के हो स्क्रब टाइफस?

जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-09-07 06:46:28

 

स्क्रब टाइफस एक संक्रात्मक रोग हो । ट्रोम्बिक्युलिड माइट जातको किर्नामा रिकेटसिया जातको ओरिएनसिया सुसुगमुसी नामक किटाणु हुर्किन्छ । त्यो किर्नाले मानिसलाई टोक्दा संक्रमण हुने गर्छ । यस रोगको बारेमा सन् १८९९ मा पहिलो पटक जापानमा ब्याख्या गरिएको थियो । नाङ्गो आँखाले देख्न नसकिने उक्त माइटको लार्भालाई सिगर भनिन्छ । सिगरले साना मुसा जस्ता स्तनधारी जनावर वा मानिसलाई टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । स्क्रब टाइफस जनावरबाट मानिसमा सर्छ तर मानिसबाट मानिसमा सर्दैन । मानिसहरु स्क्रब टाइफसको आकस्मिक परजीवीधृक परपोषक हुन् ।

सिगर झाडि वरपरि, चौरमा पाइने हुदाँ यदि मानिसको शरीरमा बसेर टोकेमा स्क्रब टाइफस लाग्छ । जुम्रा या घुन जस्तै सुक्ष्म रुपमा रहने किर्ना मुसाको कान अथवा यस्तै साना स्तनधारी जीवनजन्तुमा बस्छ । जब सिगर लार्भाले टोक्छ, त्यस स्थानमा ५–२० मिमि गोलाइ आकारको कालो, सुख्खा रंगको दाग बस्छ, जसलाई स्कार भनिन्छ । यहि स्कारबाट चिकित्सकहरुले रोगको पहिचान गर्छन् ।

 

स्क्रब टाइफसको जीवनचक्र
किर्नाको जीवन चक्रमा अण्डा, लार्भा, निम्फ र एडल्ट गरि चार स्तरको विकासक्रम हुन्छन् । लार्भा स्तरलाई सिगर भनिन्छ जुन स्क्रब टाइफस मानिस र अरु स्तनधारी जनावरमा सार्ने गर्दछ ।

किर्नाको अरु स्तर स्तनधारी जनावरहरुमा भर नपर्ने भएकाले लार्भा बाहेक अरु स्तरले भने संक्रमण गर्दैन । संक्रमित एडल्ट किर्ना पछि गएर ओरिएनसिया सुसुगमुसि जीवाणु अण्डामा ट्रान्सओभेरियल माध्यमबाट सर्ने गर्छ ।

लक्षण :
चिकित्सकहरुका अनुसार स्क्रब टाइफस संक्रमित बिरामीमा टाउको दुख्ने, ज्वोरो आउने (एक सय चार डिग्रि सम्म ज्वोरो आउने), गर्धन र घाँटी वरिपरि मसिना बिबिरा आउने, मांशपेशी दुख्ने, शरीर सुन्निने जस्ता लक्षणहरु देखा पर्छन । किर्नाले टोकेको ठाउँको स्कार हल्का चिलाउछ तर दुःखाई भने हुदैन । त्यस्तै फोक्सोमा प्युमोनिया हुने, मुटुमा मेनिनजाइटिस हुने, मुटु र रगत सञ्चालन प्रणालीमा जटिलता उत्पन्न हुन्छ । एच आइ भि संक्रमित बिरामीलाई स्क्रब टाइफस रोग लाग्ने खतरा बढि हुन्छ ।

उपचार :
स्क्रब टाइफस ब्याक्टेरियल इन्फेक्सन भएकाले एन्टिबायोटिक औषधीको सेवनबाट निको हुन्छ । एन्टिबायोटिक जीवाणुको गुणलाई रोक्ने अथवा सुस्त गतिमा ल्याउने भएकाले बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउछ । एन्टिबायोटिक्स जस्तै, डक्सिसाइक्लिन्, क्लोरामफेनिकोल्, रिफामपिसिन्, एजिथ्रोमाइसिन्हरु दिइन्छ । ब्यक्तिगत सरसफाई, खाद्य स्वस्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनुपर्छ । घर वरिपरिको झार ओखल्नुपर्छ र किट्नाशक पदार्थको प्रयोेग गरेर किर्नाको टोकाईबाट बच्नु पर्छ । स्वास्थ्य सन्दर्भ

    Comment Here!