Logo
|
Thursday 18th April 2024
Logo

epaper

क्यान्सर जित्न चाहिन्छ ‘आत्मविश्वास र साहस’ (फोटोफिचरसहित)



ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले ‘क्यान्सर सर्भाइभरसिप इभेन्ट’ को आयोजना गरी क्यान्सर रोग निको भएर बाँचिरहेका बिरामीहरुलाई आत्मविश्वास र साहसका साथ आफ्नो दिनचर्यालाई निरन्तरता दिन आग्रह गरेको छ ।

क्यान्सरको सफल उपचारपछि निको भएर सामान्य जीवनयापन गरिरहेका बिरामीहरुको मनोजिज्ञासा मेटाउन आयोजना गरिएको सो इभेन्टमा क्यान्सर निको भएका करिब ५ दर्जनभन्दा बढी महिला पुरुषहरुको सहभागिता रहेको थियो ।

उहाँहरुको आफन्तहरुको समेत उपस्थितिले हलमा खचाखच देखिन्थ्यो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सर विरुद्ध लड्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो । सुरुको अवस्थामा क्यान्सरको पहिचान भएर सही उपचार प्राप्त गरेमा धेरैजसो क्यान्सर पूर्ण रुपमा निको हुने उहाँको भनाइ थियो । क्यान्सर निको भएका बिरामीहरुलाई मनोसामाजिक रुपमा हरेकपल खुशी रहन डा. श्रेष्ठले आग्रह गर्नुभयो । ‘हामीले चाहेर रोग लागेको होइन, जो कसैले पनि क्यान्सरको सम्भावना बोकेको हुनाले सहज र सचेत हुनुपर्छ ।’—डा. श्रेष्ठले भन्नुभयो—‘अब तपाईंहरु निर्धक्क हुनुस्, कुनै पनि मनोपरामर्श आवश्यक परेमा तपाईंहरुसमक्ष हामी हाजिर छौं ।’
सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ कन्सल्टेन्ट अंकोलोजिष्ट डा. बिजेश राज घिमिरेले ‘क्यान्सरदेखि डराउने होइन, बेलैमा स्क्रिनिङ गरेर निको पार्नुपर्छ’ भन्नुभयो । ‘आत्मविश्वास र साहसले क्यान्सरलाई जित्न सकिन्छ’ —डा. घिमिरेले भन्नुभयो—‘क्यान्सर विरुद्ध लड्न जनचेतनाको निकै जरुरी छ ।’
सो अवसरमा ‘क्यान्सर सर्भाइभरसिप इभेन्ट’ की संयोजक एवं क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले हरेक महिना यस प्रकारको कार्यक्रमको आयोजना गरी क्यान्सर जित्नेहरुलाई मनोपरामर्श दिने अभियानमा हस्पिटल जुटेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष प्राध्यापक तारा पोख्रेलले आफूलाई २ वर्षअघि स्तन क्यान्सर भएपनि समयमा उपचार पाएकाले पूर्ण रुपमा निको भएको बताउनुभयो । अहिले आफू सामान्य जनजीवनमा फर्किसकेको उल्लेख गर्दै रोग पालेर नबस्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल क्यान्सर सपोर्ट समूहका उपाध्यक्ष दिलिप भट्टराइले मुलुकमा नै उत्कृष्ठ क्यान्सर उपचार भएका कारण स्तन क्यान्सर चौथो तहमा पुगेकी आफ्नी श्रीमति विगत ९ वर्षदेखि बाँच्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो—डाक्टर सुदिप, डा. विजेशराज लगायतका टिमले ३ वर्षपनि नबाँच्ने मेरी श्रीमतिलाई अहिलेसम्म जीवन दिनुभएको छ ।’

त्यसैगरी समूहका सचिव ससांक शर्माले नेपालमा राम्रो उपचार पाएका कारण १६ बर्षदेखि लिम्फोमा क्यान्सरलाई जित्न आफू सफल भएको बताउनुभयो ।
अहिले पुरुषहरुमा पहिलोनम्बरमा फोक्सो, दोस्रोमा पाचन प्रणाली, तेस्रोमा आन्द्रा, चौथोमा नाक, कान, घाँटी र पाँचौमा रगतको क्यान्सर देखिएको छ भने महिलाहरुमा पहिलो फोक्सो, दोस्रोमा पाठेघरको मुख, तेस्रोमा स्तन, चौथोमा पाचन प्रणाली, पाँचौमा हेड एण्ड नेक र ओभरियन क्यान्सर भेटिएको छ । बालबालिकाहरुमा रगतको क्यान्सर अत्यधिक हुने गरेको छ ।
बि.पी. कोइराला मेमोरियल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, बीर हस्पिटल, कान्ति बाल अस्पताल, नेशनल क्यान्सर हस्पिटल, विपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान, मनिपाल मेडिकल कलेजलगायत ९ वटा हस्पिटलमा आएका बिरामीहरुको अध्ययनका आधारमा सो तथ्यांक ल्याइएको हो । क्यान्सर कपाल, दाँत र नङ बाहेक शरीरका जुनसुकै भागमा देखिनसक्छ ।
नेपालमा अहिलेसम्म १ सय ६८ क्यान्सरको पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्