Logo
|
Thursday 25th April 2024
Logo

epaper

अर्थोपेडिकका चेन्जमेकर प्रा.डा. अशोक बाँस्कोटा



  प्रा.डा. अशोक बाँस्कोटा , पायनियर अर्थोपेडिक सर्जन, बि एण्ड बि हस्पिटल 

प्रा.डा. अशोक बाँस्कोटा पायनियर अर्थोपेडिक सर्जनको रुपमा परिचित हुनुहुन्छ । अर्थोपेडिक सर्जरीको क्षेत्रमा उहाँको ४ दशक भन्दा बढीको अनुभव छ । अर्थोपेडिक सर्जरीको अध्यापन र अभ्यासबाट हजारौंले लाभ लिन सफल भएका छन् । उमेरले ६९ वर्षमा पुगिसक्दा पनि उहाँ आफ्नो काममा त्यत्तिकै सक्रिय र व्यस्त हुनुहुन्छ । यस अंकको हेल्थ टकमा डा. बास्कोटासँग गरिएको कुराकानी उहाँकै शब्दमा :

दिन चर्या कसरी बित्दै छ ?
हरेक दिन बिहान सबेरै उठ्छु, छोटकरी व्यायाम गर्छु । हप्ताको सातै दिन काम गर्ने नियमित कार्यतालिका बनाएको छु । त्यसैले आफ्नो पेशा र काम प्रति पूरै अक्युपाइट छु । यसका साथै आफ्नो स्प्रिच्युअल लाइफ (अध्यात्मिक जीवन) मा पनि दृढतापूर्वक समय बिताइरहेको छु ।

आफ्नो अनुपस्थितिमा बिरामीलाई अत्याधुनिक उपचार सेवा दिन कस्तो टिमवर्क छ ?
राम्रो उपचार पाएपछि उपचार गर्ने डाक्टरलाई बिरामीले मन पराउनु स्वभाविक कुरा नै हो । यसमा म आफुलाई भाग्यमानी ठान्दछु । काम सुरु गरेदेखि कहिल्यै पनि मलाई कामको कमी भएन ।
एक जनाले मात्र सबै काम भ्याउन नसक्ने भएकाले मैले सुरुदेखि नै टिमको डेभलभमेन्ट गर्दै आएको छु । म सँग काम गर्ने डाक्टरहरु कम्पिटेन्ट छन् । बढेको कामको भोल्युमलाई एकोमेडेट गर्न उनीहरुलाई प्लेटफर्ममा इन्गेज गराएको छु । मेरो डिपार्टमेन्टमा मात्र अहिले १९ जना अर्थोपेडिक सर्जन हुनुहुन्छ । आ–आफ्नो इच्छा अनुसारको सिपमा सबै अब्बल हुनुहुन्छ । हामीले सरल तथा धेरै जटिल किसिमका बिरामीहरुलाई उपचार सेवा दिने एउटा राम्रो प्ल्याटफर्म बनाएका छौँ । बिरामीको राम्रो उपचारमा एउटा सिस्टमको विकास भइसकेको छ । म नभएको खण्डमा पनि टिमका अन्य डाक्टरहरुले मैले भन्दा राम्रो सेवा दिन सक्नुहुन्छ ।
हामीसँग हाडजोर्नीसम्बन्धि जनरल सर्भिसदेखि ट्रमा अन्तर्गत सबस्पेशलाइज स्पाइन, स्पोर्टस् मेडिसिन, ह्यान्ड सर्भिस, पेडियाट्रिक अर्थोपेडिक, आर्थोप्लाष्टिक लगायतमा धेरै सेवा दिने राम्रो टिम छ । यससँग सम्बन्धित जटिल शल्यक्रिया सेवाका लागि सम्बन्धित डाक्टरहरु सक्षम हुनुहन्छ । रुटिन काम बाहेक अन्य जटिल किसिमका उपचार सेवा दिने हाम्रो टिमको क्षमता छ । उहाँहरुको तालिम र अनुभवले यो सम्भव तुल्याएको हो ।

 

‘‘निजी क्षेत्र होस् वा सरकारी जहाँबाट भएपनि जीवन मरणको दोसाँधमा पुगेका बिरामीलाई उपचार गरेर सामान्य जीवनमा  फर्काउनसक्नु एउटा अर्थोपेडिक सर्जनको सफलता ठान्नुपर्छ ।’’

 

यहाँले आफूलाई कसरी देख्नुभएको छ ?
म आफूले आफैँलाई त त्यस्तो महत्वपूर्ण ठाँन्दिन । मैले नेपालमा सरकारको मेन स्ट्रिम सिस्टम बाहिर बसेर धेरै सेवाहरु विकास गर्ने मौका पाएकोमा आफुलाई भाग्यशाली ठान्छु । मैले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) बाट चिकित्सा विज्ञानमा एम.बी.बी.एस. गरेको हुँ । म त्यहाँको १० औँ ब्याच थिएँ । अर्पोपेडिक सर्जरीमा स्पेशलाईज गर्न अमेरिका गएँ । त्यसपछि नेपालमा आएर एउटा चेन्ज मेकर भएँ । मेरो व्यक्तिगत चर्चा भन्दा पनि देशमा एउटा अर्थोपेडिक स्पेशियालिटीलाई विकास गर्ने मौका पाएँ । त्यसैमा केहि न केहि सफलता हाँसिल गरेको जस्तो लाग्छ । म सँग काम गर्ने चिकित्सक, हातेमालो गर्ने साभीभाइ, उपचार गराउन आउने बिरामीहरु प्रति निकै नै आभारी छु ।
म सँगै अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा अध्ययन गरेका धेरै साथीहरु अमेरिकातिर पलायन हुनुभयो । उहाँहरु धेरैजसो ठूला ठाउँमा प्राध्यापक हुनुहुन्छ । दुईवर्षअघि मलाई उहाँहरुको एल्मुनाई एसोसिएसनबाट नेपालको अर्थोपेडिक सर्जरीबारे लेक्चर दिन निम्ता आएको थियो । यो लेक्चरले नेपालका हजारौं हजार अर्थोपेडिक समस्या भएका मानिसको लाईफ छुन सकेको भन्दै मलाई धेरै प्रोफेसरहरुले सम्मान र बधाइ दिनुभएको थियो ।

एउटा सफल अर्थोपेडिक सर्जन हुनलाई के कस्ता गुण हुनुपर्छ ?
डाक्टरी पेसामा अध्ययन कहिल्यै सकिदैन । त्यसकारण एउटा सफल सर्जन बन्न पढाइलाई निरन्तरता दिनुपर्छ । बिरामीको कुनै पनि समस्या सानो हुनसक्दैन, त्यसप्रति निकै ख्याल गर्नुपर्छ । आफू ‘लर्निङ एक्सपिरियन्स’ बाट बञ्चित हुनुहुँदैन । ‘मेरो डिग्री सकियो’, ‘मैले अरु धेरै सिक्नु पर्दैन’ भन्ने सोचाइलाई बिर्सेर जहिले पनि विद्यार्थी जस्तै सिक्ने बानीको विकास गर्नुपर्छ ।

‘‘एउटा सफल सर्जन बन्न पढाइलाई निरन्तरता दिनुपर्छ । बिरामीको कुनै पनि समस्या सानो हुनसक्दैन, त्यसप्रति निकै ख्याल गर्नुपर्छ । आफू ‘लर्निङ एक्सपिरियन्स’ बाट बञ्चित हुनुहुँदैन ।’’

अमेरिकामा अर्थोपेडिक सर्जरीमा स्पेशलाईज अध्ययन सकेर नेपाल आएपछि म पनि निरन्तर सिक्दैछु र धेरैलाई पढाउने सिकाउने काम गरेँ । व्यवस्थित तरिकाले १८ वर्ष युनिभर्सिटीको मातहतमा पोष्ट ग्य्राजुयट ट्रेनिङ सञ्चालन गरेँ । धेरै कठिनाइहरु थिए । काठमाडौं विश्वविद्यालयअन्तर्गत मैले ३३ जना अर्थोपेडिक सर्जन ट्रेन गरेको छु । अहिले पनि एफ. सि. पि. एस. पाकिस्तान प्रोग्राममा ३—४ जना विद्यार्थी भइरहन्छन् । त्यसैले मैले काम शुरु गरेदेखि नै पढ्ने र सिक्ने बानीलाई निरन्तरता दिएँ । यो बानीले आफ्नो सीप सार्पन गरेर स्पेशलाईज सेवा दिन सफल भएँ । मैले निजी क्षेत्रबाट काम गरेको भएपनि इन्टरनेसनल जर्नलहरुमा आफ्नो कामको विषयमा च्याप्टर लेखेको छु । अहिले पनि इन्डियन जर्नल अफ अर्थोपेडिक्सको इन्टरनेसनल एड्भाइजर छु ।

अहिलेसम्म कति बिरामीले अर्थोपेडिक लाभ लिन सफल भए ?
विगत ३५ बर्षदेखि सञ्चालनमा ल्याइएको बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रअन्तर्गत च्यारिटेबल पिडियाट्रिक अर्थोपेडिक हस्पिटलबाट करिब ८३ हजार भन्दा बढि अपाङ्ग बालबालिकाले उपचार सेवा प्राप्त गरिसकेका छन् । त्यसमध्ये ४४ हजारको सर्जरी भएको छ । बी एण्ड बी हस्पिटलमा वर्षेनी १२ हजार भन्दा बढी बिरामीको सफल शल्यक्रिया उपचार भइरहेको छ ।

 

यहाँलाई स्वदेशमा नै बसेर काम गर्ने प्रेरणा कसरी मिल्यो ?
म अर्थोपेडिकमा पोष्ट ग्राजुएसन सकेर अमेरिकामै काम गर्न थालेको थिएँ । जेठो छोरा पनि अमेरिकामा जन्मिसकेको थियो । त्यो बेला बुवा बर्दियाको मानपुर टपराको पुरैना भन्ने गाउँमा बस्नुहुथ्यो । उहाँले कोहि न कोहि छोराछोरी यहाँ बसिदिए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो । त्यो बेला अहिलेको जस्तो चिठी फोनको सुुविधा पनि थिएन । ‘बुबाको चाहनाअनुरुप नेपालमा अर्थोपेडिक सेवा दिन्छु’ भन्ने सोच आयो । प्रायः मेरो बुबा आमा बर्दियामा बस्नुहुन्थ्यो । म जन्मेको काठमाडौँमा हो । मेरो बुबाआमाको ६ जना छोराछोरी र १६ जना नाति नातिनी छन् । म माइला छोरा हँु । छुट्टिमा सबै जना गाउँमा जान्थ्यौं ।
यद्यपी अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा एम.बी.बी.एस. सकेर सन् १९७२ मा परिवारका सदस्यहरुलाई कुनै आर्थिक भार नगराई उच्च मनोवलका थप अध्ययनका लागि अमेरिका गएको थिएँ । अमेरिका पुग्ने टिकट सापटी लिएको थिएँ । त्यो बेला मेरो साथमा ५० युएस डलर मात्र थियो । अमेरिका गएर नेशनल इन्टर्न रेजिडेन्ट म्याचिङ प्रोग्रामअन्तर्गतको ट्रेनिङ गर्न सफल भएँ । त्यो बेला धेरै प्रतिस्पर्धा हुन्थ्यो ।
पढाइ सकाएर नेपाल फर्किएपछि शान्ताभवन हस्पिटलमा स्वयम् सेवकका रुपमा अर्थोपेडिक विभागमा काम गर्न थालेँ । त्यहाँ भेटिएका अति गरिब बिरामीको उपचार गर्दा ‘नेपाल छोडेर जानु हुन्न’ भन्ने अनुभूति भयो ।
मलाई एउटा अनुभूति अहिले पनि छ , त्यो के हो भने त्यो बेला मेरो घरमा एउटा केटो बस्थ्यो । ऊ सँगै उसको आमा पनि थिइन् । सिन्धुपाल्चोक खाँडिचौरमा रुखबाट खसेर उसको भाउजुलाई नराम्रोसँग चोट लागेको थियो । राति ११ बजे बिरामी लिएर उनीहरु मेरो घरमा आएका थिए । त्यति बेला इमर्जेन्सी सेवाहरुको व्यवस्था थिएन । मैले आफु सुत्ने कोठामा लोकल एनेस्थेसिया दिएर घरमै अपरेशन गरेर बिरामीको ज्यान बचाएको थिएँ । त्यो बेला मैले कैँयौको उपचार यसरी पनि गरेको छु ।

यहाँको मन छुने कुराहरु के छ ?
मेरो मन कमलो छ । कसैलाई समस्या परेको देख्दा मन रुन्छ । चिनेको होस् या नचिनेको समस्या परेको छ भने सहयोग गर्न मन लाग्छ । मेरो स्तरअनुसार ‘मैले कसरी सेवा गर्न सक्छु’ भन्नेमा मेरो सोचाइ केन्द्रित हुन्छ । सोही अनुसार बनेपाको पिडियाट्रिक अर्थोपेडिक हस्पिटल परिसरमा स्कुल खोलेर सयौँ बालबालिकाहरुलाई पढाइरहेको छु । बुबा नारायणप्रसाद बास्कोटा र आमा रमादेवी बास्कोटाको सम्झनामा ‘रमानारायण एजुकेशन फन्ड’ स्थापना गरेको छु । असहाय गरिब दुखीप्रति मेरो एकदमै सहानुभुति भएकाले आफुले सक्ने गरिरहेको छु ।

पिडियाट्रिक चिल्ड्रेन हस्पिटलको शुरुवातीमा संघर्षका दिनहरु कस्ता थिए ?
कुनै पनि काम सजिलो हँुदैन । मैले सुरु गरेको चिल्ड्रेन हस्पिटल पहिला जोरपाटीमा थियो । त्यहाँबाट हामी निकालियौँ । त्यसलाई पुनस्र्थापना गर्न धेरै संघर्ष गर्नुप¥यो । दुःख नगरी सुख नआउँदो रैछ । धैरै हण्डर खाएर सफलता प्राप्त गर्दा त्यसको मिठास छुट्टै नै हुन्छ । साना तिना दुःखका क्षण त धेरै नै छन् । आफुले सफा मनले सेवा गर्छु भन्दा कैयौँले आरोप पनि लगाएका थिए । यस्ता कुराहरु सम्झिदा अहिले पनि दुःख लाग्छ ।

प्रतिक्रिया दिनुहोस्