Logo
|
Thursday 28th March 2024
Logo

epaper

औषधिमा कम्तीमा ५०%छुट : अस्पताललाई अझै ६ करोड मुनाफा



हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पसलेले बढीमा एक–दुई प्रतिशत, त्यो पनि अप्ठ्यारो मान्दै छुट दिन्छन् । तर, काठमाडौंमै यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ एक शब्द नबोली अधिकतम बिक्री मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । डब्लुएचओ जिएमपी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका औषधिमा यो छुट दिएको छ, वर्षौँदेखि ।

औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । शिक्षण अस्पतालबाटै सञ्चालित औषधिपसलले पनि एमआरपी मूल्यमै औषधि बेच्छ । बिरामीले न त डिस्काउन्ट माग्छन्, न त औषधिपसलले एक पैसा घटाउँछन् । तर, सेन्टरमा सञ्चालित औषधिपसलले बिरामीले नमागीकनै औषधिमा ५० प्रतिशतभन्दा बढी छुट दिन्छ । सेन्टरले केही सर्जिकल सामानमा झन्डै ७० प्रतिशतसम्म छुट दिँदै आएको छ ।

‘हामीकहाँ डिस्काउन्ट माग्नै पर्दैन । नमागेरै सबैले ५० प्रतिशतभन्दा बढी डिस्काउन्ट पाउँछन्,’ सेन्टरका डाक्टर भगवान कोइरालाले नयाँ पत्रिकासँग भने । सेन्टरले सुरुदेखि नै औषधिमा यस्तो छुट दिँदै आएको छ । सामान्य ग्यास्ट्रिक र उच्च रक्तचापको औषधिमा मात्र होइन, आइसियू र सिसियूमा प्रयोग हुने इन्जेक्सनमा पनि अधिकतम मूल्यभन्दा ५० प्रतिशत सस्तोमा औषधि बिक्री गर्दै आएको छ ।

सर्जिकल सामानमा प्रायः एमआरपी मूल्य नै लेखिँदैन र जति मन लाग्यो बेच्ने प्रचलन छ । तर, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ७० प्रतिशतसम्म छुटमा दिन्छ ।

५० प्रतिशत छुट दिँदा पनि ६ करोड नाफा
अस्पतालले फार्मेसी सञ्चालनका लागि १६ प्रतिशत नाफा छुट्याउँछ । त्यसबाहेकको नाफा उपभोक्ता (बिरामी) र अस्पताललाई बराबरी बाँड्छ । ‘कम्पनीले दिने छुटको ५० प्रतिशत राख्दा पनि गत आर्थिक वर्ष अस्पतालले एउटै औषधिपसलबाट ६ करोड नाफा कमाउन सफल भयौँ,’ डा. कोइरालाले भने ।

‘कन्सेप्ट’ डा. कोइरालाकै
डा. कोइरालाले मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा आउँदा नै अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्नेमा जोड दिए । गंगालाल अस्पतालमा निर्देशक हुँदा पनि उनले यसै गरेका थिए । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्दा आवश्यक औषधि खरिदका लागि सार्वजनिक टेन्डर आह्वान ग-यो । टेन्डर हाल्ने औषधि डिलर र औषधि कम्पनीहरूले अस्पताललाई ठूलो बोनस र कमिसन प्रस्ताव ग-यो । तर, अस्पताल प्रशासनले बोनस, कमिसन केही चाहिँदैन, बरु थोरैमा कति मूल्यमा दिन सक्छौ भनेर सोध्यो । कम्पनीले केही दिन नपर्ने भएपछि निकै सस्तोमा औषधि उपलब्ध गरायो । ‘अस्पतालले निकै सस्तोमा औषधि पाएपछि बिरामीलाई केही राहत किन नदिने भनेर छुट दियौँ,’ उनले भने ।

शिक्षण अस्पतालमा पनि सुरु गरे तर, उनी हटेपछि पुरानै चाल भयो
कोइराला शिक्षण अस्पतालको निर्देशक हुँदा शिक्षण अस्पताल परिसरभित्र आधा दर्जनजति निजी मेडिकल पसल सञ्चालनमा थिए । अस्पताल प्रशासनले अस्पताल परिसरभित्रका सटर बर्सेनि करोडौँमा भाडामा लगाउँथ्यो । तर, डा. कोइराला निर्देशक भएपछि फार्मेसी अस्पतालले चलाउने र बिरामीलाई राहत दिने निर्णय गरे । निजी औषधिपसल अस्पताल परिसरबाट हटाए र अस्पतालको आफ्नै औषधिपसल सञ्चालनमा ल्याए ।

शिक्षण अस्पतालभित्रको औषधिपसलले पनि मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जस्तै औषधिमा छुट दिन सुरु ग-यो । तर, डा. कोइराला अस्पतालको निर्देशकबाट हटेपछि छुट दिन बन्द भयो । एमआरपी मूल्यमै औषधि बेच्न सुरु भयो । उपभोक्ताले राहत पाएनन् । अस्पतालनजिक थुप्रै निजी औषधिपसल खुले ।

सरकारी अस्पतालका फार्मेसीले दिँदैनन् छुट
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सबै सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिए । सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न र फर्मासिस्ट नियुक्त गर्न बजेट पनि छुट्याए । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जस्तै बिरामीलाई औषधिमा राहत दिऊन् भन्ने उनको नीति थियो ।

त्यसअघिसम्म सबै सरकारी अस्पतालले अस्पतालभित्रै फार्मेसीका लागि महिनाको लाखौँ लिएर भाडामा लगाउँथे । बाबुराम नेतृत्वको सरकारको निर्णयपछि पनि एक वर्षका लागि भाडामा दिइसकेको भन्दै अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गर्न अटेरी गरे । पछि सर्वोच्चमा मुद्दा प¥यो । सर्वोच्च अदालतले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनैपर्ने फैसला ग-यो । अहिले धेरैजसो सरकारी अस्पतालका आफ्नै फार्मेसी छन् । तर, बिरामीलाई औषधिमा छुट दिँदैनन, एमआरपी मूल्यमै बेच्छन् । निजी र सरकारी औषधिपसलमा किन्दा कुनै फरक नै छैन ।

इच्छाशक्ति भए सबैले गर्न सक्छन् : डा. भगवान कोइराला
हामीले कम्पनीहरूसँग बल्कमा औषधि किन्दा पाएको नाफालाई आफूसँग सबै नराखी बिरामीलाई पनि सेयर गरेका हौँ । जति मार्जिन आउँछ सबै नाफा आफैँ मात्र लिनुपर्छ भन्ने के छ र ? सरकारी अस्पतालको हकमा त त्यो व्यक्तिगत पनि भएन । राम्रा अस्पताललाई कम्पनीहरूले धेरै मार्जिन राखेर औषधि उपलब्ध गराउँदा रहेछन् । उत्पादन मूल्य र बिक्री मूल्यसम्म आउँदा निकै फरक आउँदो रहेछ ।

हामीले पाएको नाफा बिरामीसँग आधा–आधा बाँड्यौँ । हामी १५ प्रतिशत नाफ फार्मेसी सञ्चालनका लागि छुट्याउँछौँ र त्योभन्दा बढी चाहिँ अस्पताल र बिरामीका लागि आधा–आधा गर्छौँ । सबै सरकारी अस्पतालमा यस्तो सम्भव हुन्छ भन्ने लाग्छ । शिक्षण अस्पतालमा पनि यस्तै व्यवस्था मैले लागू गरेको हुँ । अहिले त्यो छ–छैन थाहा भएन । कुर्सीमा बस्नेले व्यक्तिगत स्वार्थ नराखीकन जनतालाई कसरी राहत दिने भनेर सोचियो भने गर्न सकिन्छ । जनताका लागि केही गर्ने इच्छाशक्ति चाहिन्छ । यति सानो ठाउँमा जनतालाई त्यति छुट दिएर पनि वार्षिक ६ करोड नाफा कमायौँ हामीले ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्