जीवनभर हाँस्न पाउँदैनन् ‘हंसराजहरु’

|| प्रकाशित मिति :2018-08-10 09:54:37

 

बिरामी मुसहरहरु उपचार नपाएर घरमै मृत्यु कुरेर बस्न बाध्य हुने गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण बिरामी मुसहरहरुले सरकारी तथा निजी अस्पतालहरुमा उपचार समेत गराउन सकेका छैनन्।

पक्षघातका कारण १० वर्षअघिदेखि थला परेका कटहरीया–९ डुमरीया टोलका ८४ वर्षीय हंसराज माझी मुसहरले सामान्य उपचार समेत गराउन सकेनन्। तीन वर्षदेखि हातखुट्टा नचलेर ओछ्यान परेका चन्द्रपुर–९  डुमरीयाका ३६ वर्षीय सुरेश माझी मुसहरको पीडा पनि उस्तै छ। चन्द्रपुर–८ सन्तपुरका ४५ वर्षीय रितलाल माझी मुसहर पनि पक्षघात भएपछि हिँडडुल गर्न नसेकेको चार वर्ष भइसकेको छ।

सुरेश, रितलाल र हंसराज त प्रतिनिधि पात्रमात्र हुन्। रौतहटका विभिन्न स्थानमा बसोबास गर्दै आएका मुसहर बस्तीमा यस्ता गम्भीर प्रकृतिका रोग लागेको मुसहरहरु अरु पनि छन्। सामान्य उपचार समेत नपाएका हंसराज मुसहरका सन्तान छैनन्, वृद्धा श्रीमतीको सहारामा उनको रोगी जिन्दगी वर्षौदेखि घिटिक घिटिक बाँचिरहेको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेको उनको दुखेसो छ।

झुपडीमा फोहरसँग लटपटिएको अवस्थामा भेटिएका हंसराजले भने, ‘उपचार गर्न पैसा छैन, मृत्यु कुरिरहेको छु।’ बस्तीका अन्य मुसहरको अवस्था पनि उस्तै पीडादायी छ। उनको टोलमा करिब ६० घर झुपडीमा मुसहर जाती बस्दै आएका छन् तर सामान्य सहयोग गर्न सक्ने अवस्था कसैसँग छैन। कमाएर ल्याउने पनि कोही छैनन्। ७० वर्षीया श्रीमती सीतादेवी मुसहरले छरछिमेक गुहारेर खानेकुराको जोहो गर्दै आएकी छन्। उनीहरुको बिरामी वृद्ध शरीर त्यसैले बचाएको छ।

सन्तान नभएका गरिब तथा वृद्ध मुसहर दम्पत्तिलाई केही मनकारीहरुले बेलाबेलामा खाद्यान्नहरु सहयोग गर्ने गरेका छन्। हंसराजका छिमेकी कालीचरण माझी मुसहर भन्छन्, ‘उनको नाममात्र हंसराज हो तर जीवनमा कहिल्यै हाँसेको देखेको छैन।’

ती वृद्धको बोली प्रष्ट भए पनि हातखुट्टा चल्दैनन्। दिसा पिसाब समेत अर्कैले गराउनु पर्ने बाध्यता छ। चन्द्रपुर–९ स्थित डुमरीयामा ३६ वर्षीय सुरेश माझी मुसहरले उपचार पाएका छैनन्। उपचार गराएर पहिले जस्तै ठमठम हिँड्न सक्ने हुन मन उनलाई छ तर पैसा छैन। 

कमाएर ल्याउने सक्ने मान्छे उनका घरमा छैनन्। तीन छोराछोरी र श्रीमती गरी उनको पाँचजनाको परिवार छ। सुरेशकी ३० वर्षीया पत्नी सन्ध्या मुसहर इटाभट्टामा काम गर्थिन्। जुन अहिले बन्द छ। उनी पनि ६ महिनादेखि बिरामी छन्।सन्तान नभएका गरिब तथा वृद्ध मुसहर दम्पत्तिलाई केही मनकारीहरुले बेलाबेलामा खाद्यान्नहरु सहयोग गर्ने गरेका छन्। हंसराजका छिमेकी कालीचरण माझी मुसहर भन्छन्, ‘उनको नाममात्र हंसराज हो तर जीवनमा कहिल्यै हाँसेको देखेको छैन।’

सन्ध्याले आँखाभरि आँसु पादै भनिन्, ‘कमाउँछु त खान्छौं नत्र भोकै बस्छौं, पतिको उपचार गर्न त पैसै छैन।’ ऐलानी जमिनमा बनाएको झुपडी छ। लगाउने लत्ताकपडा केही छैन। न ओढ्ने न त ओछ्याउने नै, केही छैन। पढ्ने उमेरका तीन छोराछोरी विद्यालय जान पाएका छैनन्।

सुरेशको ढाडदेखि मुनिको शरीरको भाग र दुवै हात चल्दैनन्। उनलाई खानेकुरा खुवाउनदेखि दिसापिसाब गराउन अर्कै मान्छेको सहारा चाहिन्छ। तीन वर्षअघि ससुराली गएर फर्कदै गर्दा बाटोमा अचानक लडेका सुरेश त्यसपछि उठ्न सकेका छैनन्।

बिरामी भएपछि शिवनगरमा रहेको क्लिनिकमा उपचार गर्दा करिब १८ हजार खर्च भयो। त्यसपछि राम्रो अस्पतालमा गएर उपचार गराउन उनले सकेका छैनन्।
तीन वर्षदेखि झुपडीको पिँढीमा बाँच्ने आशा लिएर सुतिरहेका सुरेश भन्छन्, ‘उपचार पाए बाँच्ने थिएँ होला तर कसरी उपचार गर्नु ? काल पर्खिरहेको छु।’

अपांगले पाउने सेवा सुविधासमेत उनले स्थानीय तहबाट पाउन सकेका छैनन्। आवश्यक कागजपत्र वडा कार्यालयमा बुझाएको भए पनि सुविधा नपाएको उनको गुनासो छ। चन्द्रपुर–८ सन्तपुरका ४५ वर्षीय रितलाल माझीको पीडा कसैको भन्दा कम छैन। इटाभट्टामा काम गरिरहेको बेला चार वर्षअघि लडेका उनी उठ्न सकेका छैनन्।

माझीको हातखुट्टा र शरीरको बायाँ भाग चल्दैन। बिरामी भएपछि १३ हजार खर्च गरे। त्यसपछि पैसा नभएकाले घरमा नै सुतेर समय कटाइरहेका छन्। सामान्य बिरामी हुँदा वेवास्ता गर्ने र खानपानमा ध्यान नदिँदा मुसहर जातीमा पक्षघातलगायत गम्भीर रोगले आक्रमण गर्ने गरेको नेपाल राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको बुझाइ छ।

तीन वर्षदेखि झुपडीको पिँढीमा बाँच्ने आशा लिएर सुतिरहेका सुरेश भन्छन्, ‘उपचार पाए बाँच्ने थिएँ होला तर कसरी उपचार गर्नु ? काल पर्खिरहेको छु।’

उपाध्यक्ष नथुनीले भने, ‘मुसहर जातीमा क्षयरोग, पक्षघात, दमजस्ता रोगहरु बढी देखिएका छन्।’ उचित खानपान नहुनु, सरसफाइको कमी तथा सामान्य रोगको समेत उपचार गर्न नसक्दा मुसहर बस्तीका मानिस पीडित छन्।

राज्यले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि मुसहरहरुले त्यस्तो सेवा नपाएको रौतहटका मुसहरका अगुवा अनुप माझी मुसहरको भनाइ छ।
जिल्लामा ६० वटा मुसहर बस्तीमा करिब दुई हजार झुपडी छन्। करिब २० हजार जनसंख्या रहेकोमा अधिकांशको जीवन कष्टकर रहेको पाइएको छ।  अन्नपुर्ण पोष्ट 

    Comment Here!