Logo
|
Friday 29th March 2024
Logo

epaper

के कस्मेटिक सर्जरी गर्दै हुनुहुन्छ ?



ब्रिटिस एसोसिएसन अफ अस्थेटिक प्लास्टिक सर्जन्सको तथ्यांकअनुसार प्लास्टिक सर्जरी गर्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दो छ । शरीरमा गर्ने यस्ता सर्जरी थुप्रै प्रकारका हुन्छन् । जसमध्ये सिलिकनको प्रयोग गरी ब्रेस्ट, हिप आकर्षक बनाउने र अनुहारको कस्मेटिक सर्जरी सबैभन्दा बढी हुन्छ । यस्तो सर्जरी कतिका लागि वरदान साबित हुन्छ भने कतिका लागि गलत निर्णय पनि बन्न सक्छ । त्यसैले यस्तो सर्जरीबाट राम्रो परिणाम निकाल्न जोखिमबाट बच्नुका साथै अनुभवी कस्मेटिक सर्जनको सहायता लिनुपर्छ । यी हुन् विभिन्न कस्मेटिक सर्जरी र तिनका जोखिम तथा सावधानी :

राइनोप्लास्टी :
नाकको सुन्दरताका लागि
नाकलाई सही आकार दिन या सुन्दर बनाउन यो कस्मेटिक सर्जरी गरिन्छ । अनुहारको अनुपातमा नाक ठूलो वा सानो भएमा, बढी लामो वा थेप्चो भएमा राइनोप्लास्टी सर्जरी गरी नाकलाई अनुहार सुहाउने बनाइन्छ । यस्तो प्रकृतिको सर्जरी गर्दा ३ देखि ४ घन्टासम्मको समय लाग्छ । कतिपय अवस्थामा एक–दुई दिनसम्म अस्पतालमै बस्नुपर्ने पनि हुन सक्छ । एक्सपर्टका अनुसार २० वर्षको उमेरदेखि यस्तो खालको कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

सावधानी
यस्तो सर्जरीपछि घाममा हिँड्नबाट बच्नुपर्छ । कम्तीमा चार घन्टा आरामको जरुरी हुन्छ । सुत्ने समयमा पनि सावधानी अपनाउनुपर्छ । जहिले पनि आकाशतर्फ फर्केर सुत्नुपर्छ र नाकको साटो मुखबाट श्वासप्रश्वास गर्दा राम्रो हुन्छ । गह्रौँ सामान उठाउने वेला भने बडो सचेत हुनुपर्छ ।

जोखिम
यस्तो जर्सरी गरेको चार हप्तापछि स्थिति सामान्यीकरण हुँदै जान्छ । तर, कुनै–कुनै अवस्थामा सुन्निएको नाक निको हुन अलि लामो समय पनि लाग्न सक्छ । सर्जरीको दाग पनि नरहला भन्न सकिँदैन । र, ब्लिडिङ पनि हुन सक्छ ।

फेसलिफ्ट : अनुहारको चाउरी हटाउनका लागि 
फेसलिफ्ट सर्जरी अनुहारको चाउरीपन हटाउनका लागि गरिन्छ । यस्तो सर्जरी गर्दा २ देखि ३ घन्टासम्मको समय लाग्ने गर्छ । यस्तो सर्जरीले करिब ८ देखि १० वर्षसम्म प्रभावकारी रूपमा काम गर्छ । यस्तो सर्जरी गर्दा आँखाको छेउ र मुखको छेउछाउका छालालाई टाइट गरिन्छ ।
सावधानी
यस्तो सर्जरीपछि झुकेर कुनै पनि काम गर्नुहुँदैन । अत्यधिक तौल उठाउने कामबाट पनि बच्न जरुरी हुन्छ । यसो गर्दा अनुहारको छाला च्यातिन पनि सक्छ । यस्ता मानिसले केही समयसम्म वर्कआउट पनि गर्नुहुँदैन ।

जोखिम
यस्तो सर्जरीले अनुहार सुन्निन सक्छ । कतिपय अवस्थामा ब्लिडिङ र इन्फेक्सनको समेत खतरा हुन्छ । दुख्न पनि सक्छ ।

ब्लेफारोप्लास्टी :
आइब्रोका लागि
बढी मात्रामा महिलाले यस्तो प्रकृतिको सर्जरी गर्छन् । यस्तो सर्जरीले जवान देखिन मद्दत गर्छ । यस्तो सर्जरीमा अनुहारको आकार पनि ठीक गरिन्छ ।

सावधानी
जुन ठाउँमा सर्जरी गरिएको छ, उक्त ठाउँमा छुनु र रगेड्नु हुँदैन । सकेसम्म घामको किरणबाट आफू बच्नुपर्छ र सर्जरी गरिएको भागलाई पनि बचाउनुपर्छ । यस्तो सर्जरीपछि कम्तीमा दुई हप्तासम्म लेन्सको प्रयोग गर्नुहुँदैन ।

जोखिम
यसका लागि सूर्यको किरण निकै सेन्सेटिभ हुन सक्छ । यसका साथै आँखा सुक्खा हुने समस्या पनि निम्तिन सक्छ । यसबारे भने सचेत हुनुपर्छ ।

ब्रेस्ट इन्हान्समेन्ट : ब्रेस्ट आकर्षक बनाउनका लागि
यो सर्जरी ब्रेस्ट एग्मेन्टेसन या बुब्सलाई आकर्षक बनाउन गरिन्छ । यसका माध्यमबाट ब्रेस्ट टाइट गर्ने र ठूलो र आकर्षक बनाउने गरिन्छ । यस्तो सर्जरीका लागि अनेक तरिका अपनाइन्छ । यसमा फरक–फरक तरिकाको इन्प्लान्ट्स, सिलिकन या स्यालाइन या फ्याटको प्रयोग गरिन्छ । यस्तो सर्जरी २ देखि ३ घन्टाको अवधिमा सम्पन्न गरिन्छ ।

लिपोसक्सन : शरीरको खास भागको मोटोपन घटाउन
शरीरका कुनै भाग, जस्तो कि हात, हिप, कम्मरलगायत ठाउँका अत्यधिक बोसो हटाउन यस्तो प्रकारको सर्जरी गरिन्छ । कतिपय पुरुषलाई सुतनाईमा समस्या भएको छ भने पनि त्यस्ता भागलाई मेन्टेन गर्न सर्जरीको सहायता लिइन्छ । शरीरमा भएको एक्स्ट्रा फ्याट या मासु हटाएर फिगरलाई आकर्षक सेप दिन यो सर्जरी गरिन्छ ।

सावधानी
यस्तो सर्जरीपछि अत्यधिक आरामको आवश्यकता हुन्छ । शरीरलाई बढी हलचल गर्नबाट पनि बच्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार कुनै पनि व्यायाम गर्नुहुँदैन । र, शरीरमा पानीको कमी हुन दिनुहुँदैन ।

जोखिम
यस्तो सर्जरीपछि शरीर सुन्निने गर्छ र यसरी सुन्निएको शरीर ठीक हुनका लागि एकदेखि डेढ महिना समय लाग्न सक्छ । कतिपय अवस्थामा छाला झोल्लिन पनि सक्छ । ब्लिडिङको सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो सर्जरीपछि दुख्न पनि सक्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्