Logo
|
Thursday 25th April 2024
Logo

epaper

सुत्केरी महिलामा ‘अक्सिटोक्सिन इन्जेक्सन’ मापदण्डविपरीत प्रयोग



 

सुत्केरी भएपछि हुने अत्यधिक रक्तस्राव रोक्न आवश्यक पर्ने ‘अक्सिटोक्सिन इन्जेक्सन’ मापदण्डविपरीत प्रयोग भएको पाइएपछि सरकारले कडाइ गरेको छ । अपेक्षाअनुसार बाल तथा मातृ मृत्युदर नघटेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस विषयमा अध्ययन–अनुसन्धान गरेको थियो । अत्यावश्यक औषधिका रूपमा प्रयोग गरिने ‘अक्सिटोक्सिन इन्जेक्सन’ मापदण्डअनुसार नपाएपछि मन्त्रालयले त्यस्तो औषधिको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मापदण्डविपरीत औषधिको प्रयोग गरेको पाइएकाले त्यस्ता औषधिको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको बताए । उनले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा मात्रै सो इन्जेक्सनको प्रयोग गर्न निर्देशन दिएको बताए । ‘मापदण्डविपरीत अक्सिटोक्सिन इन्जेक्सनको प्रयोग भएको पाएका छौँ । यसलाई सुधार नगरेमा औषधि ऐनको दफा २८ को व्यवस्थाअनुसार सम्बन्धित स्वास्थ्य संस्था, फार्मेसी, बर्थिङ सेन्टरलगायतलाई कारबाही हुनेछ,’ ढकालले भने ।

२ देखि ८ डिग्री तापक्रममा मात्रै राख्नुपर्ने
चिकित्सकका अनुसार हरेक गर्भवती महिलालाई बच्चा जन्मनेबित्तिकै हुने रक्तस्राव रोक्न ‘अक्सिटोक्सिन इन्जेक्सन’ दिइन्छ । तर, मापदण्डविपरीतका औषधिले आमा र बच्चाको स्वास्थ्यलाई जोखिमयुक्त तुल्याएको चिकित्सकको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले सबै स्वास्थ्य संस्थालाई २ देखि ८ डिग्रीको तापक्रममा औषधि भण्डारण गर्न निर्देशन दिएको बताए ।

‘अहिले मापदण्डविपरीत जताततै औषधि प्रयोग भएको पाइयो,’ उनले भने, ‘यसले आमा र बच्चाको मृत्युदर बढाएको छ । त्यसैले मापदण्डभित्र रहेर प्रयोग गर्न निर्देशन दिएका हौँ ।’ उनले निर्देशनको अवज्ञा गरे सेवा सञ्चालनमा रोक लगाउने बताए । विश्व स्वास्थ्य संगठनले ‘अक्सिटोक्सिन इन्जेक्सन’ अत्यावश्यक औषधि भएको भन्दै यसलाई २ देखि ८ डिग्रीको तापक्रममा भण्डारण गर्न भनेको छ ।

गुणस्तरहीन ‘अक्सिटोक्सिन’कै कारण मातृ मृत्युदर घटेन
सन्तोषजनक रूपमा मातृ मृत्युदर नघट्नुका पछाडि गुणस्तरहीन ‘अक्सिटोक्सिन इन्जेक्सन’को प्रयोग भएको सरकारी अधिकारीले बताएका छन् । मनलाग्दी रूपमा राखिएको औषधिले काम नगर्दा अत्यधिक रक्तस्राव हुने र लामो समयसम्म व्यथा लाग्दा कतिपय अवस्थामा बच्चाको मृत्यु हुने गर्छ । नेपालमा पछिल्लो सात वर्षको अवधिमा मातृ मृत्युदरमा सामान्य रूपमा मात्रै सुधार भएको छ ।

मातृ स्वास्थ्यका क्षेत्रमा सरकारले करोडौँ खर्च गरेको छ, तर यस्ता अत्यावश्यक औषधिको प्रयोगमा कडाइ नहुँदा मातृ तथा बाल मृत्युदर घटाउन आशाअनुरूप प्रगति हुन नसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । हाल नेपालमा प्रतिएक लाख जीवित जन्ममा दुई सय ३९ आमाको मृत्यु हुने गरेको छ ।

नेपाल स्वास्थ्य रणनीति २०२१ ले मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा एक सय २५ मा झार्ने लक्ष्य राखेको छ । यसअघि नेपालमा मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा दुई सय ५८ रहेको थियो । तर, सात वर्षमा देखिएको प्रगति निकै सुस्त भएको मन्त्रालयको ठहर छ । सुरक्षित रूपमा सुत्केरी हुन दक्ष प्रसूतिकर्मी भएका एक हजार आठ सय बर्थिङ सेन्टर छन् भने आठ हजारभन्दा बढी दक्ष प्रसूतिकर्मी रहेका छन् । नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस्