Logo
|
Tuesday 19th March 2024
Logo

epaper

त्रि.बि.शिक्षण अस्पतालमा अत्याधुनिक कलेजो प्रत्यारोपण आईसियूको समुद्घाटन, प्रा.डा. महराको सृजनात्मक कामको तारिफ



काठमाडौंको महाराजगञ्जस्थित त्रि.बि.शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ ।

अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण एवं ग्याँस्ट्रोइन्टेस्टाइनल सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको अगुवाइमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन हुने भएको हो । त्रि.वि.शिक्षण अस्पतालको ३६ औं बार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाका लागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण आईसियू कक्षको असार ३२ गते उप—प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभयो ।

यसका लागि आवश्यक प्रशिक्षत जनशक्ति अस्पतालमा तयार भइसकेको छ भने सिंगापुरस्थित सिंग हेल्थसँग प्राविधि सहयोगका लागि सम्झौता भइसकेको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री उपेन्द्रप्रसाद यादवले त्रि.बि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिपक प्रकाश महराको पालामा अस्पताल सुधारका लागि धेरै काम भएको र अस्पतालको विकास र विस्तारमा स्वास्थ्य मन्त्रालय साथमा रहेको उल्लेख गर्नुभयो । उहाँले अब मुलुकबाट कलेजो प्रत्यारोपणमा विदेश जानुनपर्ने वातावरण सृजना हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले देश चलाउने कतिपय नेताले अस्पताल चलाउन थालेकाले चिकित्सा क्षेत्रमा विकृतिले वढावा पाउनसक्ने आशंका गर्नुभयो । उहाँले भन्नुभयो—‘नेताजीले अस्पताल चलाउने होइन देश बनाउने हो ।’
मन्त्री यादवले नसर्ने रोगले धेरैलाई आक्रान्त पारेकोमा चिन्ता व्यक्त गर्नुभयो । नेपालका दुई तिहाई जनतालाई शुद्ध पिउने पानी उपलब्ध नभएको, विषादीयुक्त तरकारी सेवन गर्नुपर्ने बाद्यता उल्लेख गर्दै उहाँले यस विषयमा जनेचतना जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले खुला सिमाका कारण नक्कली औषधिको बिगबिगी बढिरहेकाले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


पूर्व मन्त्री गगनकुमार थापाले प्रा.डा.महराको पालामा त्रि.बि.शिक्षण अस्पतालमा धेरै राम्रा काम भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा आईसियू सेवालाई व्यवस्थित र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नेपालको हेल्थ सेक्टरलाई वेष्ट लेवलमा पु¥याउन सकिने सम्भावना छ ।’ उहाँले भन्नुभयो—‘नेपाललाई स्वास्थ्य उपचारको क्षेत्रमा आकर्षको केन्द्र बनाउनुपर्छ ।’
चिकित्सा अध्ययन संस्थानका डिन प्रा.डा.जगदीश अग्रवालले बिरामीको उपचार र चिकित्सक उत्पादनका लागि त्रि.बि.शिक्षण अस्तालले पु¥याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक प्रा.डा. दिपक प्रकाश महराले आफ्नो कार्यकालमा अस्पतालको विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रा.डा. महरा २०७१ जेठ २४ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ती हुनुभएको थियो । २०७५ साल जेष्ठ २३ गते उहाँको पदावधि समाप्त भएपनि अर्को व्यवस्था नभएसम्म बढीमा ३ महिनाका लागि म्याद थपिएको छ । ४ वर्षको अवधिमा त्रि.वि.शिक्षण अस्तालको स्तरोन्नतीमा प्रा.डा. महराको धेरै रचनात्मक काम सम्पन्न भएका छन् । कार्यकारी निर्देशकको हैसियतले सम्बोधन गर्ने यो मेरो अन्तिम हो भन्दै उहाँले देश र जनताको हितका लागि अस्पताल सुधारमा आफूले कुनै कसरत बाँकी नराखेको स्पष्ट पार्नुभयो । अस्पतालाई आत्मनिर्भर बनाउन डा. महराको ठूलो योगदान छ । ‘अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरु गर्नु हाम्रो दायित्व थियो । यसैलाई आत्मसात गरेर कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि अत्याधुनिक आयुसियू सेवा उद्घाटन गर्न सफल भएका छौं ।’ उहाँले भन्नुभयो—‘यसका लागि डा. रमेश सिंह भण्डारी अहोरात्र खटेर आफ्नो टिम खडा गर्न सफल हुनुभयो ।’ तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले त्रि.वि.शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण गर्ने प्रस्तावमा आवश्यक पर्ने खर्च उपलब्धका लागि स्वीकृति गरिदिनुभएको थियो ।

प्रा.डा. महराको पालामा १ अर्ब बराबरको मित्र राष्ट जापानको सरकारको सहयोग, अक्सिजन ग्याँसमा आत्मनिर्भर, वैकिल्पक विद्युत आपूर्तिको व्यवस्था, मोडुलर अपरेशन थियटरसहितको ७५ वेडको नयाँ हाडजोर्नी वार्ड, सिसिटिभी तथा वाकी टकीको व्यवस्था, १ हजार लाइन क्षमताको आन्तरिक सञ्चार टेलिफोन सेवा, अस्पताल सवारी साधन खरीदलगायतका धेरै महत्वपूर्ण काम भएको छ ।
‘अस्पतालको स्तरोन्नतिका लागि जापान सरकारबाट ७० करोड भन्दा बढीका अत्याधुनिक उपचारजन्य उपकरणहरुको सहयोग जडान गर्न सफल भएका छौं ।’ उहाँले भन्नुभयो— ‘यी उपकरण पूर्ण रुपमा जडान भएर प्रयोगमा आइसकेको छ । अगष्टको दोस्रो हप्तामा नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ ।’
उहाँकै पालामा नेपाल सरकारबाट १ सय ६५ जनाको दरबन्दी स्वीकृति गरिएको छ । नियमित तलब खुवाउन सक्ने अवस्थामा अस्पताल पुगेको छ भने दिनानुदिन बढ्दै गएको विद्युत महसुल कम गर्न वैकल्पिक उर्जाको कार्यक्रमलाई पनि अघि बढाइएको छ । पहिलो चरणमा १ सय १५ किलोवाट सौर्य वत्ति उत्पादन गरी अस्पतालको शल्यक्रिया कक्ष, आईसियू र पोष्ट अपरेटिभ वार्डमा दिउँसोको समयमा विद्युत आपूर्ति गरिएको छ । प्रथम चरणको विनियोजित वजेटबाट संचित रकमबाट अस्पताल परिसरमा ७० वटा सोलार बत्ति जडान गरिएको छ । दोस्रो चरणको लागि अस्पताललाई करिब ३ करोड १० लाख बजेट बिनियोजन भएको र टेण्डरसमेत भइसकेको छ । विद्युत उर्जा बढी खपत हुने दिउँसोको समयमा करिब ७५ प्रतिशतले कमी आउने आशा गरिएको छ साथै राष्ट्रिय प्रशारणमा समेत योगदान पुग्नेछ ।
मासिक ३५ लाख जति रकम विद्युत महशुलमा खर्च भइरहेको अवस्थामा अस्पतालको दीर्घकालीन आर्थिक सुधारको लागि सौर्य उर्जाको सम्भाव्यता अध्ययन गराउँदा अस्पतालमा १.२ मेगावाटको सौर्य उर्जा उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।
अल्पकालिन रुपमा अस्पतालमा सञ्चालित इन्सिनेरेटरबाट प्रदूषित र हानिकारक धुँवा निस्केकोमा त्यसलाई व्यवस्थापन गरिएको छ । अस्पतालबाट निस्कने हानिकारक फोहोरलाई अस्पताल हाताभित्र नै वैज्ञानिक व्यवस्थापनको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अस्पतालको फोहोरलाई नगरपालिका नलगी अस्पताल परिसरभित्र नै वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले हस्पिटल फोहोर व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको छ । अस्पतालको फोहोर तोकिएको मापदण्ड अनुसार व्यवस्थापन गर्ने र फोहोर केन्द्रलाई राष्ट्रियस्तरको अस्पताल फोहोर व्यवस्थापन तालिम केन्द्रका रुपमा स्थापना गरिएको छ जुन दक्षिण पूर्वी एसियाकै लागि नमूना तालिम केन्द्रका रुपमा स्थापना गरिएको छ ।
प्रा.डा. महराको पालामा ७५ वेडको अर्थोपेडिक वार्ड तथा अपरेशन थियटरको व्यवस्था गरिएको छ । आईसियू, मेडियाब्रीजसहितको अत्याधुनिक शल्यक्रिया कक्ष, दुईवटा सेमी मोडुलर शल्यक्रिया कक्ष, ७५ शैया सहतिको हाडजोर्नी वार्डको व्यवस्था छ ।
नेपाल अमेरिकी मेडिकल चिकित्सक एसोसिएसनबाट भूकम्प गएको बेलामा अस्पतालले उपलब्ध गराएको सेवाबाट प्रभावित भई सहयोग स्वरुप एक करोड बराबरको ५ सय लिटर प्रति मिनेट क्षमताको नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । यसको उत्पादन अस्पतालको अपरेशन थियटर , आईसियू र सि.सि.यूमा मात्र उपयोग गरिदैछ ।

भूकम्पको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुबाट प्राप्त नगद सहयोग ६३ लाख हिमालयन बैंकमा र २४ लाख अस्पतालमा जम्मा रकमलाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट अनुमति लिई अक्षय कोष खडा गरिएको छ । यसबाट आर्जित व्याजको रकमले हाललाई अस्पतालको आकस्मिक कक्षमा आएका बेवारिस बिरामीहरुको उपचारमा खर्च गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्