Logo
|
Thursday 28th March 2024
Logo

epaper

विषादीयुक्त पानी पिउँदा विद्यार्थी सिकिस्त



मोरङको लेटाङ–९ स्थित श्री माध्यमिक विद्यालयको पानी ट्याङ्कीमा रहेको विषादीयुक्त पानी पिउने थप तीन विद्यार्थीलाई बिहीबार अस्पताल भर्ना गरिएको छ । बिहीबार अस्पताल भर्ना भएका विद्यार्थीमा कक्षा ५ की सिर्जना निरौला, कक्षा ७ की प्रतिमा लिम्बू र कक्षा ३ का चेतन खड्का रहेका छन् ।
निरौलालाई विराटनगरस्थित लाइफ गार्ड अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ भने लिम्बू र खड्कालाई नोबेल मेडिकल कलेज अस्पतालमा भर्ना गरी उपचार थालिएको छ । बिहानैदेखि बान्ता गर्ने, रिङ्गटा लाग्ने सङ्केत देखिएपछि उनीहरूलाई अस्पताल पठाइएको शिक्षक खगेन्द्रराज खतिवडाले बताउनुभयो । मङ्गलबार भर्ना भएका चार विद्यार्थीको स्वास्थ्यमा अझै सुधार आएको छैन ।
प्रहरीले विद्यालयको पानी ट्याङ्कीमा विष हालेर विद्यार्थीको ज्यान लिन खोज्नेलाई अझै पक्राउ गर्न सकेको छैन । गत मङ्गलबार पानी ट्याङ्कीको पानी पिउँदा त्यहाँ अध्ययनरत २६ विद्यार्थी बिरामी परेका थिए । २२ विद्यार्थी मङ्गलबारे अस्पतालले सामान्य उपचारपछि घर फर्किएका थिए । उपचार गरी घर फर्किएकामध्ये तीन विद्यार्थी गम्भीर बिरामी भएपछि बिहीबार उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । विद्यार्थीले पानी पिउँदा विषको गन्ध आएपछि शिक्षकले पानीट्याङ्की चेक गर्दा विषको बट्टा भेटिएको थियो । यसैबीच लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले विद्यालयका विद्यार्थीले पिउने पानीको ट्याङ्कीमा विषादी हाल्ने अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ ।
प्रहरी र प्रशासन र स्थानीय निकायले घटनाको निन्दा र भत्र्सना गर्ने बाहेक केही गर्न नसकेको अभिभावकको गुनासो छ । खानेपानीमा विष हाल्ने को हो ? ४९१ विद्यार्थीको ज्यान माथि खेलवाड गर्नेलाई कुनै पनि अवस्थामा उन्मुक्ति दिन नहुने उनीहरूको भनाइ छ । अभिभावकले घटना भएको तीन दिन भइसक्दा पनि दोषी पत्ता नलाग्दा अनुसन्धान फितलो देखिएको आरोपसमेत लगाएका छन् ।
अभिभावकले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न इलाका प्रहरी कार्यालय लेटाङमा दबाब दिए पनि हालसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडा घटनाका बारेमा अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो दोषी पत्ता लगाई सार्वजनिक गर्ने बताउनुभएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्