Logo
|
Thursday 25th April 2024
Logo

epaper

फोहरमैला केन्द्रको अस्तित्व संकटमा



फोहरबाट मोहर कमाउने उद्देश्यका साथ लहान नगरपालिकाले ठूलो रकम खर्चेर बनाएको फोहोरमैला व्यवस्थापन केन्द्रको अस्तित्व संकटमा परेको छ ।

लहान नगरपालिका– ४ स्थित खुट्टी खोलाको छेउमा बनाइएको फोहोरमैला व्यवस्थापन केन्द्रको उचित व्यवस्थापन र हेरचाह हुन नसक्दा .गौचरणको रुपमा परिणत भएको छ । लहान–४ को वडा कार्यालय परिसरभित्रै निर्माण गरिएको केन्द्रमा जताततै फोहोरमैला फ्याँकिएको छ भने फोहोर छुट्याउन बनाइएका संरचनासमेत प्रयोगविहीन बनेका छन् । नगरपालिकाभित्रका फोहोर सुरक्षित रुपमा व्यवस्थापन गरी त्यसबाट मल उत्पादन गरेर बिक्री गर्ने लक्ष्यका साथ करीब एक बिघा क्षेत्रफल तारजालीले घेराबार गरी निर्माण गरिएको केन्द्र यतिबेला प्रयोगविहीन छ ।

नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत महेन्द्रकुमार खम्याङको प्रयासमा आर्थिक वर्ष २०७१÷०७२ मा उक्त प केन्द्र निर्माण गरिएको हो । स्थानीय विकास मन्त्रालयको करीब रु एक करोडको लागतमा नगरपालिकाले निर्माण गरेको सो केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा सरकारी लगानी बालुवामा पानीसरह बनेको स्थानीयवासीको कथन छ । बजार क्षेत्र तथा स्वास्थ्य संस्थाबाट सङ्कलन गरी ल्याइएको फोहोरमैला जथाभावी फ्याँकिदा वरिपरि दुर्गन्धित बन्नाका साथै फोहोर प्लाष्टिकका झोला हावा चलेका बेला सर्वसाधारणको घरआँगनसम्म पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।

बजारको फोहोर व्यवस्थित रुपमा नराख्दा झिँगा लागेर हैरान बनाएको छ । स्थानीयवासी सुरेन्द्र महतो भन्नुहुन्छ, ‘‘ एकातिर फोहोरमैलालाई व्यवस्थित रुपमा नराख्दा वरिपरि दुर्गन्ध फैलिएको छ भने अर्काेतर्फ झिँगाले सताउने गरेका छन् ।” स्वास्थ्य संस्थाबाट संकलन गरिएको सुई, कपास, प्लाष्टिकका झोला र म्याद गुज्रेको औषधिसमेत जथाभावी फ्याँकिएको छ । एकातिर फोहोरमैला जताततै फ्याँकिएको छ भने भने अर्कातिर फोहोरमैला छुट्टयाउनका लागि निर्माण गरिएका सेड प्रयोगविहीन छन् । सेड लामो समयदेखि प्रयोगविहीन हुँदा रुख उम्रिएको छ भने बालबालिकाको खेलकुदस्थल बन्न थालेको छ ।

यस्तै केन्द्रभित्रै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले करीब रु पाँच लाखको लागतमा बनाइदिएको इन्सिनेटर (स्वास्थ्य संस्थाबाट निस्किने फोहोर नष्ट पारेर त्यसबाट मल निकाल्ने उपकरणसहितको भवन) समेत प्रयोगविहीन छ । “कुहिने र नकुहिने गरी फोहोर छुट्टयाएर त्यसलाई प्रशोधन गरी मल निकाल्ने लक्ष्य थियो”, नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘‘ तर जे लक्ष्यका साथ बनाइयो, अहिले त्यसको विपरीत जथाभावी फोहोर फ्याँकिने गरिएको छ, न त सेडको प्रयोग भएको छ न त इन्सिनेटरकै प्रयोग भएको छ ।”

केन्द्रको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाका कार्यकारी अधिकृत र प्रमुखलाई पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको ती कर्मचारीको गुनासो छ । “सबै संरचना तयारी अवस्थामा छ, लहान नगरपालिकाका कर्मचारीहरु भन्नुहुन्छ”, ‘‘अब थोरै लगानी भयो र व्यवस्थापनमा दृढतापूर्वक लागेमा छिट्टै व्यवस्थापन हुन सक्छ ।”

नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डित जुन उद्देश्यका लागि राज्यको ठूलो लगानी गरी बनाइएको हो, त्यो नै हुन नसकेपछि अब यसको औचित्य नरहेको बताउनुहुन्छ । यसलाई व्यवस्थित गरी वृक्षरोपण गरेर रमणीय वातावरण बनाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो सोच रहेको वडाध्यक्ष पण्डितको कथन छ ।

नगरपालिकाका प्रमुख मुनी साहले केन्द्रलाई व्यवस्थित बनाउन नगरपालिकाले योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘ठूलो खर्च भएर पनि व्यवस्थित हुन नसकेको फोहोरमैला व्यवस्थापन केन्द्र र इन्सिनेटर सञ्चालनका लागि नगरसभाबाट योजना तयार भइसकेको छ, छिट्टै यसबारे योजनाहरु कार्यान्वयनमा आउँछ ।” यो व्यवस्थित भएपछि फोहरबाट मोहर कमाउने नगरपालिकाको सपनाले मूर्त रुप पाउने नगरप्रमुख साहको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्