Logo
|
Saturday 20th April 2024
Logo

epaper

बाटैमा सुत्केरीको मृत्यु



समयमै उपचार नपाउँदा अछामको दुर्गम गाउँकी एक गर्भवतीले कलिलै उमेरमा ज्यान गुमाएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ की २३ वर्षीया चन्द्रा धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुँदै नेपालगन्ज लाने क्रममा शुक्रबार बाटैमा निधन भएको हो ।

रगतको कमी भई बिरामी धामीको जीउमा कम्पन आएको थियो । तर, परिवारले भने केही लागेको होला भन्दै सुरुमा धामीझाँक्रीलाई देखाएका थिए । कम्पन नथामिएपछि २ दिनपछि मात्र उनलाई स्वास्थ्य चौकी पुर्‍याइएको थियो ।

‘सुरुमै जिल्ला अस्पताल ल्याउन सकेको भए पनि बिरामी बच्न सक्ने थियो,’ जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत झनराज ढुंगानाले कान्तिपुरसँग भने । गर्भवती धामीको पेटभित्र जुम्ल्याहा बच्चा रहेकोमा जिल्लामा ल्याइपुर्‍याउँदा एक बालकको मृत्यु भइसकेको थियो । ‘बिरामीमा एक्लामसिया (रगत कम हुने) समस्या थियो,’ ढुंगानाले भने । जिल्लामा प्रसूति रोग विशेषज्ञ छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा जिल्लाले पनि सामान्य उपचारपछि धनगढी वा नेपालगन्ज पठाउने गरेको छ । स्वास्थ्यका अत्याधुनिक उपकरणसहित विशेषज्ञ जिल्लामै रहे प्रसूतिका बिरामी कम जोखिममा पर्ने उनी बताउँछन् ।

‘त्यहाँमाथि गाउँमा अझै अन्धविश्वास छ । गर्भवतीको नियमित उपचार पनि हँुदैन । केही भइहाल्यो भने पनि सुरुमा डाक्टरभन्दा धामीझाँक्री खोजिन्छ,’ स्थानीय तपेन्द्र धामीले भने । मृतक धामीको उपचारका क्रममा समयमै रगत बढाउने औषधि, भेन्टिलेटरलगायत उपकरण जिल्लामा उपलब्ध भएनन् । धनगढीका सरकारी अस्पतालमा समेत भेन्टिलेटर नभएको, निजी स्वाथ्य संस्थामा महँगो हुने भएकाले सबै बिरामीको पहुँच नहुने ढुंगानाले बताए ।

उपचार खर्चसमेत जुटाउन नसक्ने अवस्था देखेपछि जिल्ला अस्पताल मंगलसेनले बिरामी धामीलाई नेपालगन्ज रिफर गरेको थियो । धनगढीको निजी स्वास्थ्य संस्थामा उपचार गराउन वा हेलिकप्टरबाट तत्काल सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सक्ने आर्थिक अवस्थासमेत परिवारको थिएन ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्