Logo
|
Friday 29th March 2024
Logo

epaper

खुला आकाशमै बिरामीलाई स्वास्थ्य सेवा



भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि भवन पुनर्निर्माण हुन नसक्दा प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीको सेवा प्रवाहमा समस्या सिर्जना भएको छ । भूकम्पमा भवन भत्किएपछि आँगनमा टेन्ट टाँगेर स्वास्थ्य केन्द्रले बिरामीलाई सेवा दिँदै आएको थियोे ।

तर, प्लास्टिकको टेन्ट पनि हावा, पानी र घामले मक्किएर च्यातिएपछि अहिले बिरामीको नाम दर्ता गर्ने काम आँगनमै बसेर सञ्चालन गर्दै आएको छ ।

बिरामी जाँच र प्रसूतिसम्बन्धी काम सुरक्षा गार्ड बस्ने २ कोठे भवनबाट सञ्चालन हुने गरेको छ । भवन अभावका कारण उपचार गराउन आएका बिरामीलाई सहज ढंगले सेवा दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीका अहेब गंगा रिमालले बताइन् ।

‘भवन नहुँदा सुरक्षा गार्ड बस्ने घरबाट स्वास्थ्य संस्था सञ्चालन गर्नुपरेको छ । ज्यादै कठिनाइ भएको छ,’ उनले भनिन्, ‘एक कोठामा प्रसूति कक्ष र अर्को कोठामा प्रशासनिक काम, ओपिडी कक्ष, जनरल कक्ष, औषधि स्टोरसँगै बिरामीको बेडसमेत राखेर उपचार गराउनुपर्दा धेरै समस्या छ ।’

इमर्जेन्सी उपचारका लागि अर्कै जिल्ला
सरकारले २४ सै घन्टा स्वास्थ्य संस्था खुला राखेर बिरामीलाई सेवा प्रदान गर्न निर्देशन दिए तापनि खिम्ती स्वास्थ्य केन्द्रले यस्तो सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन । संस्थाले रातिमा हुने इमर्जेन्सी सेवा सञ्चालन गरेको छैन । पाले बस्ने कोठामा रहेर दिउँसो उपचार गराइरहेको भए तापनि राति बिजुली नहुँदा सेवा सञ्चालन गर्न नसकेको कर्मचारी बताउँछन् । उक्त स्वास्थ्य संस्थामा दैनिक २५ देखि ३५ जनासम्म बिरामी उपचार लिन आउने गरेका छन् ।

खिम्तीका नागरिक राति आकस्मिक बिरामी परे छिमेकी जिल्ला दोलखाको सहरे गाउँपालिकास्थित स्वास्थ्य संस्थामा उपचार लिन जान बाध्य छन् । स्वास्थ्य संस्थाको भवन नहुँदा उपचार गर्न आउने बिरामीलाई आँगनमा लाइनमा राखेर सेवा दिने गरिएको छ । स्वास्थ्य संस्थामा उपचार लिन जाँदासमेत उभिएरै रहनुपर्ने बाध्यता रहेको लिखु तामाकोसी गाउँपालिका ६ का वृद्ध बलराम थापाले बताए ।

उनले भने, ‘स्थानीय राजनीतिक दलका नेता भनाउँदाले चाँसो नदिँदा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा झन् दिनानुदिन खस्कँदै गएको छ । उपचार लिन आउने बिरामीलाई न त बस्ने ठाउँको व्यवस्था छ, न त स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नै छ ।

सरकारले दिने भनेका सबै प्रकारका निःशुल्क औषधिसमेत बिरामीले देख्न पाएका छैनन् ।’ बिरामी भएर उपचार लिन आउने बिरामी चिसो भुइँमा बसेर चिकित्सक पर्खनुपर्ने र लाइनमा उभिनुपर्दा झनै बिरामी भएर फर्कनुपरेको गुनासो वृद्ध थापाले गरे । नयाँ पत्रिकाबाट  

 
 
 

प्रतिक्रिया दिनुहोस्