Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा



सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजारभन्दा बढी बक्यौता छ । सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

असार मसान्तअघिसम्म भट्टराईको नाममा १७ लाख ६१ हजारभन्दा बढी बक्यौता थियो । उनले सो रकम असार मसान्तमा बुझाएको देखिन्छ । अन्य कर्मचारीको नाममा पनि असार मसान्तअघि ठूलो रकम बक्यौता देखिए पनि पछि केही तिरेको देखिएको हो ।

रकम हिनामिना भएको विषय सार्वजनिक भएपछि कर्मचारीले कम्प्युटर प्रणालीबाटै डाटा मेटाउने प्रयाससमेत गरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले खोजी गर्दा कुनै विवरण नभेटिएपछि सफ्टवेयर प्राविधिकमार्फत जाँच गरेको थियो । कर्मचारीले मेटाएको डाटा प्राविधिकले निकालेका थिए ।

रकम हिनामिनामा संलग्न सबै करारका कर्मचारी हुन् । इनरुवा अस्पतालको काउन्टरमा पाँचजनाले बिल काट्छन् । पाँचैजनाले भिन्नाभिन्नै ‘युजर आइडी’ प्रयोग गर्छन् । प्रत्येकले आफ्नो आइडीमा संकलन भएको रकम अस्पतालको खातामा त्यही दिन जम्मा गर्नुपर्ने हुन्छ । तर, उनीहरूले लामो समयदेखि रकम जम्मा नगरेको पाइएको छ ।

गत वैशाखमा नयाँ लेखा अधिकृत श्रवण घिमिरे आएपछि कर्मचारीले रकम आफैँ चलाएको खुलेको हो । ‘कर्मचारीले ठूलो बदमासी गरेको थाहा भएपछि ताकेता गरेँ, तर टेरेनन्,’ घिमिरेले भने । उनका अनुसार असारसम्ममा कर्मचारीले झन्डै ३५ लाख चलाइरहेका थिए । लगातारको ताकेतापछि करिब

१६ लाख रुपैयाँ उठेको हो
घिमिरे आउनुअघि लेखा अधिकृत राजेन्द्र आचार्य थिए । तत्कालीन अस्पताल प्रमुख डा. मुकुन्द गौतम र लेखा अधिकृत आचार्यसँगकै मिलेमतोमा अनियमितता भएको स्रोतको भनाइ छ । अस्पतालमा बिरामीबाट दैनिक २० देखि २५ हजार उठ्छ ।

डा. विना शाक्य गत वैशाखमा अस्पताल प्रमुख भएर आएपछि कर्मचारीलाई रकम दाखिल गर्न निर्देशन दिए पनि अटेर गरेका थिए । ‘यस्ता कर्मचारीलाई राखेर अस्पतालको कुनै हित हुँदैन, राखिरहने कुरै हुँदैन,’ उनले भनिन् ।

कागजपत्र अख्तियारको नियन्त्रणमा
कर्मचारीहरूले बिरामीबाट उठेको रकम हिनामिना गरेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले गत ४ साउनमा सबै कागजपत्र बुझाउन १० दिनको म्याद दिएर अस्पताललाई पत्र पठाएको थियो । पत्रअनुसार सबै कागजपत्र बुधबार अख्तियारमा बुझाएको लेखा अधिकृत श्रवण घिमिरेले जानकारी दिए ।   नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्