युएस वंगला विमान दुर्घटनाबाट बाँच्न सफल एक मात्र डाक्टर समिरा भन्छिन्- ड्याडीको सपना पूरा गर्छु

जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-09-05 04:58:25


बंगलादेशको राजिव रोविया मेडिकल कलेज सिलेटबाट पाँचबर्षको डाक्टर कोर्षको फाइनल परीक्षा दिएर २०७४ फागुन २८ गते काठमाडौँ आउँदै गर्दा युएस वंगला विमान दुर्घटना हुँदा समिराले सँगै फर्किएरका १३ जना डाक्टर विद्यार्थी साथीलाई गुमाइन् । दुर्घटनामा बाँच्न सफल उनी एक मात्र भाग्यशाली चिकित्सक बिद्यार्थी थिइन् । विमान दुर्घटनामा डा.समिराको ढाड भाँचियो । खुट्टा र ओठमा गहिरो चोट लाग्यो । ४ महिना अस्पतालको सफल उपचारपछि अहिले उनी ललितपुरको च्यासल स्थित आफ्नो  निवासमा परिवारसँग छिन् । विमान दुर्घटनाबाट पुनर्जन्म प्राप्त गरेकी डा.समिराले मृत्युको मुखबाट फर्किदा वास्तविक जीवनको अनुभव कसरी सँगालेकी छिन् ? आउनुस् जानौं उनकै शव्दमा ।

दैनिकी
स्वास्थ्य अवस्था ठीक छ । भारी काम गर्न नसकेपनि सामान्य जीवनमा फर्किदैछु । भाँचिएको ढाड सामान्य अवस्थामा आउँदै छ । काटिएको ओठको टाँका निकालिसकेको छ । खुट्टाको चोट पनि निको भइसक्यो । तर विगतको जस्तो जोश, जाँगर र आँट अलि छैन । सामान्य हिँडडूल गर्छु । धेरै हिँड्यो भने ढाड दुःख्छ । त्यसैले चिकित्सकले अझै दुइमहिना जति घरमै आराम गर्न सल्लाह दिनुभएको छ । धेरै हिँडडूल गर्न नभएकाले शरीर अलि मोटाएको छ । दिनभर धेरै हिड्यो भने राती थकाइलागेर मुभमेन्ट गर्न गारो हुन्छ । त्यसैले धेरै हिँडदिन । घरमै बस्छु, टेलिभिजन हेर्छु र समाचार सुन्छु ।

जब बेहोस भएँ
कलेजको अन्तिम परीक्षा सकेपछि केही साथीहरु गाडीबाट काठमाडौ गए । केही साथी पछि जाने भनेर बसे । त्यो दिन रुम पार्टनर साथी प्रिन्सी धामी, चारु बराल र आस्मा शाक्य सँगै भएकाले रमाइलो लागिरहेको थियो । सबैको रिजल्ट एकैपटक निस्कने भएकाले सबै मिलेर काठमाडौंमा पार्टी गरेर रमाइलो गर्ने सल्लाह भएको थियो । जब प्लेनको झ्यालबाट नियाँले, काठमाडौंको दृष्य देखियो ।

‘‘ घर आइपुग्न थाल्यो भनेर आनन्द महसुस भइरहेको थियो तर बिमानस्थलमा प्लेन ल्यान्डिङ नभएर माथि माथि उड्न थाल्यो ’’

पुनः प्लेन ल्यान्डिङ हुन खोजिरहेको थियो । ट्राफिकिङको समस्या होला जस्तो लाग्यो । काठमाडौ आइसकेकाले ल्याण्ड गरिहाल्छ नि भन्ने भयो । हामी त घर पुगिनै सक्यौँ, काठमाडौमै छौँ भन्ने लागिरहेको थियो । तर प्लेन एक्कासी झ¥यौ । मेरो टाउको ठोकियो । त्यसपछि के भयो मलाई थाहा छैन । प्लेनमा लागेको आगो नियन्त्रण गर्न हालेको पानी परेर म होसमा आएछु । त्यस पछि सहयोेग माग्दै रुन थालेँ ।
सपना जस्तो
म कहाँ छु ? कस्तो अवस्थामा छु ? भन्ने केही थाहा भएन । अँध्यारो जस्तै थियो । बाहिर मानिसहरु कोही खनिरहेको, बोलिरहेको र कराइरहेको जस्तो सुनिन्थ्यो ।

 ‘‘प्लेन खसेको भन्ने थाहा पाएपछि आत्तिन थालेँ र बचाउन  गुहार गरेँ’’

जीवनको अर्थ
बूढो नै भएर मरिन्छ भन्ने रहेनछ । जुनसुकै उमेरमा जे पनि हुनसक्ने महसुस गरेँ । त्यसैले समयमा राम्रो काम गरेर अगाडि बढ्नुपर्ने सल्लाह दिन चाहन्छु ।

मृत्युको डर
मेरा रुममेट साथीहरुको निधन भइसकेको छ । म पनि एकचोटि मरेर बाँचेको छु । मृत्युदेखि मलाई मात्र होइन सबैलाई डर लाग्छ । घटनालाई बिस्तारै भूल्ने कोसिस गर्दै छु । तर विगतको घटना र सँगै बसेका साथीहरुको याद आइरहन्छ । ‘पहिलादेखि नै जीवनमा राम्रो काम गर्नुपर्छ’ भन्ने सोच थियो । यो घटनाले त्यो इच्छामा झनै उत्साह थपिदिएको छ ।

पढाइको स्थिति
बंगलादेशमा अध्यापन गर्ने प्राध्यापकहरु पढाइमा धेरै नै ध्यान केन्द्रित गर्नुहुन्छ । त्यहाँ बढि पढाइलाई महत्व दिइन्छ । पढ्न प्रेरित गरिन्छ । दिनदिनै टेष्टहरु भइरहन्छन् । पहिलो र दोस्रो बर्ष पूरै नै सैद्धान्तिक अध्ययन हुन्छ । तेस्रो बर्षदेखि वार्डहरु घुमेर बिरामी हेर्नुपर्छ ।
वंगलादेश जाने निर्णय
नेपालमा सिट पाउन गाह्रो  हुन्छ । सिट पाएपनि एकैचोटि पैसा तिर्न लगाइन्छ । यस्तो अवस्थामा परिवारले पैसा तिर्न सक्नुहुन्न । त्यहाँ आफन्त दिदि पनि पढ्नुहुनुहुन्थ्यो । दिदिले आउन सल्लाह दिएकाले उहाँ पढेकै कलेजमा भर्ना भएको थिएँ । शुल्क इन्स्टलमेन्ट (किस्ता) मा बुझाउँदा हुन्छ । मेरो पालामा एमबीबीएस अध्ययनमा ३५ हजार डलर थियो । अहिले सायद ४० हजार जति पुग्यो होला ।

डाक्टर बन्ने चाहना
मलाई सानो बेलामा एकदम टाउको दुख्थ्यो । त्यसकारण धेरैपटक डाक्टरकहाँ जानुपथ्र्यो । मलाई डाक्टरको व्यक्तित्व धेरै नै मन पथ्र्यो । त्यो देखेर आफ्नै चाहनाले डाक्टर पढेको हो । तर बाबाले सजिलो विषय अध्ययन गर्न भन्नुहुन्थ्यो । म जिद्धि स्वभावकी भएकाले डाक्टर नै पढेँ ।

 

‘‘म जनरल सर्जन बन्छु । एमडी सकेपछि ड्याडी (बुबा) को चाहना हस्पिटल वा ठूलो क्लिनिक खोल्ने भन्ने सपना पूरा गरेर छोड्छु ।’’

 

मेरो चाहना
अष्ठवीर ब्यन्जनकार
समिराको बुबा
समिराले एक कक्षादेखि नै डाक्टर पढ्छु भन्थिन् । तर म भने सँधै बिरामीको सेवामा रहनुपर्ने भएकाले डाक्टरको लाइफ छैन जस्तो लागेर व्यापार गर्न म्यानेज्मेन्ट अध्ययनका लागि सल्लाह दिने गर्दथेँ । पछि उनको व्यक्तिगत चाहनाका कारण नेपालमा नै डाक्टर अध्ययन गराउन सोचेको थिएँ । यहाँ एकैपटक ४० लाख बुझाउनुपर्ने रहेछ । जसले ४० लाख बुझाउँछ उसको मेरिट लिष्टमा नाममा नाम ननिस्केपनि भर्ना मिल्दो रहेछ । म भन्दा कमजोर बिद्यार्थीले एकैपटक शुल्क बुझाएपछि भर्ना मिल्यो । यो देखेर मलाई दुःख लाग्यो । त्यसपछि बंगलादेश पठाउने निर्णय गरेँ । बंगलादेशमा अध्ययन गर्दै रहेकी मेरो साथीको छोरी पिंकी महर्जनसँग सल्लाह गरेर छोरीलाई बंगलादेश पठाएँ । म पनि सँगै गएर त्यहाँको होस्टेल वातावरण अवलोकन गरेर आएको थिएँ । मलाई राम्रो लागेको थियो ।
अब छोेरीको अवस्था हेरेर नेपालमै एमडी पढाउने निर्णय गरेको छु । पाटन एकेडेमी अफ हेल्थ साइन्समा पढाउने कुरा भएको छ । नेपालमा जन्मेपछि नेपालकै सेवा गर्नुपर्छ भनेर छोरीलाई सानै देखि भन्दै आएको छु । समाजमा बसेपछि समाजको सेवा गर्नुपर्छ भन्ने मेरो चाहना हो

लगनशील
सरिता ब्यन्जनकार
समिराको आमा
छोरी सानैदेखि लगनशील थिइन् । अहिले सम्म हामीले भनेको कुनै पनि कुराहरु नाइ भनेको छैन । उसले सहरी क्षेत्रमा मात्र होइन गाउँ गाउँ गएर गरिब र असहायहरुको सेवा गर्ने अवसर पाओस् ।

    Comment Here!