Logo
|
Friday 19th April 2024
Logo

epaper

महिनाभरिको हाजिर एकै पटक गरेर डाक्टर बेपत्ता



 जाजरकोट अस्पतालमा कार्यरत एक जना चिकित्सकले महिना नबित्दै हाजिर गरेर बेपत्ता भएको खुलेको छ । स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी छन् ।

अग्रिम हाजिर गर्दा पनि अस्पताल प्रशासन मौन छ । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरिको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ । एक साताअघि जिल्ला छाडेकी डा. राईले साउनसम्मको हाजिर गरेकी छन् ।

जाजरकोट अस्पतालमै विशेषज्ञ सेवा दिने उद्देश्यले उनलाई प्रतिष्ठानले करारमा लिएर पठाए पनि अस्पताल प्रशासनको चरम लापर्वाहीले सेवा नियमित हुन नसकेको स्थानीयको गुनासो छ । ५० शड्ढयाको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीबाहेक हालसम्म एक जना पनि विशेषज्ञ चिकित्सक आएका छैनन् । आएका पनि अगाडि नै हाजिर गरेर आफूखुसी हिँडेपछि सेवा ठप्प भएको हो । सामान्य अवस्थाका प्रसूतिसमेत नहुने यो अस्पतालले बिरामीलाई रिफर मात्र गर्ने गरेको स्थानीय युद्धजित शर्माले बताए ।

अस्पतालका निमित्त प्रमुख केशरजंग कार्कीले भने, ‘गत शनिबार बेखर्ची भएँ भनेर उहाँ नेपालगन्ज चेक सटाउनु छ भनेर जानुभएको हो । केही दिनमै आइहाल्छु भन्नुभएको छ । थाहा नपाएर अगाडि नै हाजिर गर्नुभयो होला । त्यसरी काम नगरेको अवधिको हाजिर गर्न मिल्दैन ।’ प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अगाडि नै हाजिर गर्न नमिल्ने बताउँदै छड्के निरीक्षण गरेर आवश्यक कारबाही गरिने बताए । अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्