Logo
|
Thursday 28th March 2024
Logo

epaper

दैलेखको एकै गाउँका ५२ एकल महिलामा एचआइभी संक्रमण



श्रीमान्को नासो : मृत्युको पर्खाइ

पश्चिम दैलेखको राकम कर्णालीकी धर्मा बडुवाल गाउँभन्दा टाढा पुगेकी छैनन् । उनका श्रीमान् कामका लागि भारत गएका थिए, बिरामी भएर फर्किए । उपचार गर्दागर्दै उनको मृत्यु भयो । ‘एचआइभी संक्रमणले मृत्यु भएको रहेछ,’ बडुवालले भनिन्, ‘उहाँले भारतबाट ल्याएको त्यही नासोका कारण म पनि मृत्यु कुरिरहेकी छु ।’

खेतबारी पर्याप्त छैन, बाख्रा पालेर दैनिकी चलाइरहेकी उनले छोराछोरीको पालनपोषणमा समस्या भएको बताइन् । उनी एचआइभीविरुद्धको औषधि एआरटी खाइरहेकी छिन् । एआरटीले रोग निको नहुने भए पनि आयु लम्ब्याउँछ भन्ने उनलाई पनि थाहा छ । ‘परिवारको गुजारा चलाउन सहयोग पाए हुन्थ्यो,’ उनले भनिन् ।

राकम कर्णालीकै तुलसा माझीको पनि उस्तै समस्या छ । उनका श्रीमान् पनि रोजगारीका लागि भारत गएका थिए । उहीँबाट एचआइभी बोकेर आए । श्रीमान् गुमाएकी उनी पनि एचआइभी संक्रमित भएकी छिन् । ‘गाउँमा हेला त गर्छन् तर, हाम्रो गल्ती होइन । अरूको गल्तीमा किन पिर मान्नु,’ माझीले भनिन्, ‘गाउँलेको हेलाविरुद्ध बोल्न सबै एकजुट भएका छौँ ।’

यसरी संगठिन भएका ५२ एकल महिला छन् । सबैका श्रीमान् एचआइभीको कारण मृत्यु भएको माझीले बताइन् । राकम कर्णाली स्वास्थ्य केन्द्रका अनुसार, यो क्षेत्रमा एक सय ८६ जना एचआइभी संक्रमित छन् । जसमा एक सय ५० जनाले एआरटी लिइरहेका छन् ।

यहाँका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गरेका छन् । उनीहरू फर्किँदा एचाआइभी बोकेर आउने गरेका छन् ।

संक्रमितलाई भत्ता
संक्रमितले एआरटीसँगै पौष्टिक आहार पनि खानुपर्छ । त्यसका लागि उनीहरूले आठविस नगरपालिकालाई अनुरोध गरेका थिए । ‘पोषिलो खानेकुराका लागि सहयोग पुगोस् भनेर मासिक पाँच सय रुपैयाँका दरले संक्रमितलाई भत्ता दिने व्यवस्था गरेका छौँ,’ नगरपालिकाका मेयर खड्कराज उपाध्यायले भने । उनीहरूलाई स्थानीयस्तरमै रोजगारी र व्यवसाय गर्नका लागि सघाउने कार्यक्रम ल्याइने मेयर खड्काले बताए ।

आन्दोलनले गाउँमै एआरटी
यहाँका संक्रमित महिला एआरटी लिन दैलेख सदरमुकाम र सुर्खेतको वीरेन्द्रनगर पुग्ने गर्थे । त्यहाँ पुग्न समस्या हुन थालेपछि उनीहरूले आन्दोलन गरे । ‘हामीले एकजुट भएर आन्दोलन गरेपछि अहिले स्वास्थ्य केन्द्रबाटै औषधि पाइन थालेको छ,’ माझीले भनिन् । उनीहरूलाई नियमित रूपमा गाउँकै स्वास्थ्य केन्द्रबाट एआरटी र आवश्यक उपचारको व्यवस्था गरिएको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्