Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

के हो डिएनए ?



डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यसबारे नर्थ डकोटा स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक तथा अनुसन्धानकर्ता अनुज घिमिरेले लेखेका छन् :

डिएनए अर्थात् डिएनएको पूरा रूप डाइअक्सिराइबो न्युक्लिक एसिड हो । यो एकप्रकारको जटिल अणु हो । जसले एउटा प्राणी बनाउने, त्यसको विकास र प्रजननलाई निर्देशित गरी सकुशल राख्ने काम गर्छ । हाम्रो शरीरको हरेक कोषाणुमा डिएनए हुन्छ । सामान्यतया डिएनए कोषाणुमा पाइन्छ ।
माइटोकोन्ड्रियामा पनि यसको केही मात्रा हुन्छ । यस्तो डिएनए आधा आमा र आधा बुबाबाट सन्तानमा सर्ने गर्छ । यसकारण डिएनए प्राणी बनाउने ‘ब्लु प्रिन्ट’ वा नक्सा हो । हाम्रो शरीर बन्नुपहिले ‘ब्लु प्रिन्ट’ वा नक्सा तयार हुन्छ र त्यहीअनुसारको संरचना बन्ने गर्छ ।

 

यसरी काम गर्छ डिएनएले

हरेक कोषाणुमा कम्तीमा २ मिटर डिएनए हुन्छ । डिएनए निकै खाँदिएर रहने गर्छ । डिएनएका त्यान्द्राहरू हिस्टोन नामक प्रोटिनको वरिपरि बेरिएर बसेका हुन्छन् । यसरी बेरिएर बसेका पदार्थलाई क्रोम्याटिन भनिन्छ । क्रोम्याटिन सुपरकोइलिङ भएर वा अझै धेरै गाँसिएर बस्ने गर्छ ।

जसलाई क्रोमोजोम भनिन्छ । मानव शरीरमा २३ जोडी अर्थात् ४६ वटा क्रोमोजोम हुन्छन् । तर, मानिससँग नजिकको प्रजाति चिम्पान्जीमा २४ जोडी अर्थात् ४८ वटा क्रोमोजोम हुन्छन् । मानव जातिको क्रमिक विकासका क्रममा दुईवटा क्रोमोजोमको फ्युजन भएको अनुसन्धानले भन्छ ।
२३ वटा आमाबाट र २३ बुबाबाट आएका गरी मानिसको शरीरमा २३ जोडा क्रोमोजोम हुन्छन् । तर, हाम्रो सेक्स कोषाणु अर्थात् पुरुषको वीर्य र महिलाको डिम्बमा २३–२३ वटा मात्रै क्रोमोजोम हुने गर्छ ।

महिला र पुरुषबाट आएका ती २३–२३ क्रोमोजोम मिलेर पुनः ४६ वटा अर्थात् २३ जोडी बन्छन् । महिला र पुरुषका हरेक २३ क्रोमोजोममा १ देखि २३ सम्म क्रमैसँग उही जिनहरू हुन्छन् । जसरी पुस्तकालयमा एउटा रातो खोल भएको पुस्तक छ, जसमा २३ वटा पृष्ठ छन् विभिन्न रङ भएका तर विषयवस्तु ठ्याक्कै उस्तै भएका । त्यसैगरी हाम्रो सेक्स कोषाणुबाट २३ क्रोमोजोम निस्किन्छन्, जुन आफ्नो साझेदारको अर्को २३ सँग मिलेर ४६ वटा वा २३ जोडी बन्छन् । हरेक महिला र पुरुषको २३–२३ क्रोमोजोम मिलेपछि बन्ने जिनले एउटा नयाँ सन्तानको जन्म दिन्छ । यसरी महिला र पुरुषबाट बराबर मात्रामा क्रोमोजोम आउने र त्यसको मिश्रण सन्तानमा पाइने हुँदा नै डिएनए टेस्ट गरेर आमाबुबाको पहिचान सहज भएको हो ।

डिएनए दुइटा त्यान्द्राले बनेको हुन्छ । ती दुई त्यान्द्रा मिलेर एउटा कार्यात्मक डिएनए बन्छ । डिएनएमा आनुवंशिक गुण, रासायनिक कोड भण्डारण भएका हुन्छन्, जसलाई बसेस भनिन्छ । ती हुन्– एडिनाइन (ए), गुवानाइन (जी), साइटोसाइन (सी) र थाइमाइन (टी) ।

मानिसको डिएनएमा करिब ३ अर्ब बेसेस हुन्छन् । ती बेसेसको शृंखलाले नै विभिन्न प्रकारका एमिनो एसिडको निर्माण गर्छ । डिएनएको दुईवटा त्यान्द्रा एक–अर्कासँग मिल्दा, ए र टी एउटा जोडी बनाएर बस्छन् भने जी र सी अर्को ।

आनुवंशिक रोग
हाम्रो शरीरका कोषाणुको संरचना, काम र नियमनका लागि प्रोटिन आवश्यक जैविक अणु हो । डिएनएमा विशेष प्रोटिन बनाउन सन्देश दिने टुक्रा हुन्छन्, जसलाई जिन भनिन्छ । धागोजसरी बसेका डिएनएमा ‘बेस’ जोडीका लामो शृंखला हुन्छ । पहिले डिएनए एमआरएनएमा रूपान्तरण हुन्छ, जुन प्रोटिन निर्माणका लागि अति आवश्यक तत्व हो ।

कोडोनमा आउने परिवर्तनले कुनै पनि प्राणीमा धेरै फरक ल्याउन सक्छ । उदाहरणका लागि सिकल सेप्ड एनिमिया भन्ने रोग । जिएजी कोडोनमा एको ठाउँमा टी बसेर जिटिजी बन्यो भने यो समस्या हुन्छ ।नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्