Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्सकको आन्दोलनले बिरामी मारमा



सुनसरीदेखि राजधानीमा थप उपचारका लागि आइपुगेकी ४५ वर्षीया सुधमा देवी आइतबार उपचार नगरी फर्कनु पर्‍यो । थापाथलीस्थित प्रसूति गृह पुगेकी उनले टोकन पाइनन् ।

पाठेघर सम्बन्धी गम्भीर समस्या भोगिरहेकी सुधमा बेस्सरी ढाड दुख्ने, पाठेघरबाट गन्हाउने पानी र रगत बग्ने समस्या भोग्दै आइरहेकी छन्। उनले भनिन्, ‘गाउँमा मात्रै उपचार गाह्रो होला भनेको यता पनि यस्तै रैछ, काठमाडौंमा बस्ने ठाउँ पनि छैन।’ उनी निराश देखिन्थिन्। पाँच घण्टासम्म प्रतिक्षा गर्दा कुनै चिकित्सक नआएपछि उपचार नगरी उनी अस्पतालबाट बाहिरिन्।

नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसँग सम्बन्धित व्यवस्था संशोधन गर्न माग गर्दै देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु विचल्लीमा परेका छन्। चिकित्सकहरुको आन्दोलनका कारण राजधानीका अधिकांश सरकारी अस्पताल प्रभावित भएका छन्।

बिरामीहरु उपचारबिनै फर्किन बाध्य भएका छन्। स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सकहरू माइतीघर मण्डलामा एप्रोनसहित विरोध प्रदर्शनमा उत्रिएका छन्।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार ओपिडीको एउटा पनि टिकट काटिएन। काउन्टर बन्द भएपछि सेवा पनि ठप्प भयो। फलोअप र ओपिडीका बिरामी उपचारबिनै फर्किए भने शल्यक्रिया समेत प्रभावित भयो। आकस्मिक बाहेक लामो समयदेखि शल्यक्रियाका लागि पर्खिएका बिरामीको शल्यक्रिया समेत रद्द भयो।

पालो पर्खेर बसेका पित्तथैली, मृगौलाका बिरामी र गर्भवतीको शल्यक्रिया भएन। आइतबार शल्यक्रिया गर्ने भनेर तयारी अवस्थामा राखिएका बिरामी अस्पताल बेडमा अलपत्र छन्।

बेड चार्ज मात्रै बढेको र अस्पताल बसाई लम्बिएकोमा उनीहरू थप चिन्तित अनि आक्रोसित छन्। टाढाबाट आएका भर्नारत बिरामी आत्तिएका छन्। अस्पतालका वरिष्ठ मेडिकल रेर्कडर कुमार केसीले भने, ‘ शल्यक्रियाका लागि औषधी दिएर ठिक्क पारिएका बिरामीको उपचार भएन, रोकिएको शल्यक्रिया कहिले हुने हो थाहा छैन।’

वीर अस्पतालमा पनि आइतबार बिहानैबाट प्रभावित भयो। ओपिडी टिकट काउन्टर खुल्दै खुलेन। डाक्टरहरु उपचार कक्षमा बसेनन्। बिरामीले उपचारका लागि घण्टौ प्रतिक्षा गरे। टिकट नपाइएकोबारे उनीहरू अनभिज्ञ थिए।

दिउँसोसम्म अस्पताल परिसरमा अलमल गरिरहे। अघिपछि बिरामीको भीड लाग्ने अस्पताल दिउँसोदेखि सुनसान देखियो। अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने, ‘आफ्नो प्रतिरक्षाका लागि चिकित्सक आन्दोलनमा उत्रिन बाध्य छन्, बिरामी अप्ठेरोमा छन्, सरकारले सक्दो चाँडो समस्या समाधान गरिदियोस्।’

प्रसूति गृहमा पनि बिहानैदेखि बिरामीले टोकन पाएनन्। प्रशासन प्रमुख रानु थापाले भनिन्, ‘हाम्रो अस्पतालको वार्षिकोत्सव कार्यक्रम भएकाले काउन्टर बन्द गरेका हौँ, सकेसम्म अस्पतालमा आन्दोलनको प्रभाव पर्न दिदैनौँ, भोलिदेखि काउन्टर खुल्छ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने आन्दोलनको खासै असर देखिएन। बिरामीको चाप भने अघिपछिभन्दा कम देखियो। आएका जति सबैले सेवा पाएको अस्पतालका प्रशासन प्रमुख रुप नारायण खतिवडाले बताए । कान्तिपुरदैनिक

प्रतिक्रिया दिनुहोस्