Logo
|
Friday 19th April 2024
Logo

epaper

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहाल : विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन 



गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ ।

सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ । ति रोगका एक÷एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ ।

प्रतिष्ठानमा बाल सर्जन डाक्टर नभएको समेत लामो समय भइसक्यो । एकजना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि काजमा राजधानीमै लगिएको र पछि सरुवा नै गरिएकाले अस्पतालले अभाव झेलिरहेको छ । जनरल सर्जरी डाक्टरले बालरोग विशेषज्ञ सर्जरीको काम चलाउनु परेको अस्पतालका निर्देशक डा. आचार्य बताए ।

निर्देशक आचार्यका अनुसार दरबन्दी अनुरुप पनि विभागले डाक्टर पठाएको छैन । पठाएकालाई पनि काजमा केन्द्रमै राखिएको छ । काजमा रहेकालाई फिर्ता पठाउन लेखेर पठाउँदा समेत फिर्ता नगरिएको उनले गुनासो गरे । ‘दरबन्दी नै कम छ, भएका दरबन्दीमा पनि डाक्टर पठाइन्न अनि समस्या त हुने नै भयो’ आएका विरामी बाहिर पठाउन बाध्य छौं,’ उनले भने ।

सिटी स्क्यान, एमआरआई र इन्डोस्कोपी सेवा छैन
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सिटी स्क्यान मेसिन विग्रेको एक वर्ष भन्दा बढी हुदा पनि मर्मत भएको छैन । अन्य उपकरण समेत विग्रने र मर्मत गर्न हुने ढिलाईले विरामी बाहिर जान बाध्य भइरहने अवस्था छ । इन्डोस्कोपि विग्रेको झण्डै एक महिना भयो । १८ लाख खर्च लाग्ने लागत अनुमान आएको र एक महिनामात्र वारेन्टी हुने भएकाले मर्मत गर्ने वा नयाँ खरिद गर्ने भन्नेमा प्रतिष्ठान अन्योलमा छ । अल्ट्रसाउन्ड मेसिन समेत विग्रिहरने समस्या छ । एमआरआई टेन्डर भएर नयाँ आउँने प्रक्रियामा छ । त्यसका लागि ठाउँ बनाउने काम भइरहेको निर्देशक अचार्यले बताए ।

डाक्टर दरबन्दी सय, आधा खाली
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक ११ सय बिरामी आउँछन् । विभिन्न खालको प्रकोपको समयमा विरामीको संख्या बढको संख्या बढ्छ । सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा चिकित्सकको अभाव छ । सय जना चिकित्सकको दरबन्दी रहेपनि दरबन्दी अनुरुप चिकित्सक नपठाउने र अन्यत्र काजमा खटाउने हुँदा झन्डै ५० प्रतिशत डाक्टर कम छन् । सबै वार्डमा विशेषज्ञ र मेडिकल डाक्टरको अभाव रहेको निर्देशक आचार्यले बताए ।

अस्पताल विकास समितिले थप २८ डाक्टर ब्यवस्था गरेको छ । त्यसले पनि समस्या समाधान भएको छैन । पाँच सय बेड स्विकृत अस्पतालमा अहिले तीन सय ६६ बेड सञ्चालनमा छन् । त्यसको उपभोग ७५ प्रतिशत छ ।

नर्सको पनि अभाव
विरामीको रेखदेखमा खटिने नर्सको पनि अभाव छ । एक सय नर्स दर्बन्दीको ब्यवस्था छ । अस्पताल समितिले थप ७० नर्सको व्यवस्था गरेको छ । नियम अनुसार एक आइसियुमा एक नर्स हुनुपर्छ । पोष्ट अपरेटिभ वार्डमा दुई बेड बराबर एक नर्स चाहिन्छ । सामान्य बेडमा एक जना नर्सले ६ बेड हेर्ने हो । अस्पतालमा चार सिफ्ट चल्छ । एक सय ७० नर्स मध्ये कम्तिमा पनि १० प्रतिशत नर्स विदा बस्छन् । यस हिसावले ३० प्रतिशत नर्स अपुग रहेको प्रतिष्ठानका अधिकारीको भनाई छ । नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस्