Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

उमेरअनुसारको स्वास्थ्य परीक्षण



स्वास्थ्य परीक्षण आजको दुनियाँमा अत्यन्त महत्वपूर्ण छ । किनभने, हरेक वर्ष कुनै न कुनै नयाँ रोग देखिइरहेको हुन्छ । समयमा स्वास्थ्य परीक्षण गर्दा आफ्नो स्वास्थ्यबारे राम्रो जानकारी हुन्छ र त्यहीअनुसारको सावधानी अपनाउन सकिन्छ । उसो त स्वास्थ्य परीक्षणले कैयौँ खतराबाट बच्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । आफ्नो शिशुलाई जन्मैदेखि स्वास्थ्य परीक्षण गर्न सुरु गर्नुपर्छ । स्वास्थ्य परीक्षणबारे एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :

एक वर्ष
भर्खर जन्मिएको बच्चाको शारीरिक र मानसिक अवस्थाबारे जानकारी हुन आवश्यक हुन्छ । यसका लागि थाइराइडको जाँच गर्नुस् । यदि बच्चा पूर्ण रूपमा स्वस्थ छ भने पटक–पटक मेडिकल टेस्ट गर्नुपर्दैन ।

२–३ वर्ष
बच्चाले दुई वर्षको उमेर पार गरिसकेपछि कैयौँ खानेकुरा खान थाल्छन् । जसकारण पेटसम्बन्धी समस्या देखिन सक्छ । यसबारे जानकारी लिनका लागि स्टुल टेस्ट गराउन आवश्यक हुन्छ ।

४–५ वर्ष
यो उमेरका बच्चाको उचाइ, तौल, दाँत र आँखाबारे सही जानकारी लिन आवश्यक हुन्छ । जसका लागि चिकित्सककहाँ पुगी सामान्य मेडिकल जाँच गराउँदा हुन्छ । यसबाट बच्चाको शारीरिक र मानसिक फिटनेसबारे पनि जानकारी लिन सकिन्छ ।

१०–१४ वर्ष
यो उमेरमा नियमित चेकअप गराउन सक्नुहुन्छ । यसबाट कैयौँ सम्भावित रोगबारे पूर्वजानकारी हुन्छ ।

१५–१९ वर्ष
यो उमेरमा पुरुषकोे तौल तीव्र गतिमा बढ्छ । त्यस्तै एक्स–रे, लिपिड प्रोफाइल, रगतमा चिनीको मात्रा र थाइराइडको परीक्षण गर्न आवश्यक हुन्छ । त्यस्तै, महिलाको महिनावारी सही समयमा भएको छैन भने हर्मोनल र थाइराइड परीक्षण गर्नुपर्छ ।

२०–३९ वर्ष
यो उमेरमा पुगेपछि कैयौँ शारीरिक समस्या हुन थाल्छ । त्यस्तै, डाक्टरको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । महिलामा नियमित महिनावारी भएको छैन भने पिसिओडी परीक्षण गर्नुपर्छ । गर्भवती हुनुहुन्छ भने पहिलो तीन महिनामा रगतमा चिनीको मात्रा, थाइराइड, युरिन, हेमोग्लोबिन र एचआइभी परीक्षण गर्न आवश्यक हुन्छ ।

४०–५० वर्ष
यस उमेरमा पुगेका पुरुषको तौल निकै बढेको छ भने नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । महिलाको ब्रेस्टमा समस्या या गाँठागुठीको महसुस भएमा मेमोग्राफी गर्नुपर्छ । तल्लो पेट दुख्यो वा महिनावारी नियमित छैन भने पेल्भिक सोनोग्राफी गर्न जरुरी हुन्छ ।

५० वर्षपछि
यो उमेरमा पिसाब गर्दा दुखाइ महसुस भएमा युरिन टेस्ट गर्न भुल्नुहुँदैन । कम काम गर्दा पनि थकाइ महसुस हुने, पसिना आउने गर्छ भने रक्तचाप (बिपी) जाँच गर्नुपर्छ ।
यो उमेरमा हाडसम्बन्धी कैयौँ समस्या देखिन सक्छ । यसका लागि बोन मिनरल डेन्सिटी टेस्ट गर्नुपर्छ ।
पुरुषको प्रोस्टेटमा समस्या भए प्रोस्टेट स्पेसिफिक एन्टिजेन टेस्ट गर्नुपर्छ । यो उमेरमा डाक्टरको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गरी त्यहीअनुसारको उपचार गर्न जरुरी हुन्छ ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्