Logo
|
Friday 29th March 2024
Logo

epaper

एकतिहाइ महिला कलिलो उमेरमै आमा



हिमाली जिल्ला ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या उल्लेख्य रहेको छ । बढ्दो क्रममा रहेको बाल विवाहसँगै कलिलो उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै गएको हो । एक तथ्याङ्क अनुसार जिल्लामा २० वर्षकै उमेरमा आमा बन्ने ३१ प्रतिशत बढी रहेका छन् ।
जिल्लामा बाल विवाह गर्नेको सङ्ख्या बढेसँगै कलिलो उमेरमा आमा बन्ने अर्थात् सन्तान जन्माउनेको सङ्ख्या बढेको हो । कानुनी व्यवस्था अनुसार विवाह गर्ने न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । बाल विवाह हुने गरेकै कारण कम उमेरमै सन्तान जन्माउनेको सङ्ख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ताप्लेजुङमा २० वर्षको उमेरमा आमा बन्ने वा शिशु जन्माउनेको सङ्ख्या ३१.३८ प्रतिशत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुण्यमणि तिम्सिनाका अनुसार गएको आवमा कुल एक हजार १७२ जनाले शिशु जन्माएका छन् । उक्त सङ्ख्यामध्ये जिल्ला अस्पतालमा सात सय १९ जनाले प्रसूति सेवा लिएको सूचना अधिकारी तिम्सिनाले जानकारी दिनुभयो ।
तिम्सिनाका अनुसार जिल्ला अस्पतालमा प्रसूति सेवा लिएका २२६ महिला २० वर्षभन्दा कम उमेरका रहेका थिए । यस्तै २१ देखि ३४ वर्ष उमेरका ४७१ र ३५ वर्ष माथिका २२ महिलाले जिल्ला अस्पतालबाट प्रसूति सेवा लिएका तिम्सिनाले जानकारी दिनुभयो । बाँकी ४५३ महिलाले भने जिल्ला अस्पताल बाहेकका स्वास्थ्य संस्था मार्फत प्रसूति सेवा लिएका उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल बाहेक ग्रामीण क्षेत्रमा रहेका बर्थिङ सेन्टर (प्रसूति केन्द्र)बाट प्रसूति सेवा लिएका पनि २० वर्षभन्दा कम उमेरका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघिका वर्षमा पनि जिल्लामा २० वर्षभन्दा कम उमेरमा शिशु जन्माउने अर्थात् आमा बन्ने महिलाको सङ्ख्या उल्लेख्य नै रहेको अस्पतालको तथ्याङ्क छ । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका अन्यसमेत जिल्लामा १६ वटा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर हाल सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति लगायतका सङ्घ÷संस्थाले जिल्लामा हुने बाल विवाह र कम उमेरमा शिशु जन्माउने अवस्थालाई न्यूनीकरण गर्न विभिन्न चेतनामूलक कार्यक्रम भने गर्दै आएका छन् । चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि अपेक्षाकृत उपलब्धि नभइराखेको जिल्ला बालकल्याण समिति सदस्यसमेत रहनुभएकी महिला अधिकारकर्मी शान्ता आङ्बुहाङले बताउनुभयो ।
कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको ज्यान जाने उच्च जोखिम रहे पनि चेतनाको अभावसँगै कतिपय गरिबीले गर्दा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने र आमा बन्ने पाइएको आङ्बुहाङको भनाइ छ । उहाँले बाल विवाह नरोकिएसम्म कम उमेरमा आमा बन्नेको सङ्ख्या पनि नघट्ने बताउनुभयो । सरकारले बाल विवाह विरुद्धको अभियान प्रभावकारी रूपमा चलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीले २० वर्षभन्दा कम उमेरका गर्भवती महिलाले जन्माएका शिशु स्वस्थ नहुने र आमाको ज्यान जाने खतरासमेत हुने बताएका छन् । शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माँउदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्ने लगायतका समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्