Logo
|
Saturday 20th April 2024
Logo

epaper

धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई रु सोह्र लाखको स्वास्थ्य सामग्री प्रदान



धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार रु १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ ।

इटालीको गैरसरकारी संस्था (एएनटी) को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस) को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो ।

प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

चिकित्सक राजभण्डारीले बिरामीलाई गुणस्तरीय सेवा दिन नयाँ उपकरण र सामग्रीले सघाउ पुग्ने धारणा राख्नुभयो । “स्तरीय र नयाँ प्रविधियुक्त सामग्री अस्पतालले पाएको छ,” उहाँले भन्नुभयो, “हामी यसको सही सदुपयोग र संरक्षण गर्छौं ।” उहाँले उपकरण भएर पनि समुचित प्रयोग नहुने अवस्था कतिपय स्वास्थ्य संस्थामा रहेको भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनुभयो ।

नगर प्रमख पौडेलले विदेशी संस्थासँगको सहकार्यमा लायन्स क्लबले अस्पतालमा सहयोग भित्र्याएकोमा प्रशंसा गर्नुभयो ।

“अस्पताललाई लाखौँ मूल्य पर्ने सामग्री निःशुल्क उपलब्ध भएको छ,” उहाँले भन्नुभयो, “यसका निमित्त सक्रिया देखाउनुहुने सबैको भूमिका सराहनीय छ ।” उहाँले दाताले दिएको सहयोगको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ बागलुङले मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्