Logo
|
Friday 19th April 2024
Logo

epaper

अस्पताललार्इ १२ लाख बुझाएर चिन्ताजनक अवस्थामा घर लगियो बिरामी



अस्पताललार्इ १२ लाख बुझाएर चिन्ताजनक अवस्थामा घर लगियो बिरामी
  उपचार खर्चबापत ११ लाख ८७ हजार रुपैयाँ तिरेपछि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले बिरामीलाई घर लैजान दिएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचाररत इलामको रोङ गाउँपालिका–४ का ३३ वर्षीय अरुण तामाङलाई मंगलबार उनका आफन्तले घर लगेका हुन् । उपचारको १० लाख र औषधिबापतको १ लाख ८७ हजार रुपैयाँ बुझाए पनि अस्पतालले पूर्ण उपचारबिनै चिन्ताजनक अवस्थामा घर पठाएको जनाइएको छ ।

अस्पतालले सोमबार उपचार खर्चबापत १६ लाखको हिसाब दिएपछि उनका आफन्त आत्तिएका थिए । उनीहरूले मंगलबार जसोतसो पैसाको बन्दोबस्त गरेपछि अस्पतालले अरू १५–२० दिन उपचार गराउँदा सुधार हुन सक्ने बताएको थियो । तर, दैनिकजसो १ लाख रुपैयाँ अस्पताललाई बुझाउन सक्ने हैसियत नभएकाले नाजुक अवस्थामै घर फिर्ता गर्नुपरेको घाइतेका भाइ उमेशले बताए ।

झापाबाट इलाम जाने क्रममा यही साउन १३ गते इलामको बर्नेमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा अरुण घाइते भएका थिए । उनलाई सोही दिन बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियोे । अस्पतालले १६ दिनपछि ‘पैसा अब छिटो तिर्नू नत्र उपचार हुँदैन’ भनेपछि बिरामी नराख्ने सोच बनाएको उमेशले सुनाए ।

उनका अनुसार अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंसहित चिकित्सकसित मंगलबार छलफल हुँदा उपचार खर्चमा सहमति भएको हो । पैसा तिर्ने उपाय नभएको र बिरामीको स्वास्थ्य अवस्थामा पनि सुधार नभएकाले अस्पतालबाट लैजान बाध्य हुनुपरेको गुनासो उनले गरे ।  अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्