दो छ । केही वर्षपहिले विभागले व्यापक रुपमा अनुगमन गरेर मापदण्डभन्दा पातला झोला जफत गरेको थियो । विभागले त्यतिबेला जफत गरेकै झोलाको अझै व्यवस्थापन हुन सकेको छैन । उहाँले भन्नुभयो, “उत्पादन गर्नेलाई कारबाहीभन्दा पनि उत्पादन नगराउनु उचित हुन्छ ।” वातावरण सफाइका लागि कपडाको झोलाको महत्वका बारेमा विभागले देशका विभिन्न भागमा सचेतना कार्यक्रम गरिरहेको छ ।

प्लास्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८ (संशोधन २०७१) ले नेपालभर ३० माइक्रोनभन्दा पातला झोला आयात, भण्डारण र बिक्री–वितरणमा रोक लगाएको छ । कतिपय नगरपालिकाहरुले पनि पोलिथिन झोला प्रयोग नगर्न÷नगराउन कडाइ गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्