Logo
|
Wednesday 24th April 2024
Logo

epaper

दुई करोड तिर्न नसक्दा टेलिमेडिसिन सेवा बन्द हुँदै



स्वास्थ्यसम्बन्धी रोगबारे परामर्श लिन र ग्रामीण क्षेत्रका बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा दिन सरकारले सुरु गरेको ग्रामीण टेलिमेडिसिन सेवा बन्द भएको छ । सो सेवा दिएबापत पाँच वर्षको एक करोड ९६ लाख ९१ हजार पाँच सय रुपैयाँ सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भुक्तानी गर्न नसक्दा सेवा रोकिएको हो । दुर्गममा चिकित्सक उपलब्ध नभएपछि सरकारले सो क्षेत्रका नागरिकको स्वास्थ्योपचारमा सहजता ल्याउने उद्देश्यले करिब एक दशकअघि टेलिमेडिसिन सेवा सुरु गरेको थियो ।

२०६५ सालदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको आग्रहमा दुर्गममा टेलिमेडिसिन सेवा दिँदै आएको थियो । तर, सेवा सुरु गरेको दस वर्षमै बजेट दिन नसकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसिन सेवा बन्द गर्न आग्रह गरेको छ । पाटन अस्पतालले सेवा रोक्ने विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले सरकारले आर्थिक सहयोग नगर्दा सेवालाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले दुर्गमका २६ जिल्लामा टेलिमेडिसिन सेवा दिँदै आएको थियो ।

विशेषज्ञ चिकित्सकसहित प्रत्येक दिन सातजना कर्मचारी खटिन्थे
दुर्गमका नागरिक स्वास्थ्योपचारबाट वञ्चित नहोऊन् भनेर पाटन अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकसहित प्रत्येक दिन सातजना कर्मचारी खटाएको थियो । तर, पछिल्लो समय सरकारले रकम नदिएपछि विशेषज्ञ सेवा दिएको छैन । निर्देशक शर्माका अनुसार अहिले पनि सातजना मेडिकल अफिसरको भरमा टेलिमेडिसिन सेवा सञ्चालन भइरहेको छ । प्रत्येक महिना पाँच सय बिरामीले टेलिमेडिसिनमार्फत विशेषज्ञ सेवा लिँदै आएका थिए । ‘बिरामी रुँदै रुँदै फोन गर्छन्, डाक्टरसा’ब अब म मर्छु होला ! के गर्न सकिन्छ भनेर,’ अस्पतालका एक चिकित्सकले भने ।

यस्ता गम्भीर समस्यालाई सम्बोधन गर्ने कार्यक्रम बन्द गरेको विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भने बेखबर देखिएका छन् । मन्त्रालयको वार्षिक ५० लाख अनुदानमा पाटन अस्पतालबाट सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालका अनुुसार सर्जरी, प्रसूति, अर्थोपेडिक, पेडियाट्रिक, मुटुलगायत गम्भीर प्रकारका रोगबारे बिरामीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए । फोन सम्पर्क, अनलाइन, इमेल तथा भिडियोका माध्यमबाट सेवा प्रवाह गरिँदै आएको छ ।

मेरो ध्यानाकर्षण भयो


उपेन्द्र यादव
स्वास्थ्य तथा जनसंख्यामन्त्री
सरकारसँग विशेषज्ञ चिकित्सकको संख्या करिब चार सय ५० को हाराहारीमा छ । यो संख्याले देशभरि विशेषज्ञ चिकित्सक पु-याउन नसकेपछि सरकारले अति दुर्गमका नागरिकलाई गुणस्तरीय सेवा दिन विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सुरु गरेको हो । पाटन अस्पतालले राम्रोसँग सेवा प्रवाह गरेको थियो, तर अहिले बन्द हुने अवस्थामा पुगेको भन्ने सुन्नमा आयो ।

सेवा अवरुद्ध र व्यवस्थापनलाई परेको समस्याबारे मलाई कुनै जानकारी छैन । यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । साथै, दुर्गमको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा अनिवार्य रूपमा सञ्चालन हुन आवश्यक छ । सञ्चालनमा रहेको सेवा बन्द गर्ने होइन, यसलाई अझ प्रभावकारी ढंगबाट कसरी अगाडि लैजान सकिन्छ, त्यसमा लाग्ने हो ।

सरकारको असहयोगले  सेवा दिन सकिँदैन 
डा. विष्णु शर्मा
निर्देशक, पाटन स्वास्थ्य 
विज्ञान प्रतिष्ठान
दुर्गमका जनतालाई विशेषज्ञ सेवा दिने उद्देश्यले २०६५ सालदेखि पाटन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइँदै आएको हो । हाल अस्पतालले २६ जिल्लामा सेवा दिइरहेको छ । तर, सरकारले पाँच वर्षदेखि करिब दुई करोड रुपैयाँ अस्पताललाई उपलब्ध नगराएकाले प्रतिष्ठानले हाल विशेषज्ञ सेवा दिन सकेको छैन । अहिले सातजना मेडिकल अफिसरको भरमा अस्पतालले २६ जिल्लाका नागरिकलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ ।

०६९/७० सम्म सरकारले नियमित रूपमा रकम विनियोजन गर्दै आएको थियो । त्यसयता दिएको छैन । सरकार बजेट छैन भन्छ । सरकारको कार्यक्रम चलाएका छौँ । यदि सरकारले रकम दिन सक्दिनँ भन्छ भने सेवा बन्द हुन्छ । सधैँ हुन्छ भन्ने, अन्तिममा आएर रकम छैन भन्नु न्यायोचित हैन । यदि यो सेवा बन्द भयो भने २६ जिल्लाका नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार हनन हुनेछ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्