Logo
|
Tuesday 16th April 2024
Logo

epaper

धनिलाई शुल्क, गरिबलाई निःशुल्क



विगत २० वर्षदेखि हाडजोर्नी उपचार सेवामा समर्पित नेपाल अर्थोपेडिक हस्पिटल अति विपन्न र गरिब बिरामीहरुको पहुँच, आशा र भरोसाको रुपमा परिचित छ । यो च्यारिटेवल हस्पिटल हो । पैसा नभएपनि उपचारबाट कोही पनि बञ्चित हुनुपर्दैन । बिरामीको प्रकृति अनुसार अस्पतालले सहयोग सेवा उपलब्ध गराउँछ । बिरामीको अवस्था हेरेर कसैलाई आंशिक त कसैलाई पूर्णरुपमा उपचार सेवामा छुट दिँदै आएको छ । गत आर्थिक वर्षमा मात्र हस्पिटलले झन्डै ८० लाख रुपियाँ बराबरको च्यारिटी सेवा प्रदान गरेको छ । विगत १३ वर्षदेखि निरन्तर अर्थोपेडिक सर्जरी सेवा दिँदै आउनुभएका वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. राजेश महर्जन हाल हस्पिटलको मेडिकल डाइरेक्टर हुनुहुन्छ । अस्पतालले उपलब्ध गराउने सेवा र सुविधाप्रति डा. महर्जन के भन्नुहन्छ ?

विपन्न बिरामीलाई सहुलियत दिने आधारहरु के के हुन् ?
यहाँ अधिकांश बिरामी काठमाडौं बाहिरबाट आउँछन् । अस्पतालमा ‘सोसियल डेस्क’ छ । कसलाई कति च्यारिटि दिने ? कसलाई नदिने ? कसलाई धेरै दिने ? र कसलाई थोरै दिने ? भनेर छुट्याउने यसको मुख्य काम हो । आफ्नो जिल्लाको वडा वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विपन्न नागरिकको सिफारिस लिएर आएकाहरुलाई च्यारिटी दिन सजिलो हुन्छ । कतिपय अवस्थामा बिरामीसँग सोधेर, उसका छिमेहीहरुसँग कुरा गरेर पनि च्यारिटी दिनुपर्ने हुनसक्छ । क्रस चेकिङ गरेर सोसियल डेस्कले सिफारिस गरेपछि मात्र बिरामीलाई सहुलियत दिइन्छ । यसबाट सहुलियत पाउनुपर्ने बिरामीले मात्र च्यारिटी सेवा पाउँछन् ।

अहिले सम्म हस्पिटलमा कति जति बिरामीले सेवा प्राप्त गरेका छन् ?
हाडजोर्नीसम्बन्धि समस्या भएका गत वर्षमात्र करिब ४७ हजार १ सय ८६ भन्दा बढी बिरामीलाई उपचार सेवा दिन सफल भइसकेका छौं । त्यसमा सामान्य र जटिल गरी ३ हजार ३० भन्दा बढी शल्यक्रिया गरेका छौं । यो क्रम वर्षेनी बढ्दो छ । सन् १९९८ मा हस्पिटल स्थापना भएयताको तथ्यांक हेर्दा यो गुणात्मक वृद्धि हो । हस्पिटल स्थापनाको साल ६ सय ३१ ले मात्र ओपिडी सेवा पाएका थिए भने शल्यक्रिया शुरु गरेको वर्ष सन् १९९९ मा ३ सय १६ जनाको शल्यक्रिया भएको थियो ।

‘‘अहिलेको अस्पतालको फोकस जोर्नी प्रत्यारोपण सर्जरीमा हो । विभिन्न कारणले खिइएको जोर्नी प्रत्यारोपण प्राथमिकतामा राखेका छौं ।’’ 

बिरामीको जटिलता कसरी पहिचान गरिन्छ ?
ओपिडिमा बिरामी आएपछि एउटा टिमले डायग्नोसिस गर्छ । त्यहि अनुसार भर्ना गर्नुपर्ने या घर पठाउनुपर्ने हो भन्ने बारे सल्लाह हुन्छ । अस्पतालमा एउटा सोसियल डेस्क छ । डेस्कले च्यारिटी दिनुपर्ने वा नपर्ने भन्ने निर्णय गर्छ । त्यसपछि अस्पताल भर्ना गरेर शल्यक्रिया तिर लागिन्छ ।

विकट ठाउँहरुमा उपचार सेवा लिएर जाँदा कसरी व्यवस्थापन मिलाउनुहुन्छ ?
अपाङ्गता धेरै भएका र काठमाडौंसम्म उपचारको पहुँच नपुगेका विकट ठाउँहरुमा अस्पतालले वर्षमा ३ देखि ४ वटा सम्म सर्जिकल शिविरको आयोजना गर्छ । प्रायः शिविर ७ दिनको हुने गर्छ । शिविरमा आवश्यक पर्ने सम्पूर्ण सर्जिकल उपकरणको व्यवस्था गरी अल्पकालीन अपरेशन थियटर बनाएर शल्यक्रिया सेवा प्रदान गरिन्छ । एउटा शिविरमा साना ठूलो गरी करिब ५०—६० वटा शल्यक्रिया गरिन्छ । शल्यक्रियाका लागि आवश्यक पर्ने बेड, लाइट, सम्पूर्ण औजार सामाग्री काठमाडौंबाट बोकेर लगिन्छ । टिम जानुभन्दा पहिला ट्रकमा सामान पठाइन्छ र शिविर तयार भएपछि चिकित्सकको टोली पुग्छ । शिविर आयोजना गर्दा स्थानीय सहयोगी क्लबहरु र सम्बन्धित अस्पतालहरुसँग समन्वय गरी स्थानीय बासिन्दाहरुलाई भेला हुन आव्हान गरिन्छ । यसरी स्थानीय तहमा शल्यक्रिया गर्न नसक्ने समस्यामा परेका व्यक्तिलाई काठमाडौं सिफारिस गरिन्छ । काठमाडौं आउनुपर्ने समस्याका बिरामीलाई यातायातदेखि उपचार गर्दा बस्ने खाने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्छ ।

 

‘‘पैसा नभएपनि उपचारबाट कोही पनि बञ्चित हुनुपर्दैन । बिरामीको प्रकृति अनुसार अस्पतालले सहयोग सेवा उपलब्ध गराउँछ ।’’ 

 

अस्पतालमा कस्तो प्रकारका बिरामी उपचारका लागि आउँछन् ?
लडेर हात खुट्टा भाँचिएका बिरामीहरु धेरै आउँछन् । उनीहरुमा कोही अस्पताल पुगेर प्लाष्टर गरेर सोही दिन घर फर्किन्छन । शल्यक्रिया गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई चाँही भर्ना गरी जतिसक्दो चाँडो शल्यक्रिया गरेर घर फर्काउने कोशिस गरिन्छ । प्राय अन्य अस्पतालहरुबाट जटिल समस्याको उपचारका लागि सिफारिस भएर आएका हुन्छन् । अन्तबाट इन्फेक्सन र बिग्रिएका घटनाहरु पनि धेरै आउँछन् । अस्पतालमा ३ वटा अपरेशन थियटर भएकाले बिरामीले एक रात भन्दा बढि कुर्नुपर्दैन ।
त्यसबाहेक अहिलेको अस्पतालको फोकस जोर्नी प्रत्यारोपण सर्जरीमा हो । विभिन्न कारणले खिइएको जोर्नी प्रत्यारोपण प्राथमिकतामा राखेका छौं । न्यूनतम मूल्यमा जोर्नी प्रत्यारोपण हुन्छ । यस प्रकारको जोर्नी प्रत्यारोपणमा घर परिवारको ठूलो सपोर्ट चाहिन्छ ।
बिरामीले राम्रो सेवा पाउने कुरामा ढुक्क भए हुन्छ । तर इम्प्लान्टहरु महँगा हुन्छन् । यस्तो अवस्थामा सकेसम्म विरामीलाइ सहज गराउने कोशिस गर्छौं । यसरी नेपाली जनताको विश्वास प्राप्त गर्दा खुशी लाग्छ ।

कस्तो अवस्थामा जोर्नी फेर्नुपर्छ ?
नेपालमा जोर्नी दुखेर चरम सिमामा पुगेपछि मात्र अस्पतालमा आउने प्रचलनले गर्दा जोर्नी धेरै नै खिइसकेका पाइएको छ । यस्तो अवस्थामा मेडिकल उपचारले काम नगर्ने भएकाले जोर्नी प्रत्यारोपण नै गर्नुपर्छ ।
सुरुको अवस्थामा थाहा भएमा खिइएको जोर्नीलाई रि—जेनेरेट गर्ने औषधिहरु प्रयोग गर्न सकिन्छ । यसका साथै फिजियोथेरापीलगायतका विभिन्न उपाय अपनाएर जोर्नी खिइनबाट थप बचाउन सकिन्छ ।
जोर्नी कसरी फेरिन्छ ?
जोर्नी फेर्नु भनेको प्रत्यारोपण हो । प्रत्यारोपणको आफ्नै प्रोटोकल हुन्छ । जोर्नी खोलेर बिग्रेको हड्डी हटाइन्छ । त्यसको ठाउँमा त्यसकै (साइज) सेपको नक्कली जोर्नी राखिन्छ । चाँडो रिकभरी हुने नहुने भन्ने कुरा बिरामीको शरीर अनुसार निर्भर हुन्छ । कतिपय अवस्थामा प्रत्यारोपण गरिएको जोर्नीमा कम्प्लिेकेसन पनि आउनसक्ने भएकाले यसप्रति पनि सचेत हुन जरुरी छ । हाम्रो हस्पिटलमा यसप्रकारको कम्प्लिकेसन आएको रेकर्ड छैन ।

हाडजोर्नीको समस्याको जोखिममा रहेको व्यक्तिलाई के सल्लाह दिनुहुन्छ ?
प्राय धेरैलाई देखिने जोर्नी खिइने समस्या हो । ढाडको हड्डी खिइने, जोर्नी खिइने, घाँटीको हड्डी खिइने समस्या एकदम कमन पाइएको छ । कम्प्युटर चलाउँदा, टाउकोमा भारी बोक्दा, बढि उकालो ओरालो गर्दा यो समस्या देखिन्छ । काम गर्ने तरिका र पोस्चर मिलाउनुपर्छ । महिलाहरुले महिनावारी रोकिएपछि चिकित्सकको सल्लाहमा हड्डी खिइने समस्या रोक्न सप्लिमेन्ट्री औषधीको प्रयोग गर्र्नुुपर्छ । बूढाबूढीहरुले नियमित स्वास्थ्य जाँच, घुँडा र ढाडको अभ्यास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्