Logo
|
Thursday 25th April 2024
Logo

epaper

बालविवाहको आरोपबाट जोगिन उमेर बढाउँदै अभिभावक



बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाकी पूजा यादवको गत फागुनमा भारतको जमुनहास्थित दरबसवाका युवकसँग बिहे भयो । १८ वर्ष उमेर पुगेको भनेर बिहे गरिएको भए पनि उनको उमेर साढे १४ वर्ष मात्रै भएको फेला प-यो ।

‘१८ वर्षभन्दा कम उमेरमा बिहे गर्दा कारबाही हुन्छ भन्ने सुनेकाले बढाएको हो,’ पूजाले भनिन् । पूजाजस्तै अन्य बालबालिकाको पनि उमेर बढाएर बिहे गर्ने गरेको खुलेको छ । कारबाही हुने डरले अभिभावकले नै उमेर बढाउने गरेको विवाह भएका बालबालिकाले बताएका छन् ।

उनीहरूले स्थानीय तहबाट उमेर बढाएर जन्मदर्ता प्रमाणपत्र लग्ने गरेका छन् । बालविवाह गरेको आरोपबाट जोगिन अभिभावकले उमेर बढाएर जन्मदर्ताको प्रमाणपत्र लग्ने गरेको जनप्रतिनिधि पनि स्विकार्छन् । ‘बालविवाह गरे–गराए कारबाही हुने बुझेपछि अभिभावकले छोराछोरीको उमेर बढाएर जन्मदर्ता प्रमाणपत्र बनाउने प्रचलन बढेको छ,’ डुडुवा गाउँपालिका–२ का वडाध्यक्ष गजेन्द्रप्रसाद कैरातीले भने ।

१३ महिनामा २५ बालविवाह रोकिए
गत १३ महिनामा उमेर बढाएर बिहे गर्न लागेका २५ बालविवाह रोकिएका छन् । तत्कालीन महिला तथा बालबालिका कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालयले साउन महिनामा मात्रै पाँच बालविवाह रोकेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा २० वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक श्यामकुमारी मगरले बताइन् । सूचनाका आधारमा उनीहरूको बिहे रोकिएको उनको भनाइ छ ।

गाउँमा बालविवाह यथावत्
बाँकेको ग्रामीण भेगका बासिन्दाले अहिले पनि लुकिछिपी बालविवाह गर्दै आएको उनले बताइन् । ‘ग्रामीण भेगमा अहिले पनि बालविवाहको अवस्था भयावह छ,’ उनले भनिन् ।

गत वर्ष बालविवाहविरुद्ध जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुईवटा उजुरी परेका थिए । त्यस्तै, जिल्ला अदालतमा पनि बालविवाहविरुद्ध तीन मुद्दा दर्ता भएको निमित्त स्रेस्तेदार धनसिंह गिरीले बताए ।

महिला तथा बालबालिका समन्वय कार्यालयका बालअधिकार स्रोतव्यक्ति भीम अवस्थीले ग्रामीण भेगमा बालविवाहको यथावत् रहेको बताए । ‘बालविवाहमा थोरै कमी आएको त छ, तर सन्तोषजनक छैन । कारबाही हुने डरले लुकिछिपी विवाह गर्ने प्रचलन बढेको छ,’ अवस्थीले भने । बाँकेको डुडुवा गाउँपालिका–२ का वडाध्यक्ष गजेन्द्रप्रसाद कैरातीले वडामा १० प्रतिशत बालविवाह हुने गरेको बताए ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्