Logo
|
Friday 29th March 2024
Logo

epaper

डाक्टरको पर्खाइमा अस्पतालका उपकरण



   महाकाली अञ्चल अस्पतालको सर्जिकल वार्डमा आईसीयू कक्ष तयार भएको ३ वर्ष भयो । ४ वेडको आईसीयूका लागि आवश्यक पर्ने सबै उपकरण सहितको पूर्वाधार जडान गरेर तयारी अवस्थामा राखिएको छ । तर आईसीयू सेवा अझै सुचारु हुन सकेको छैन् ।

आईसीयू कक्षमा आवश्यक पर्ने २ वटा भेन्टिलेटर मेशिन जडान गरिएका छन् । तर ती मेशिन डाक्टरको पर्खाइमा बसेका छन् । आईसीयू सञ्चालनका लागि आवश्यक पर्ने दक्ष चिकित्सक सहितका स्वास्थ्यकर्मीहरु नहुँदा सेवा सुचारु भएको छैन् भने त्यहाँ जडान गरिएका उपकरण प्रयोग विहिन बनेका छन् । 

अस्पतालमा इन्डोस्कोपी गर्ने मेशिन प्रयोग हुन छोडेको करिब २ दशक नै हुन थाल्यो । उक्त मेशिन काम नलाग्ने भइसकेको छ । आईसीयू कक्षमा जडान गरिएका उपकरण र इन्डोस्कोपी मेशिन मात्रै होइन महाकाली अञ्चल अस्पतालमा रहेका करोडौं मुल्यपर्ने स्वास्थ्य उपकरणहरु प्रयोग विहिन छन् ।

ती मेशिन डाक्टरहरु पर्खेर बसेको वर्षौ भयो तर अहिलेसम्म पनि प्रयोग हुुन सकेका छैन् । महाकाली अञ्चल अस्पतालमा सरकारले मेशिन उपलब्ध गराउने तर ती मेशिन प्रयोग गर्ने दक्ष जनशक्ति नपठाईदिदा उपकरण प्रयोगमा आउन नसकेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

‘मेशिनहरु प्रयोगमा नआएर थन्किएको वर्षौ भइसक्यो’ अस्पतालका स्टोर इन्चार्ज लोकेन्द्र भट्टले भने,‘ कतिपय उपकरणहरुमा त खिया लाग्ने अवस्था आइसकेको छ, तर अहिलेसम्म उपकरण सञ्चालनका लागि सरकारले चासो दिएको छैन्’। उनका अनुसार महंगो मुल्य पर्ने उपकरणहरु स्टोरमा त्यसै थन्काएर राखिएको छ । 

महाकाली अञ्चल अस्पतालमा २ वटा भेन्टिलेटर, एनेस्थेसीया मेशिन, इन्डोस्कोपी, सीआर्म मेशिन, एक्सरे, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, पत्थरी र किड्नीको चेकजाँच गर्ने मेशिन लगायतका थुपै मेशिनहरु प्रयोगमा नआउदा स्टोरमा थन्किएका छन् । सामान्य एक्सरे सेवा समेत पाउन मुस्किल हुने गरेको छ । गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड हुने गरेपनि डाक्टर बिदामा बसे वा सरुवा भएर गएमा उक्त सेवा समेत बन्द हुने गरेको छ । दरबन्दी अनुसारको मात्रै नभई अब हरेक रोगको उपचार गर्ने डाक्टरहरुको सिंगो टीम नै हुनुपर्ने आवश्यकता रहेको कर्मचारी बताउँछन् । अस्पतालबाट प्रदान हुने गरेका सेवाहरु समेत डाक्टर बिदामा बस्दा अनियमित हुने गरेका छन् । 

उपकरण सञ्चालन गर्ने डाक्टर र स्वास्थ्यकर्मीहरु नहुँदा उपकरण थन्किएका छन् भने उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीहरु अन्यत्र जान वाध्य छन् । ‘ यो अस्पतालमा दरबन्दी अनुसारका डाक्टर पठाएर स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्छ’ भीनपा ४ बजारका स्थानीय बलदेब पनेरुले भने,‘ सरकारले नागरिकको स्वास्थ्य माथि खेलबाड गर्ने नभई सर्वसुलभ स्वास्थ्य सेवा दिनेतर्फ ध्यान दिनु जरुरी छ’ । 

‘अस्पतालमा दरबन्दी अनुसारका डाक्टर माग्दा माग्दा थाकियो’ निर्वतमान अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले भने,‘ सरकारले सुनुवाई नगर्दा दरबन्दी अनुसारको डाक्टर नै नआउने र अस्पतालमा रहेका उपकरण थन्किने अवस्थामा पुगे’ । उनले अञ्चल अस्पताललाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने बनाउन सरकारले गम्भिरतापूर्व यहाँ दरबन्दी अनुसारको डाक्टर पठाउनुपर्ने बताए । अस्पतालमा उपचार सेवा नपाउदा सामान्य बिरामीले समेत महंगो पैसा तिरेर भारतीय अस्पतालमा धाउनुपर्ने वाध्यता रहेको छ । 

अन्नपुर्णपोष्ट 

प्रतिक्रिया दिनुहोस्