Logo
|
Thursday 18th April 2024
Logo

epaper

जनस्वास्थ्यप्रति उदासीन जुम्लाका जनप्रतिनिधि  



चन्दननाथ नगरपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । एक सहरी स्वास्थ्य केन्द्रसहित तीनवटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै गएको छ । चन्दननाथ नगरपालिकाका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगी, स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संस्थामा काम गर्न कठिन भएको बताउँछन् । उनले भने, ‘जनप्रतिनिधि स्वास्थ्य संस्थाका बारेमा चासो नै दिँदैनन्, स्वास्थ्यकर्मीको माग सम्बोधन नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन ।’ गाउँ नगरमा सिंहदरबार आएको भनिए पनि स्वास्थ्य संस्थाको अवस्था भने नाजुक बनेको उनले बताए ।

जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै गएका छन् । तर, जनप्रतिनिधिहरू स्वास्थ्य, शिक्षालाई भन्दा विकास निर्माण र सडक खन्ने कामलाई बढी प्राथमिकता दिइरहेका छन् ।

संयोजक योगीले अगाडि भने, ‘स्थानीय तहमा दरबन्दीअनुसार जनशक्ति छैन भने भएका जनशक्तिलाई पनि समयमै तलब खुवाउन सक्दैनन् । यस्तो भएपछि स्वास्थ्यकर्मीमा काम गर्ने जोश जाँगर हराउँदै जान्छ ।’ उनका अनुसार सामान्य उपचारका लागि पनि स्थानीय अहिले सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नै जान बाध्य छन् ।

केन्द्र सरकारले बर्सेनि स्वास्थ्यकर्मीको तलबभत्ता कम पठाउने गरेको तर, यसबारे स्थानीय जनप्रतिनिधिले कुनै पहल नगरेको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको गुनासो छ । उनीहरूका अनुसार चन्दननाथ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट नै छुट्याएको छैन । ‘अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले पठाउने औषधिमै निर्भर छौं,’ स्वास्थ्य शाखा संयोजक योगीले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको यहाँ उपेक्षा भइरहेको छ।’

स्थानीय तह निर्वाचन अघिसम्म स्वास्थ्य कार्यालयबाट औषधि आपूर्तिदेखि स्वास्थ्यसम्बन्धी चेतनामूलक क्रियाकलाप समेत हुँदै आएका थिए । तर, स्थानीय तह निर्वाचनपछि स्थानीय तहका सबै स्वास्थ्य संस्था जनप्रतिनिधिको दायित्वमा आएको छ । तर, जनप्रतिनिधिले स्वास्थ्य संस्था व्यवस्थापन तथा औषधि खरिदमा चासो नै नदिने गरेको स्वास्थ्यकर्मीहरूको आरोप छ । ‘औषधि खरिदका लागि कार्यपालिका बैठक तथा गाउँसभाका बेला जनप्रतिनिधिलाई पटकपटक सम्झाउने गरेका छौं,’ चन्दनाथ नगरपालिकाका स्वास्थ्य संयोजक योगीले भने, ‘पछि व्यवस्थापन गराैंला भन्दै टार्छन् । जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइरहेको छ भन्दै पन्छिन्छन् ।’

पछिल्लो समय स्वास्थ्य संस्थामा औषधि आउन छाडेका छन् । पहिले ३५ प्रकारका औषधि आउने गरेकामा अहिले पाँचदेखि सात प्रकारका औषधि मात्र आउने गरेको उनले बताए । औषधि जगेडा हुन आवश्यक छ । जुनसुकै बेला जस्तोसुकै प्रकोप आउन सक्छ तर, स्वास्थ्य संस्थामा औषधि स्टक छैन । जनप्रतिनिधिहरूले स्वास्थ्य, शिक्षामा भन्दा पनि विकास निर्माण र सडक खन्ने कामलाई बढी प्राथमिकता दिइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार स्थानीय तहले स्वास्थ्यसम्बन्धी कुनै योजना बनाएका छैनन् । औषधि आपूर्तिका लागि कुनै पहल थालेका छैनन् । स्वास्थ्य संस्थाले गत आर्थिक वर्षको प्रतिवेदन पठाउन सकका छैनन् भने कर्मचारीले तलब पाएका छैनन् । अहिलेसम्मको अवस्था हेर्दा जुम्लामा औषधिको चरम संकट हुने अवस्था देखिएको जानकारहरू बताउँछन् । गाउँसभामा स्वास्थ्य सुधारका विषयमा सशक्त रूपमा आवाज उठ्न सकेको छैन । स्वास्थ्य क्षेत्रमा बजेट नदिने, दिए पनि निकै कम दिने गरिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्लामा ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १० वटा सामुदायिक स्वास्थ्य केन्द्र १० वटा र एउटा सहरी स्वास्थ्य एकाइ छन् । जिल्लाका सबै स्वास्थ्य संस्थाको अवस्था अस्तव्यस्त रहेको जानकारहरू बताउँछन् । पछिल्लो समय स्थानीय बासिन्दामा सरकारी स्वास्थ्य संस्थाप्रति नै विश्वास घट्दै गएको पाइएको छ । उपचारका लागि उनीहरू नजिकैका निजी मेडिकल जान थालेका छन् । स्थानीय जयमल बुढा गाउँका स्वास्थ्य संस्थामा प्रभावकारी उपचार नहुने भएकाले निजी मेडिकल जानुपर्ने बाध्यता भएको बताउँछन । ‘स्थानीय सरकारले औषधि खरिद गर्दैन्न, औषधि नभएपछि गाउँका स्वास्थ्य संस्थामा जाने कुरै भएन,’ उनले भने, ‘त्यसैले उपचारका लागि नजिकैका मेडिकल या सदरमुकाम खलंगास्थित अस्पताल नगई सुखै छैन ।’ पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरा भने स्वास्थ्य संस्था प्राथमिकतामा पर्ने गरेको दाबी गर्छन् । उनले भने, ‘औषधि अभाव हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन् ।’ गत वर्ष स्वास्थ्य क्षेत्रका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये धेरै रकम औषधि खरिदमै खर्च भएको उनले सुनाए ।

पातारासी गाउँपालिकामा रहेका चारवटा स्वास्थ्य संस्थामध्ये जिम्मेवारीपूर्वक स्वास्थ्यकर्मी खटिएको संस्थामा कुनै समस्या नभएको अध्यक्ष बोहोराले बताए । तर, आफ्नो जिम्मेवारी पूरा नगर्ने स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा विभिन्न समस्या आउने गरेको उनले आरोप लगाए ।  नागरिकन्युज

प्रतिक्रिया दिनुहोस्