Logo
|
Friday 29th March 2024
Logo

epaper

मापदण्डविपरीत नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने तयारी



मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले कलेजलाई अस्पताल सञ्चालनको स्वीकृति दिन जोड गरेकी छिन् । तर, मन्त्रालयका सबै विभागीय प्रमुखले निर्णय फाइलमा पूर्वाधार नपुगेको भनेर टिप्पणी लेखे पनि सचिव चौधरी भने स्वीकृति दिन जोडबल गरिरहेकी छिन् ।

निरीक्षण टोलीको सुझाबविपरीत स्वीकृति दिने तयारी
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले स्वास्थ्य मन्त्रालयबाट निजी तथा गैरसरकारी स्वास्थ्य संस्था सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका, २०६१ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका, २०७० (दोस्रो संशोधन, २०७३) बमोजिम मन्त्रालयलाई तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी निवेदन दिएको थियो । कलेजले २२ वैशाख ०७५ मा निवेदन दिएपछि मन्त्रालयले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्न १० जनाको अनुगमन तथा निरीक्षण टोली गठन गरेको थियो ।

२४ असार ०७५ मा टोलीले अनुगमन तथा निरीक्षण गर्‍यो । उक्त टोलीले तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कुनै पनि मापदण्ड नपुगेको प्रतिवेदन तयार पारेर बुझाएको थियो ।

‘तीन सय शय्याको अस्पताल सञ्चालनका लागि चाहिने महत्वपूर्ण मापदण्ड पुगेको देखिएन । सोही आधारमा हामीले प्रतिवेदन पेस गरेका छौँ,’ अनुगमन टोलीका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु-यालले भने । तर, निरीक्षण टोलीको सुझाबविपरीत स्वीकृति दिने तयारीमा सचिव चौधरी लागिरहेकी छिन् ।

विज्ञहरूले निरीक्षणपछि औँल्याए यस्ता कमजोरी
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० (दोस्रो संसोधन, २०७३) अनुसार परिच्छेद ४ को दफा १६, उपदफा १३ को बुँदा १४ (छ) मा अस्पतालको कुल निर्माण क्षेत्रफल प्रतिशय्या ५५ वर्गमिटरका दरले हुनुपर्ने उल्लेख छ । तर, उक्त मेडिकल कलेजको अस्पताल भवन सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, काठमाडौंबाट भवन निर्माण स्वीकृति भइनसकेकोे भेटिएको निरीक्षण तथा अनुगमन समितिले बताएको छ ।

यसैगरी, भवनको कुल क्षेत्रफल निवेदकले सञ्चालन अनुमति माग गरेबमोजिमका शय्याको अस्पताल सञ्चालन गर्न पर्याप्त नभएको, प्याथोलोजी, रेडियोलोजी तथा आवश्यक जनशक्ति तीन सय शय्याको अस्पताल सञ्चालन गर्न पर्याप्त नभएको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइनसकेको निरीक्षण तथा अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । यी सबै मापदण्ड पूरा गरेपछि मात्रै अस्पताल सञ्चालनको स्वीकृति प्रक्रिया अघि बढाउन सकिने समितिको राय छ ।

स्वीकृति दिन न्यूनतम मापदण्ड नै पुगेन
सुशीलनाथ प्याकुर्‍याल
संयोजक, निरीक्षण तथा अनुगमन समिति
काठमाडौं नेसनल मेडिकल कलेजलाई तीन सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति दिन न्यूनतम मापदण्डसमेत अपुग देखियो । उसले अत्यावश्यक कागजपत्रसमेत पूरा गरेको छैन । भूकम्पपछिको भवनको अवस्था र वातावरणीय प्रभाव मूल्यांकन गरी अस्पताल सञ्चालनका लागि स्वीकृति लिएको पत्र पनि छैन । तीन सय शय्याका लागि जग्गाको कमी छ, प्याथोलोजी अत्यन्तै सानो छ । अन्य एक दर्जनभन्दा बढी संरचना अपुग देखिन्छन् । यो अवस्थामा स्वीकृति दिन सम्भव छैन ।

दुई सय शय्याको भए पनि दिने जोडबलमा सचिव चौधरी
विज्ञटोलीले तीन सय शय्याको अस्पतालका लागि न्यूनतम मापदण्ड नै नभएको प्रतिवेदन दिएको थियो । सचिव डा. पुष्पा चौधरी सोही प्रतिवेदनलाई अगाडि बढाउँदै दुई सय शय्याको भए पनि अस्पताल सञ्चालनको अनुमति दिने तयारीमा छिन् । तर, तीन सय शय्याको हकमा अनुगमन गरेर तयार पारिएको प्रतिवेदनकै आधारमा त्यसभन्दा कम शय्याका लागि पनि स्वीकृति दिन नमिल्ने विज्ञहरू बताउँछन् । दुई सय शय्याको स्वीकृति स्वास्थ्य सेवा विभागले दिने नियम छ ।  नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्