Logo
|
Friday 19th April 2024
Logo

epaper

क्यान्सर बिरामीमा बढ्दो डिप्रेसन



वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको पित्तथैलीको क्यान्सरबाट निधन भएको घटनाले क्यान्सर लागेर बाँचेका बिरामीहरुमा डर र त्रासको भ्रम सृजना भएको छ ।

अत्यधिक डिप्रेसनका कारण कतिपयले त ज्यान समेत गुमाएका छन् । नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा क्यान्सर हस्पिटलकी निर्देशक एवं नेपाल क्यान्सर सहयोग समूहकी कार्यकारी सदस्य स्वरुपा श्रेष्ठले अत्यधिक डिप्रेसनका कारण स्तन क्यान्सरको राम्रो उपचार पाएकी ३८ वर्षीय आफ्नो साथीको श्रीमतिको ज्यान गएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो—‘ पित्तथैलीको क्यान्सरबाट डा.उपेन्द्र देवकोटाको ज्यान गएको घटना सुनेपछि उनी यति धेरै डिप्रेसनमा पुगिन कि आखिर उनको ज्यान नै गयो ।’ क्यान्सरको राम्रो उपचार पाएका अरु ४ जना क्यान्सर बिरामीको पनि डिप्रुसनकै कारण ज्यान गएको उहाँले बताउनुभयो ।
सो अवसरमा समूहका उपाध्यक्ष दिलिप भट्टराइले मुलुकमा नै उत्कृष्ठ क्यान्सर उपचार भएका कारण स्तन क्यान्सर चौथो तहमा पुगेकी आफ्नी श्रीमति विगत ९ वर्षदेखि बाँच्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो—डाक्टर सुदिप लगायतका टिमले ३ वर्षपनि नबाँच्ने मेरी श्रीमतिलाई अहिलेसम्म जीवन दिनुभएको छ ।’ त्यसैगरी समूहका सचिव ससांक शर्माले नेपालमा राम्रो उपचार पाएका कारण १६ बर्षदेखि लिम्फोमा क्यान्सरलाई जित्न आफू सफल भएको बताउनुभयो ।
वरिष्ठ क्यान्सर विशेषज्ञ एवं नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष डाक्टर सुदिप श्रेष्ठले क्यान्सरको उपचार सफल भएका बिरामीहरुलाई खुशी रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो—हामी जति दुःखी हुन्छौं त्यति नै डिप्रेसनमा जान्छौं । यसले शरीरमा खराब हर्मोन उत्पादन गर्न मद्धत गर्छ । त्यसपछि बिस्तारै व्यक्तिको ज्यान जाने सम्भावना पनि बढ्दै जान्छ ।’ डा. श्रेष्ठले अस्पतालबाट उपचार पाएर घर गएका बिरामीहरुसँग भएका भ्रम चिर्न क्यान्सर हस्पिटलले हरेक महिना सम्बन्धित बिरामीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम शुरु गर्न लागेको जानकारी दिनुभयो । यसबाट क्यान्सरसम्बन्धि भ्रमबाट मुक्त हुन सहयोग मिल्ने उहाँको भनाइ छ ।


अहिले पुरुषहरुमा पहिलोनम्बरमा फोक्सो, दोस्रोमा पाचन प्रणाली, तेस्रोमा आन्द्रा, चौथोमा नाक, कान, घाँटी र पाँचौमा रगतको क्यान्सर देखिएको छ भने महिलाहरुमा पहिलो फोक्सो, दोस्रोमा पाठेघरको मुख, तेस्रोमा स्तन, चौथोमा पाचन प्रणाली, पाँचौमा हेड एण्ड नेक र ओभरियन क्यान्सर भेटिएको छ । बालबालिकाहरुमा रगतको क्यान्सर अत्यधिक हुने गरेको छ ।

बि.पी. कोइराला मेमोरियल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, बीर हस्पिटल, कान्ति बाल अस्पताल, नेशनल क्यान्सर हस्पिटल, विपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान, मनिपाल मेडिकल कलेजलगायत ९ वटा हस्पिटलमा आएका बिरामीहरुको अध्ययनका आधारमा सो तथ्यांक ल्याइएको हो । क्यान्सर कपाल, दाँत र नङ बाहेक शरीरका जुनसुकै भागमा देखिनसक्छ ।

नेपालमा अहिलेसम्म १ सय ६८ क्यान्सरको पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्