Logo
|
Tuesday 19th March 2024
Logo

epaper

डा. केसी छटपटाउँदै



 सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन्। सास फेर्न धेरै गाह्रो भएपछि उनी बेलाबेलामा अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ। मंगलबार बिहान चार बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो। अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो।

‘डा. केसीको श्वासप्रश्वासमा निकै जटिलता देखिन थालेको छ। सास फेर्न समस्या भएपछि उहाँ छटपटाउनुभयो’, उनका सहयोगी नारायण कँडेलले भने, ‘अक्सिजनको मात्रा बढाएपछि उहाँलाई सहज भएको थियो।’ विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ। मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकहरुले बताएका छन्।

यसैगरी स्लाइन चढाइएको हातमा संक्रमण देखिएको छ। यसले रगतको माध्यमबाट शरीरमा संक्रमण फैलन सक्ने खतरा बढाएको सहयोगी कँडेलले बताए। ‘जहाँ स्लाइन चढाउन खोज्यो, त्यही नसामा संक्रमण भइरहेको छ’, उनले भने, ‘स्लाइन चढाएको हात सुन्निँदै गएको छ।’ यस्तै घाँटीमा देखिएको संक्रमणसमेत बढ्दो क्रममा छ। डा. केसीले कुनै पनि औषधि लिन नमानेका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको हो।

मस्तिष्कमा देखिएको समस्याले बेलाबेलामा डा. केसी बर्बराउन थालेका छन्। उनले बेसुरको कुरा गर्ने गरेको कँडेलले जानकारी दिए । ‘दिमागमा देखिएको समस्याका कारण बेलाबेलामा उहाँले बेसुरका कुरा गर्न थाल्नुभएको छ,’ उनले भने, ‘म भीरमा छु, जस्ता कुरा उहाँबाट आउने गरेका छन्।’ शरीर बाउँडिने समस्याले डा. केसी थलिएका छन्। उनलाई चिकित्सकहरुले दिनहुँ फिजियोथेरापी सेवा दिइरहेका छन्।

पोटासियमको मात्रा घट्दो
डा. केसीको रगतमा पोटासियमको मात्रा अत्यन्तै कम (हाइपोक्यालेमिया) देखिएको छ। मंगलबार रगत जाँच गर्दा पोटासियमको मात्रा कमी देखिएको उपचारमा संलग्न चिकित्सहरूले बताएका छन्। पोटासियमले शरीरमा मुटुको सञ्चालनलाई ठीक राख्न सघाउँछ । पोटासियम कमीसँगै मुटु कुनै पनि बेला बन्द हुने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। रगतमा पोटासियमको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्।

हाइपोक्यालेमिया भएको बिरामीमा सर्वप्रथम मांसपेशी कमजोर हुन्छ र जसको कारण उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या देखापर्छ। पोटासियमको कमी भएसँगै पेटका मांसपेशीमा पनि असाधारण परिवर्तनहरू समेत आउँछ। ‘जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्या देखिन थाल्छन्,’ जुम्लामा रहेका मेडिकल विद्यार्थी विशद दाहालले भने, ‘जुन डा.केसीमा विगत केही दिनयता झन् थपिँदै गइरहेको छ।’ जोखिमलाई मध्यनजर गर्दै अनशनस्थलमा अस्पतालले भेन्टिलेटर तयार अवस्थामा राखेको छ।

वार्ता टोली जुम्ला आएन
सरकारी वार्ता टोली मंगलबार जुम्ला आउन सकेन। सरकारले वार्ताको वातावरण बनाउन नसकेका कारण जुम्ला यात्रा रोकिएको डा. केसी पक्षीय डा. अभिषेकराज सिंहले बताए। सरकार डा. केसीका लागि वार्ता गर्नभन्दा पनि उनलाई काठमाडौं पु-याउने योजनामा देखिएकाले जुम्ला यात्रा स्थगित भएको उनले बताए। ‘सरकारले वार्ता समिति बनाए पनि वार्ताको वातावरण बनाउन सकेन’, उनले भने, ‘सरकारको उद्देश्य डा. केसीको उद्धार मात्रै देखियो।’

वार्तामा सरकार झन् कठोर

काठमाडौं – संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकार सहमत नभएपछि १८ दिनदेखि अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतिबिनै टुंगिएको छ । मन्त्रिपरिषद्ले वार्ता टोली गठन गरेसँगै राजधानीमा पटकपटक वार्ता भए पनि सरकारी वार्ता टोली चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गरी छाड्ने अडानबाट टसमस नभएपछि वार्ता निष्कर्षविहीन भएको हो।

मन्त्रिपरिषद् बैठकले सोमबार शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। सरकारी वार्ता टोली बनेलगत्तै डा.केसी पक्षले पनि वार्ता टोली बनाएसँगै सोमबार साँझ पहिलो चरणको वार्ता भएको थियो।

वार्तामा उपस्थित सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकमा कुनै परिवर्तन गर्न वा फिर्ता लिन सरकार तयार नभएको अडान दोहो-याएको छ। डा.केसीको जीवनरक्षा र थप उपचारका लागि तत्काल काठमाडौं ल्याउने वातावरण बनाउन गरिएको आग्रहलाई समेत सरकारले सुनेको छैन।

वार्तामा उपस्थित सरकारी पक्षले चिकित्सा शिक्षा विधेयकमा कुनै परिवर्तन गर्न वा फिर्ता लिन सरकार तयार नभएको अडान दोहो-याएको छ। डा.केसी पक्षका वार्ता टोलीका संयोजक डा.अभिषेकराज सिंहका अनुसार डा.केसीको जीवनरक्षा र थप उपचारका लागि तत्काल काठमाडौं ल्याउने वातावरण बनाउन गरेको आग्रहलाई समेत सरकारले सुनेको छैन। ‘कम्तीमा वार्ता चलुन्जेल विधेयक फिर्ता गर्नुस् सहमति गरेर अगाडि बढाऔं भन्दा उहाँहरू मान्नु भएन,’ सिंहले भने।

सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले भने, ‘पहिला डा.केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने कुरामा सहमत हुनुपर्नेमा जोड दिए। ‘सरकार र डा.केसी पक्ष मिलेर पहिला उहाँलाई काठमाडौ ल्याउनुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘अरू कुरामा छलफल गरेर सहमतिमा पुग्नुपर्छ।’ लोहनीले विधेयक फिर्ता लिने विषय मन्त्रिपरिषद्को अधिकारको विषय भएको भन्दै अहिलेसम्म फिर्ता लिएको भन्ने जानकारी नभएको बताए।

स्वास्थ्य मन्त्रालयका तर्फबाट माथेमा कार्यदलको सदस्यसमेत भएर काम गरेका डा.लोहनीले माथेमा प्रतिवेदन पूर्ण रूपमा पढ्ने हो भने सहमतिमा पुग्न सकिने बताए।

सरकारले डा.केसीलाई एउटा अभियन्ताका रूपमा भन्दा पनि बिरामीका रूपमा व्यवहार गरिरहेको आरोप डा.सिंहले लगाए। ‘उपचार दिन्छौं विधेयक रोक्दैनौं भनेजस्तो गरेर हुन्छ,’ उनले भने।

डा.केसीले अध्यादेश निष्क्रिय हुनुअघिदेखि नै अनशन थालेको भए पनि सरकारले अनशनकै बीचमा विधेयक ल्याई संसद्को कार्यसूचीमा राख्न लगाएर अघि बढाउने प्रयत्न गरिरहेको छ। तर, प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा यो विधेयक अध्यादेशको हुबहु हुने अवस्थाबाहेक ल्याउनै नदिने भनेकै कारण विधेयक अगाडि बढ्न सकेको छैन।

खासगरी विधेयकमा १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नहुने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, मेडिकल कलेज सञ्चालन गर्न कम्तीमा ३ वर्ष पूर्ण रूपमा अस्पताल सञ्चालन गरेको हुनुपर्नेलगायतका महत्वपूर्ण विषय नै सरकारले हटाएकोमा डा.केसी पक्ष असन्तुष्ट बनेको छ। सरकार पनि नयाँ कलेजलाई सम्बन्धन दिने बाधा नपर्ने गरी विधेयक जसरी पनि अगाडि बढाउने पक्षमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्