Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

ठूला अस्पतालमै अनुमानमा मापसे रिपोर्ट



 

मादक पदार्थ सेवन गरेको पत्ता लगाउने उपकरण नहुँदा प्रदेश ५ का ठूला अस्पतालले समेत अनुमानका भरमा रिपोर्ट दिने गरेका छन् । पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन गरेको आशंका लागेमा प्रहरीले अस्पताल लगेर ‘क्लिनिकल एक्जामिनेसन’ गराउँदै आएको छ । तर, उपकरण नहुँदा चिकित्सकले पक्राउ परेका व्यक्तिको शारीरिक अवस्था, गन्ध र लक्षणका आधारमा मादक पदार्थ सेवन गरे/नगरेको प्रमाणित गर्दै आएका छन् ।

साधन, स्रोत अभावका कारण मुख सुँघेर, हाउभार अवलोकन, मानसिक अवस्था र बोलीचालीको मूल्यांकन गरी मादक पदार्थ सेवन गरे/नगरेको प्रमाणित गर्दै आएको भेरी अञ्चल अस्पताल नेपालगन्जका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले बताए ।

डा. रिसालले सेवाग्राहीको शारीरिक अवस्था र उसले देखाउने व्यवहारबाट मादक पदार्थ सेवन गरेको वास्तविक अवस्था बुझ्न नसकिने बताए । मादक पदार्थ सेवन गरेको पत्ता लगाउने उपकरण नहुँदा हाउभाउ हेरेर मादक पदार्थ सेवन गरेको वा नगरेको प्रमाणित गर्दा अव्यवहारिक भएको उनले बताए । ‘परीक्षण गर्न उचित स्रोत, साधन छैन, सुघ्ँने, हाउभार र शारीरिक अवस्था हेरेर प्रमाणित गर्नुको विकल्प छैन,’ उनले भने ।

अञ्चल र उपक्षेत्रीय अस्पतालमा पनि छैन नयाँ प्रविधि
राप्ती अञ्चल अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले पनि अनुमानका भरमा ‘क्लिनिकल एक्जामिनेसन’ गर्दै आएको बताए । ‘मादक पदार्थ सेवन गरेका व्यक्तिको आँखाको सेतो भाग रातो हुन्छ, हामीले आँखालाई आधार मानेर पनि प्रमाणित गर्छौँ,’ डा. सिंहले भने । राप्ती उपक्षेत्रीय अस्पताल घोराही र बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालले पनि लक्षणका आधारमा सेवाग्राहीले मादक पदार्थ सेवन गरेको परीक्षण गर्दै आएका छन् ।

मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गर्ने प्रविधि नहुँदा पुरानै शैली अपनाउँदै आएको राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले बताए । परम्परागत शैलीमा परीक्षण गर्दा मादक पदार्थको यथार्थ विवरण आउन नसक्ने उनले बताए ।

पत्ता लगाउने विधि के हो ?
व्यक्तिको पिसाब जाँच गरेर कति परिमाणमा मादक पदार्थ सेवन गरेको पत्ता लगाउन सकिन्छ । तर, प्रदेश ५ का कुनै पनि सरकारी अस्पतालमा सो प्रविधि नभएको अस्पताल प्रशासनले जनाएका छन् । ‘व्यक्तिको पिसाब जाँच गरेर मादक पदार्थको मात्रा पत्ता लगाउन सकिन्छ, तर हामीकहाँ जाँच गर्ने उपकरण छैन,’ जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले भने ।

ब्रेथएनालाइजर मेसिनबाट पनि मादक पदार्थ सेवन गरेको पत्ता लगाउन सकिन्छ । ब्रेथएनालाइजर मेसिनले मादक पदार्थ सेवन गरेको मात्रासमेत पत्ता लगाउन सकिने भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले ब्रेथएनालाइजर मेसिन प्रहरीसँग मात्र भएको र ल्याब टेस्ट गर्न सकिने प्रविधिको विकास भए पनि अस्पतालले सुँघेर मात्र परीक्षण गर्दै आएको उनको भनाइ छ ।

राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रीय अस्पतालले पनि पिसाबबाट पत्ता लगाउन सकिने प्रविधिको विकास भए पनि उपकरण नभएको बताए ।

बर्दियामा पनि अनुमानमै रिपोर्ट
जिल्ला अस्पताल बर्दियाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले पनि प्रहरीले पक्राउ गरेर जाँचका लागि ल्याएका सेवाग्राहीलाई सोध्ने, दोहोरो संवाद गर्ने, हाउभार हेरेर मादक पदार्थ सेवन गरे÷नगरेको प्रमाणित गर्दै आएको बताए । ‘मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्ने क्रममा आरोपित व्यक्तिलाई लाइनमा हिँडाउनेसमेत गरिन्छ,’ डा. पाण्डेले भने । नयाँपत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्