डा. पाण्डेलाई १० प्रश्न

डा. चक्रराज पाण्डे , हाडजोर्नी शल्यचिकित्सक, बोर्ड अफ डाइरेक्टर तथा हाडजोर्नी विभागका प्रमुख, ग्रान्डी इन्टरनेशनल हस्पिटल || प्रकाशित मिति :2018-09-06 09:06:25


हाडजोर्नी शल्यचिकित्सक डा. चक्रराज पाण्डे ग्रान्डी इन्टरनेशनल हस्पिटलका बोर्ड अफ डाइरेक्टर तथा हाडजोर्नी विभागका प्रमुख हुनुहुन्छ । २२ वर्षको अवधिमा साना–ठूला गरेर डा. पाण्डेले ४० हजारभन्दा बढी शल्यक्रिया र करिब दुई लाख बिरामीलाई ओपीडी सेवा प्रदान गरिसक्नुभएको छ । उहाँले १२ वर्षभन्दा बढी समय विदेशमा अध्ययन गर्नुभएको थियो ।

आजकलको दिनचर्या कस्तो छ ?
बिरामीलाई समयमा उपचार सेवा दिने मेरो पहिलो काम हो । जटिल किसिमका अर्थोपेडिक समस्याको उपचारमा मेरो धेरै समय बितिरहेको छ । आर्थोस्कोपी जोर्नी प्रत्यारोपण, पेल्भिक इन्जुरीको शल्यक्रिया र पोलि ट्रमाको समस्या लिएर आउने बिरामी भइरहन्छन् ।
यसका साथै आफ्नो विधासम्बन्धि विभिन्न किताब अध्ययन गर्छु । सेमिनारको तयारी, शल्यक्रिया गर्नुपर्ने बिरामीबारे टिमसँग छलफल गर्नेलगायतका काममा व्यस्त हुन्छु । अस्पतालमा कार्यरत स्टाफ, नर्स, डाक्टर, एडमिनिस्टेटर, समुदाय, सेयरहोल्डर सबैसँग समन्वय गरेर एउटा नयाँ सम्भावनाको बाटो पहिचान गर्दै जाने मेरो काम हो । यसबाहेक बचेको समय परिवारका सदस्यहरुसँग बित्छ ।
सफल अर्थोपेडिक सर्जन हुन के कस्ता गुण हुन जरुरी छ ?
पहिलो कुरा आफूभित्र संघर्ष गर्ने क्षमता हुनुपर्छ । वैज्ञानिक तरिकाले काम गर्नुपर्छ । बिरामीलाई माया गर्ने भावना हुनुपर्छ । काम गर्ने शैली, बानी व्यवहारबाट बिरामी प्रभावित हुनुपर्छ । आफूभित्रको कमजोरी निकाल्ने कोशिस गर्नुपर्छ । बिरामीलाई आफू सञ्चो हुन्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ । यसका साथै पढ्नुपर्छ र अत्यधिक मिहेनत गर्नुपर्छ ।

स्पोर्टर्स मेडिसिन के हो ?
कम्प्रिहेन्सिभ खेलाडी एवं खेल रुचाउने व्यक्तिहरुलाई सहयोग गर्ने विधा स्पोर्टर्स मेडिसिन हो । यो मेडिकल, सर्जिकल र पोषण कुनै पनि हुनसक्छ । जोर्नी प्रत्यारोपण र आर्थोस्कोपी मेरो प्यासन हो । यसप्रति मेरो विशेष चाहना छ, यसलाई मैले आफ्नो जीवन नै ठानेको छु ।
नेपालमा स्पोर्टस् मेडिसिनको सेन्टर बनाउनुपर्छ ।

‘‘नेपालमा स्पोर्टस् मेडिसिनको सेन्टर बनाउनुपर्छ । अनुकूल वातावरण सृजना गर्न सकेको अवस्थामा आगामी २० वर्षमा नेपाली खेलाडीहरुलाई विश्व ओलम्पिकमा पुर्याउन  सकिन्छ । ’’

 

अनुकूल वातावरण सृजना गर्न सकेको अवस्थामा आगामी २० वर्षमा नेपाली खेलाडीहरुलाई विश्व ओलम्पिकमा पुर्याउन  सकिन्छ । सरकारले विश्वास गरेमा म यसको जिम्मेवारी लिएर काम गर्न पनि तयार छु ।

नेपाली खेलाडीहरु ओलम्पिकसम्म पुग्न नसक्नुको पछाडि के कस्ता समस्या देख्नुभएको छ ?
यसकालागि बच्चाहरुलाई आमाको गर्भबाट नै तालिम, पोषणयुक्त खाना, समय समयमा स्वास्थ्य जाँच सहित तालिम शुरु गर्नुपर्छ ।
खेलाडीहरुमा ‘मनोविज्ञान’ एक प्रमुख समस्या हो ।

‘‘एउटा बलियो खेलाडीमा मनोवल कमजोर भएमा गोल हान्न सक्दैन । यसकारण मनोवैज्ञानिक रुपमा खेलाडीलाई ‘फिट’ राख्नुपर्छ ।’’

खेलाडीहरुमा इन्ड्युरेन्स ट्रेनिङको अभाव अर्को समस्या हो । खेलाडीहरुलाई इन्ड्युरेन्स ट्रेनिङ दिएर बलियो बनाउनुका साथै उनीहरुको कमजोरी पत्ता लगाएर मनोवैज्ञानिक परामर्श दिएर आत्मबल बढाउनुपर्छ ।
यसका साथै खेलाडीहरुमा टेक्निकको अभाव अर्को समस्या हो । उनीहरुलाई खेलको टेक्निक सिकाउनुपर्छ । दुई चार दिन सिकाएर मात्र खेलाडीले गोल हान्न सक्दैन । यसका लागि निरन्तरताको जरुरत पर्छ । सफा सडक, आकर्षक पार्क एवं खुला मैदानलगायत धेरै कुरामा सुधार गर्नुपर्छ ।

सफल चिकित्सक बन्न कस्तो बाटो पहिल्याउनुपर्छ ?
नेपाली चिकित्सकहरु संसारका राम्रा सेन्टरहरुबाट राम्रो तालिम पाएर आइरहेका छन् । उनीहरुमा आफ्नो काममा प्यासन शोख र लगाव दुवै हुनुपर्छ । यसका लागि राष्ट्रियस्तरको फाउन्डेसन तयार पार्नुपर्छ । कहिल्यै नथाक्ने इच्छाशक्ति तथा इमान्दारीताको जरुरी हुन्छ साथमा भौतिक पूर्वाधारहरु इन्फ्रास्ट्रक्चरमा लगानी हुनुपर्छ । प्यासन लिने मान्छे पनि क्षमतावान हुनुपर्छ । हामीले अब त्याग गर्ने हो । मेहनतको बाटो नै सफल बाटो हो ।

एउटा अब्बल खेलाडी बनाउने आधारहरु के के छन् ?
राम्रो खेलाडीका लागि आमाको गर्भदेखि पोषणयुक्त खानाको जरुरत पर्छ । आमाले राम्रोसँग पोषणयुक्त खाना खानुपर्छ । जन्मपछि विभिन्न रोगबाट जोगाउन खोप र अन्य पोषणयुक्त खानाको जरुरत पर्छ । यसका लागि लगानी गर्नुपर्छ । निरन्तर तालिम गाइड तथा दिशानिर्देश गर्नुपर्छ र साथमा जित्छु भन्ने आत्मबिश्वास जगाउनुपर्छ ।

अर्थोपेडिक डाक्टरको दृष्टिले विश्वकप खेललाई कुन रुपमा लिनुभयो ?
विश्वकप खेलसम्म पुग्न सम्बन्धित देशहरुले धेरै लगानी गरेका छन् । कतिपय खेलाडीको लडेर खुट्टा ठोकिन्छ तर पनि उठेर खेलिरहेका हुन्छन् । धेरै रिस उठ्नसक्छ तर रिसलाई शान्त पार्दै मनोवैज्ञानिक रुपमा मनलाई बलियो बनाउँछन् । अरु जस्तै हुन नसके पनि ‘हामी पनि खेल्न सक्छौँ’ भन्ने मनोबल बढाउनुपर्छ । अनुशासन र फिटनेसको राज सिक्नुपर्छ । ती खेलाडीहरुले त्यतिकै खेलेका छैनन् । उनीहको पछाडी प्रतिष्ठित डाक्टर र अस्पतालहरुले सर्पोट गरेका हुन्छन् । सिंङ्गो राष्ट्र खेलाडीको पछाडि छ ।

जोर्नी प्रत्यारोपण र आर्थोस्कोपीको के महत्व छ ?
कतिपय अवस्थामा जोर्नी प्रत्यारोपण खोलेरै गरिन्छ । तर घुँडाको लिगामेन्ट चुँडिएमा क्यामेराबाट नै हेरेर (आथोस्कोपी) गर्न सकिन्छ । जोर्नी खुस्किरहने समस्यामा पनि क्यामेराबाट हेरेर सिलाउन सकिन्छ । जोर्नी नचल्ने व्यक्तिलाई आर्थोस्कोपीबाट चलाउन सक्ने बनाइन्छ । आर्थोस्कोपीबाट उपचार गर्दा ठूलो घाउ बनाउनुपर्दैन । अस्पतालमा धेरै समय बस्नुपर्दैन । घाउ चाँडै निको हुन्छ र बिरामी छिटै आफ्नो काममा फर्किन सक्छ । जोर्नी खिएर हिड्नैं नसक्ने अवस्थामा कृत्रिम जोर्नी राखेर हिड्न सक्ने बिधिलाई जोर्नी प्रत्यारोपण शल्यकृया भनिन्छ ।

जोर्नी किन दुख्छ ?
घुँडाको जोर्नी दुख्ने धेरै कारण हुन्छन् । यसमध्ये बिरामीको हिँडाइ नमिलेर, खेलकुदको क्रममा झिल्लि च्यातिएर, उमेरले गर्दा हड्डी खिएर, इन्फेक्सन, बाथ, लिगामेन्ट चँुडिएर, क्यान्सर, रगतसम्बन्धि समस्या, युरिक एसिड, सिकलसेल एनिमिया आदि कारणले पनि घुँडा दुख्नसक्छ ।

त्यसैले के कारणले घुँडा दुखेको हो ? भन्ने कारण पत्ता लगाउन जरुरी हुन्छ । शारीरिक अभ्यास गरेर सामान्य घुँडा दुखाइ निको पार्न सकिन्छ । तर अन्य कारणबाट घुँडा दुखेमा सम्बन्धित चिकित्सकबाट उपचार गराउनुपर्छ ।

ग्रोथ फ्याक्टर इन्जेक्सन भनेको के हो ? 
घुँडा, मांसपेशी, लिगामेन्ट आदिमा चोट लागेर आउने समस्यामा ग्रोथ फ्याक्टर तत्वले नयाँ सेल बनाउन मद्धत गर्छ । यसलाई चाउरी परेको छाला तन्काउन पनि प्रयोग गरिन्छ । यो सेलिब्रेटीहरुले धेरै प्रयोग गर्छन् । सम्बन्धित व्यक्तिको आफ्नै रगतबाट बनेको तन्तु भएकाले यसको साइड इफेक्ट छैन । यो विदेशी प्रविधि भएकाले विश्वभर प्रख्यात छ ।

    Comment Here!