Logo
|
Friday 29th March 2024
Logo

epaper

टेलिमेडिसिनले जोगायो ज्यान



हिमाली जिल्लाको अस्पतालमा भर्ना भएका जटिल अवस्थाका एक बिरामीको टेलिमेडिसिन पद्धतिबाट शल्यक्रिया सम्भव भएपछि ज्यान जोगिएको छ ।

उनको अवस्था जटिल भएकाले टेलिमेडिसिन प्रविधि प्रयोग गरी आकस्मिक शल्यक्रिया गरिएको प्रमुख विशेषज्ञ डा. विनोद दंगालले बताए । शल्यक्रियाको भोलिपल्टै तन्दुरुस्त देखिएका भीमेश्वर नगरपालिका–२ का उनले करिब तीन महिनादेखि खेप्दै आएको दुख्ने, पोल्ने समस्या एकैदिनमा ठीक भएकोमा खुसी व्यक्त गरे ।७० वर्षे पुरुषले सरसफाइमा हेलचेक्र्याइँ गर्दा फैलिएको ‘गुप्त अंग’ क्यान्सरको चरिकोट अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले दैनिक १५ वटा शल्यक्रिया गर्छ, जसमध्ये दुईदेखि तीनवटा जटिल प्रकृतिका हुने गरेका छन् ।

क्यान्सरको चरणमा पुगेपछि अस्पताल आएका उनको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने स्थिति थियो । डा. दंगालले विशेषज्ञ डा. उदय कोइरालाको टेलिमेडिसिन निर्देशनमा तत्काल बिरामीलाई जोखिममुक्त बनाउन जटिल र विशेषज्ञ शल्यक्रिया (युरो सर्जरी) सम्भव भएको बताए । अनलाइन भिडियो कन्फरेन्समार्फत दोहोरो संवाद गर्दै उनको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा न्याय हेल्थले व्यवस्थापन गरिरहेको उक्त अस्पतालमा दैनिक तीन सय जनाले नि:शुल्क जचाउँछन् । औषधि र शय्या तथा बिरामीको खाना पनि नि:शुल्क छ । अन्यत्र करिब एक लाख रुपैयाँ लाग्ने ‘पिनेक्टोमी’ शल्यक्रिया नि:शुल्क पाएका उनी निकै हर्षित छन् । ‘थाहा थिएन, यति सजिलै पैसा नतिरी रोग निको हुन्छ भनेर,’ उनले भने ।

पैसाको समस्या र लाजले उनी निकै दिन रोग लुकाएर बसे । पछि गुप्तांगबाट रगत चुहिन थालेपछि छोराले थाहा पाए । ‘पुरै गन्हाउन थालेपछि ननुहाएर होला भन्ने ठान्यौं । पछि थाहा भो, अंग त पुरै कुहिसकेको रहेछ,’ छोराले भने ।

उक्त अस्पतालले साताको एकपटक दुई घण्टा वीर, पाटन, महाराजगन्जस्थित टिचिङ, मोडेल, धुलिखेल, धरान, बीपी मेमोरियल क्यान्सर र अछामको बयलपाटा अस्पतालबीच टेलिमेडिसिन प्रविधिअन्तर्गत छलफल गर्छ । विशेषज्ञ डाक्टरसँग जटिल बिरामीबारे अनलाइनमार्फत रेखदेख र संवाद हुन्छ ।

शल्यक्रिया गर्दा पनि सबैले प्रत्यक्ष अगाडि बसेर हेरेजसरी छलफल र निर्देशन गरिन्छ । काठमाडौंस्थित नेपाल रिसर्च एजुकेसन नेटवर्कको सहयोगमा एक वर्षदेखि टेलिमेडिसिन सेवा सञ्चालन भएको हो । स्तन, पाठेघर र हाडसम्बन्धी क्यान्सरका बिरामीको समेत शल्यक्रिया गरिसकेको अस्पतालका चिकित्सक टेलिमेडिसिनकै कारण यो क्षेत्रमा काम गर्न थप मनोबल बढाएको बताउँछन् ।

शल्यक्रियामा डा. विनोद दंगालको नेतृत्वमा डा. अमित शर्मा, नर्स खेमा स्वाँर र सुनील यादव सहभागी रहेको अस्पतालले जनाएको छ । कान्तिपुरदैनिकबाट 

प्रतिक्रिया दिनुहोस्