Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सप्तरीमा स्वाइन फ्लु



जनकपुर/सप्तरी – सप्तरीमा हङकङ फ्लु (ए/एच–३) र स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमणले तीन बालबालिकाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

कञ्चनरुप नगरपालिकामा तीन बालबालिकाको मृत्यु र अन्य बालबालिका धमाधम बिरामी पर्न थालेपछि महाशाखाले पठाएको विशेषज्ञसहितको टोलीले उक्त रोग फैलिएको पत्ता लगाएको हो। महाशाखाअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश साहको नेतृत्वमा सप्तरी आएको विशेषज्ञसहितको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार एक सय २२ जनाको स्वास्थ्योपचार गरेको थियो । ती मध्ये शंकास्पद १६ जनाको रगत जाँचका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाइएकोमा ११ जना संक्रमित भेटिएको डा. साहले जानकारी दिए।

‘शिविरमा स्वास्थ्योपचार क्रममा शंकास्पद देखिएका हनुमाननगरका ६ र कञ्चनपुरका १० जनाको रगत विशेष जाँचका लागि पठाएका थियौं’, डा. साहले नागरिकसँग भने, ‘तीमध्ये हनुमाननगरका पाँच तथा कञ्चनपुरका पाँच जनामा हङकङ फ्लु (ए/एच–३) र कञ्चनपुरका एकजनामा स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमण भेटिएको छ ।’ यी रोग मौसमी रुघाखोकीअन्तर्गत नै परे पनि कडा संक्रमण भएकाले समयमै उपचार नपाउँदा मृत्युसमेत हुनसक्ने खतरा रहेको उनले बताए।

कञ्चनरुपमा स्वाइन फ्लुको संक्रमण भएको जानकारी पाउनासाथ उक्त क्षेत्रमा सघन उपचार टोली परिचालन गरिएको डा. साहले बताए । त्यस्तै स्थानीय स्वास्थ्यकर्मीका लागि एन ९५ मास्क पठाएर स्वास्थ्य जाँचमा सक्रियता बढाउन निर्देशन भइसकेको जानकारी दिँदै उनले स्थानीय रेडियो एफएमबाट चेतनामूलक सन्देश प्रसारणका साथै सचेतता अभियान सुरु गरिएको बताए।

रुघाखोकी जस्तै संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने यस प्रकारको रोगबाट बच्न संक्रमित बालबालिकालाई विद्यालय नपठाउन उनले आग्रह गरेका छन् । ‘संक्रमित बालबालिकालाई तत्काल विद्यालय नपठाएर घरमै राखी स्थानीय स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार तथा स्याहार गर्नुपर्छ’, उनले भने । यसैबीच, कञ्चनरुप नगरपालिकाले असोज दुई गतेसम्मका लागि नगर क्षेत्रका सबै विद्यालयमा बिदाको घोषणा गरेको छ । बिहीबारै आपतकालीन निर्णय गरी नगर प्रमुख वसन्तकुमार मिश्रले असोज दुई गतेसम्मका लागि सबै विद्यालय बन्द गर्न सूचना जारी गरेका हुन्।

कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्युभएपछि रोगको कारण खोतल्ने प्रयास सुरु गरिएको थियो। नागरिक न्युज

प्रतिक्रिया दिनुहोस्