Logo
|
Thursday 28th March 2024
Logo

epaper

सिरहाका स्वास्थ्य केन्द्र ‘कामचलाउ’ स्वास्थ्यकर्मीका भरमा



 नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी) दश महिनादेखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ। मेडिकल अधिकृत दरबन्दी पूर्ति हुन नसक्दा यो स्वास्थ्य केन्द्र ल्याब असिस्टेन्टकै भरमा सञ्चालन गर्नुपरेको हो।

यस स्वाथ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट दोरिकलाल कामैत स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संयोजकको जिम्मेवारी पाएर गाउँपालिकामा गए। उनी गएपछि वरिष्ठताका आधारमा ल्याब असिस्टेन्ट नन्दकिशोर राय(यादव)ले निमित्त प्रमुखको जिम्मेवारी पाए। कामैतको स्थानमा अहिलेसम्म पदपूर्ति हुन सकेको छैन। मेडिकल अधिकृतको दरबन्दी भए पनि अहिलेसम्म उक्त पद रिक्त नै छ । ‘करारमा डा. रितेशराज कर्ण आए पनि उहाँले नियमित सेवा दिन सक्नु भएन । ‘डाक्टर नहुँदा बिरामीहरू भरपर्दाे उपचार सेवाबाट वञ्चित भइरहेका छन्,’ निमित्त प्रमुख रायले नागरिकसँग भने, ‘अहेवहरूबाट कामचलाउ उपचार भइरहेको छ।’

नवराजपुर गाउँपालिकाअन्तर्गत स्वास्थ्य चौकी तामासुइया र स्वास्थ्य चौकी मझौरा पनि कामचलाउ स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भइरहेका छन्। हेल्थ असिस्टेन्ट प्रमुख रहने यी स्वास्थ्य चौकी अहेवकै भरमा चलिरहेका हुन्। भगवानपुर गाउँपालिकाअन्तर्गत एक प्राथमिक स्वास्थ्य केन्द्र र दुईवटा स्वास्थ्य चौकी छन्। मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिस्टेन्ट सुजित झाको भरमा चलिरहेको छ। स्वास्थ्य चौकी नहरा रिगौल अहेव र स्वास्थ्य चौकी इनर्वा सिअहेवका भरमा सञ्चालन भइरहेको छ।

रुघाखोकी र ज्वरोले थलिएका १३ महिने छोरा अमर पासवानलाई जँचाउन प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर आएकी जानकीदेवी पासवान डाक्टर नभइ हेल्थ असिस्टेन्टले उपचार गर्ने थाहा पाएपछि काखे छोरा च्यापेर लहानतिर लागिन्। असन्तुष्टि पोख्दै उनले भनिन्, ‘भवन मात्रै ठूलो छ, उपचार त गाउँघरमा जस्तै रहेछ।’

भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको व्यवस्था गर्न आफूले स्वास्थ्य मन्त्रीसँग भेट्ने लगायतको पहल गरिरहेको बताए।

औरही गाउँपालिकाअन्तर्गत एउटा प्राथमिक स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी छन्। अहेवले धान्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा हालै सिनियर अहेव शिवनारायण साहलाई ल्याइएको स्वास्थ्य सह–संयोजक उपेन्द्र यादवले बताए । मेडिकल अधिकृतको दरबन्दी पूर्ति नहुँदा अहेव र सिनियर अहेवबाट जेनतेन बिरामीको उपचार गर्ने गरिएको छ । यस प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख वरिष्ठ हेल्थ असिस्टेन्ट रामनारायण सिंह वरियारपट्टी गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा गएपछि यस्तो अवस्था आएको स्थानीय बासिन्दा बताउँछन्। यस्तै चारवटा स्वास्थ्य चौकीमध्ये तुलसीपुर स्वास्थ्य चौकी अहेवकै भरमा सञ्चालन भइरहेको छ। हरकट्टी, इँटाटार र पिप्राप्रपी स्वाथ्य चौकी हेल्थ असिस्टेन्टबाट सञ्चालन भइरहेको स्वास्थ्य सह–संयोजक उपेन्द्र यादवले बताए। नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्