‘ओममा मेरो मिति पुग्यो, अब मलाई जसले उपयोग गरेपनि हुन्छ’ -डा.भोला रिजाल
वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाड्नुभएको छ । तर उहाँको लगानी शेयर भने यथावत रहेको छ । उहाँले ओम हस्पिटल छाडेसँगै चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलले सम्पूर्ण व्यवस्थापन सम्हाल्नुभएको छ ।
भदौ २० गतेको सञ्चालक समितको बैठकले ओम हस्पिटलको अध्यक्षमा पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । उहाँ ओम हस्पिटलको स्थापनाकालदेखि नै सञ्चालक हुनुहुन्थ्यो । तर डाक्टर भोला रिजाल र ओम हस्पिटल एक अर्काको पर्याय जस्तै थियो ।
अबका दिनमा डाक्टर रिजालबाट जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट बिरामीले सेवा प्राप्त गर्नेछन् । डा. रिजालले भन्नुभयो—‘सोमबारदेखि म साताको ६ दिन नेपाल मेडिकल कलेजमा रहन्छु ।’
डाक्टर रिजाललाई ओम हस्पिटल किन छोड्नुभयो भन्ने जनस्वास्थ्य सरोकारको प्रश्नमा उहाँले भन्नुभयो—‘मेरो मिति पुग्यो ।’ उहाँले आफू नेपाल मेडिकल कलेजमा मात्र पनि नरहने जनाउ दिनुभएको छ । ‘तपाईले १—२ दिनमा अन्य ठाउँमा पनि काम गर्ने भन्ने समाचार सुन्नुहुनेछ ।’— डा. रिजालले भन्नुभयो—‘अब मलाई जसले उपयोग गरेपनि हुन्छ ।’