Logo
|
Thursday 28th March 2024
Logo

epaper

मलेसियामा सहयोगी हातको खोजीमा डम्बर, तालु अस्पतालमा छ तर जोड्न पैसा छैन




मलेसियामा रहेको साढुदाइले राम्रो कम्पनीमा काम गरिरहेको थाहा पाएपछि दाङ तुल्सीपुर घर भएका ३१ वर्षीय डम्बर बस्नेत राष्ट्रिय वाणिज्य बैंकमा जग्गा धितो राखेर म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर कमाइका लागि मलेसिया आएका थिए । मलेसियाको केलागवातु अम्पातमा उनि विगत साढे तीन वर्षदेखि कार्यरत थिए ।
साढुदाइसँगै मलेसियामा काम थालेका डम्बर जनवरी २९ तारिखमा अरु दिन झै साँझ सात बजेसम्म काममा थिए ।
कम्पनी नजिकै हाटबजार लाग्थ्यो । कोठामा दैनिक उपभोग्य सामान सकिएकाले एक हप्तालाई किन्नुपर्ने थियो । उनले साढुदाइलाई ‘दाइ तपाईं आउँदै गर्नुस म बजार लागें है’ भनेर निस्किए ।
तर उनि बजार नपुग्दै बाटोमा उनलाई मोटरसाइकलले ठक्कर दियो । उनी बेहोस भएर सडकमा ढले । धन्न मोटरसाइकलवाला भागेन । बाइवालाले तुरुन्तै एम्वुलेन्स बोलाइदियो र साथीभाइ तथा कम्पनीमा पनि खबर गरिदियो । दुर्घटनास्थलमा एम्वुलेन्स आइपुग्यो । त्यतिबेलासम्म बस्नेतको होस थिएन । साढुदाइ ओली पनि अस्पताल पुगे । साढुदाइलाई देख्नासाथ उनको आँखाबाट आँसु बग्न थाल्यो । उनले बोलाउने प्रयास गरे तर, तर डम्मर चलमलाएनन् ।
केलाग अस्पतालले सामान्य उपचार गरेपछि सुगाईवुलो रिफर गरिदियो । दुर्घटनामा परेका साढुभाइसँगै ओली पनि सुगाईवुलो अस्पतालमा पुगे । अस्पताल पुग्दा विहानको करिब चार बजेको थियो । बस्नेतको अपरेसन गर्नुपर्ने भयो । ओलीले अपरेसनका लागि सहमति दिए । विहान ७ वजे अपरेसन थियटरमा लगिएका बस्नेतलाई दिउँसो १ बजे मात्र बाहिर निकालियो ।
जव अपरेशन सफल भयो, बस्नेतमा धेरै कुरा फरक देखियो । उनको टाउकोको अगाडिको भाग (तालु) नै थिएन ।
दुर्घटना हँुदा गिदीमा रगत जमेको र त्यसलाई हटाउन तालुको बाहिरी भाग निकाल्नुको विकल्प नभएको डाक्टरले बताए । अपरेसनपछि अस्पतालले पुनः पहिलाको केलाग अस्पतालमा पठाइदियो । आईसीयूमा चार दिन राखेपछि बस्नेतको होस खुल्यो । तर, उनले पछिल्लो साढे तीन वर्षका कुराहरु सबै बिर्सिए । पहिले दाङमा हुँदाका कुराहरु मात्र सम्झन थाले । वर्तमानभन्दा पनि विगतका कुराहरु मात्र उनको दिमागमा आइरहे ।
त्यसपछि विस्तारै मानिसहरु चिन्न थाले । दुर्घटनामा परेको २८ औं दिनमा अस्पतालबाट उनलाई डिचार्ज गरियो ।
दुर्घटना भएको दिनदेखि बस्नेतको स्याहारसुसार ओलीले गरिरहेका छन । अस्पतालमा लागेको सबै खर्च करिब २० हजार रिंगेट करिब साढे ५ लाख रुपैयाँ उनको इन्स्योरेन्सले कभर गरेको छ ।
यसअघि अस्पतालमा लागेको कुनै पनि खर्च तिर्नु परेको छैन । कम्पनीले अक्टोबरसम्म मेडिकल रेस्ट समेत दिएको छ । अहिले भने उनी थप उपचारको पखाईमा बसिरहेका छन ।
बाहिर निकालेको (तालु) को हड्डी ६ महिनादेखि नौ महिनासम्म जोड्दा राम्रो हुने डाक्टरहरुले बताएका छन । अहिले टाउकोको अगाडि भाग थिलथिलो छ । हल्का छुँदा पनि भित्र पुग्छ । त्यसैले बस्नेत हरदम चुच्चे टोपी लगाउने गर्छन ।
ओलीका अनुसार बस्नेतको तालु (निधारको माथिल्लो भागको हड्डी) सुगाईवुलो अस्पतालमा विशेष किसिमले राखिएको छ । अस्पतालले हड्डी जोड्नका लागि जुलाई २३ तारिखमा मिति तोकिदिएको भए पनि आर्थिक अभावको कारण अपरेसन हुन सकेन । डाक्टरहरुले आउँदो सेप्टेम्बर १४ तारिखमा जसरी पनि अपरेसन गर्नुपर्छ भनेर मिति तय गरिदिएका छन ।
‘नेपालमा लगेर अपरेसन गर्न पनि नमिल्ने रहेछ,’ ओलीले भने, ‘यहाँ अपरेसन गर्न २६ हजार रिंगेट (करिब सात लाख रुपैयाँ) जम्मा गर्नुपर्ने अस्पतालले बताएको छ ।’
अहिले दुवैजना सहयोगको खोजीमा हिँडिरहेका छन । अहिलेसम्म उनीहरुले करीव दुई लाख रुपैयाँ जम्मा गरेका छन । नेपालमा रहेका परिवारले पनि दुई लाख जति पठाइदिने कुरा भएको छ । बाँकी तीन लाख जुटाउन ओली र बस्नेत सडकमा भौंतारिइरहेका छन । बस्नेतले भने, ‘मनकारीहरु धेरै हुनुहुन्छ, कसो सहयोग नपाइएला र ?’ 

प्रतिक्रिया दिनुहोस्