Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

डा. केसीलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह



 प्रधानमन्त्री केपी शर्मा ओलीले २४ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो बहस गर्नुपर्छ त्यसमा सरकार तयार रहेको बताए ।

तस्बिरः अंगद ढकाल

सरकारले बनाएको वार्ता टोलीसँग डा केसीले वार्ता गर्न नचाहेको भन्दै उनले असन्तुष्टी पोखे । उनले ठूला ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको भन्दै केसीलाई पनि वार्ताबाटै समस्याको समाधान निकाल्न आग्रह गरे । उनले भने, ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ । तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं । आउनुस वार्ता गरौं । ‘
ओलीले डा केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘ कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेकेर स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा केसीले बुझ्नु भएको छैन ।’
उनले डा केसीको मागबारे बोल्दै आफूहरु केसीको माग अनुसार नै आयोग बनाउन तयार रहेको बताए । उनले आयोगको अध्यक्षमा डा केसीलाई बस्न आग्रह गर्दै भने, ‘उहाँले माग राख्नुभएको छ । माग अनुसार आयोगको अध्यक्ष बन्नु न त भन्दा पनि मान्नु हुन्न ।’
डा केसीले आफूले आफैं विरुद्ध मानवअधिकारको हनन् गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए । उनले भने, ‘आफैंले आफैंलाई केही खान नदिएर बाँच्न नदिनु मानवअधिकार भित्र पर्दैन । अनशन मानवअधिकार भित्र पर्दैन । आफैंलाई प्रताडनमा पार्ने दुःख दिने मानवअधिकार भित्र पर्दैन ।’ कान्तिपुर

प्रतिक्रिया दिनुहोस्