Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पताल अनुगमन,बीचबाट फर्किए मन्त्री यादव



उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार भरतपुर अस्पतालको अनुगमन गरेका छन् ।सोक्रममा उनले अस्पतालमा उपचाररत प्रत्येक विभागका बिरामीसँग अस्पतालको सेवाबारे कुराकानी गरेका थिए । अस्पतालमा उपलब्ध सेवा र बिरामीको चाप देखेर मन्त्री यादव छक्क परेका छन् ।

अस्पतालको ओपिडी, प्रयोगशाला, सुत्केरी वार्ड भरिभराउ थिए । ओपिडी विभागमा बिरामीको भिडले मन्त्री यादवलाई अनुगमन गर्न गाह्रो बनाएपछि उनी बीचबाटै फर्किएका थिए । अनुगमनका क्रममा एक सेवाग्राहीले तीन दिनदेखि प्रयोगशाला रिपोर्ट नपाएको मन्त्रीलाई दुखेसो गरे । ओपिडी विभागकी एक महिलाले बिरामीको भिडले थप बिरामी पर्ने गरेको गुनासो गरिन् । उनले मन्त्री यादवसँग सहज उपचारको व्यवस्था मिलाउन आग्रह गरिन् । अस्पतालका डाक्टर र कर्मचारीको कुरा सुन्दै हिँडेका मन्त्री यादव बिरामीको बीचमा पुगेपछि झसंग भए । बिरामीको चाप देखेर स्वास्थ्यमन्त्री यादवले भने, ‘यति धेरै बिरामीले विशिष्ट सेवा पाएकोमा खुसी लागेको छ ।’ उनले करिब २ घन्टा अस्पतालमा बिताएका थिए ।
टर्सरी अस्पताल
नेपाल सरकारले भरतपुर अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाउने भएपछि अस्पताल प्रशासनले वास्तविक अवस्थाबारे अवगत गराउन मन्त्री यादवलाई बोलाएको थियो । २ घन्टाको अवलोकनपछि स्वास्थ्यमन्त्री यादवले भने, ‘अति विशिष्ट सेवा दिने टर्सरी (तेस्रो) तहको अस्पतालका रूपमा भरतपुर अस्पताललाई सरकारले लिएको छ ।’ प्रत्येक वडामा प्राथमिक सेवा केन्द्र, त्यसपछि दोस्रो तहको सेवा र विशिष्ट सेवा दिने हिसाबले तेस्रो वा टर्सरी अस्पतालका रूपमा यस अस्पताललाई विकास गरिने मन्त्री यादवले बताए ।

जग्गा फिर्ता गर्न निर्देशन
स्वास्थ्यमन्त्री यादवले भरतपुर अस्पताललाई विस्तार गर्न जग्गाको पनि उचित व्यवस्थापन गर्नुपर्ने बताए । अस्पतालमातहत रहेको ३१ बिघामध्ये ११ बिघा मात्र अस्पतालले भोगचलन गर्दै आएको छ । ९ बिघा पुरानो मेडिकल कलेज र अरू जग्गा सिटिइभिटीलगायतले भोगचलन गरिरहेका छन् ।आफ्नो जग्गा फिर्ता गरी संरक्षण गर्न मन्त्री यादवले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जग्गा फिर्ता गरी भविष्यमा कसैलाई पनि प्रयोग गर्न दिन नहुने उनले बताए ।

केन्द्रीय अस्पतालका लागि पहल
अनुगमन र अवलोकनपछि मन्त्री यादवसँग भरतपुर अस्पतालका मेसु डा. रविन खड्काले अस्पतालको सेवा, उपलब्ध भौतिक संरचना, बिरामीको पहुँच र चाप, देशका अन्य अस्पतालको तुलनामा बिरामी संख्या र सेवाबारे जानकारी गराएका थिए । यी सबैका आधारमा भरतपुर अस्पताल केन्द्रीय अस्पताल बन्न लायक रहेकोमा उनको जोड थियो । साथै, उनले १५ शøयाको आकस्मिक कक्ष रहेकोमा छुट्टै आकस्मिक भवनको निर्माण गर्न लागिएको समेत मन्त्रीलाई जानकारी गराए । मेसु खड्काले अस्पतालमा स्थायी दरबन्दीको व्यवस्था, ढल, फोहोरको निकास, मातृशिशु भवन निर्माण, अस्पतालको जग्गा फिर्ता गर्नुपर्ने, बिमा र नेपाल सरकारका निःशुल्क सेवा प्रभावकारी बनाउनेलगायत योजना प्रस्तुत गरे ।

सेवामा अब्बल
०१३ मा स्थापना भएको भरतपुर अस्पतालमा सुरुमा २५ शैया रहेकोमा हाल ६ सय पुगेको छ । गतवर्ष २ लाख १२ हजारले ओपिडी सेवा र ४ लाख ४७ हजार ५ सयले आकस्मिक सेवा लिएका थिए । अस्पतालमा जोर्नी प्रत्यारोपण, अर्थोस्कोपी, न्युरो सर्जरी, होमो डाइलासिस, इको कार्डियोग्राम, कोलोन्स्कोपीलगायत विशिष्ट सेवा उपलब्ध छन् । प्रसूति सेवामा यो अस्पताल देशको उत्कृष्टभित्र पर्छ । अस्पतालमा २० शैयाको सघन उपचार कक्ष (आइसियू) र १२ शैयाको एनआइसियू छ । अस्पतालले आफ्नो निजी अक्सिजन प्लान्टसमेत सञ्चालन गरेको छ । १ सय ७५ जनाको सरकारी दरबन्दी रहेको यस अस्पतालमा १ सय २६ पदमा मात्र कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्