Logo
|
Friday 29th March 2024
Logo

epaper

४४ हजार भन्दा बढि बालबालिकाहरुको निःशुल्क सर्जरी



डा. विवेक बाँस्कोटा युवापुस्ताका जुझारु हाडजोर्नी शल्यचिकित्सक हुनुहुन्छ । उहाँले बी एण्ड बी अस्पतालबाट सेवा प्रदान गरिरहनुभएको छ भने बनेपास्थित अपाङ्ग बाल अस्पताल पनर्स्थापना केन्द्रमा विगत ६ वर्षदेखि मेडिकल डाइरेक्टरका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ संलग्न अपाङ्ग बाल अस्पताल पुनस्र्थापना केन्द्रले अहिलेसम्म ८३ हजार भन्दा बढि बालबालिकाहरुको निःशुल्क हाडजोर्नीसम्बन्धि पुनस्र्थापना ट्रिटमेन्ट गरिसकेको छ भने ४४ हजार भन्दा बढी बालबालिकाहरुले निःशुल्क सर्जरी सेवा पाइसकेका छन् । केन्द्रबाट अपाङ्ग बालबालिकाहरुले प्राप्त गर्ने सेवा र सुविधाबारे डा. बिवेकको डायरी यस्तो छ —उहाँको आफ्नै भाषामा ।
बनेपास्थित अपाङ्ग बाल अस्पताल पुनस्र्थापना केन्द्रको स्थापना सन् १९८५ मा मेरो बुबा प्रा.डा. अशोक बाँस्कोटाले सामाजिक सेवाभावबाट प्रेरित भएर स्थापना गर्नुभएको थियो । शारीरिक अपाङ्गता भएका विपन्न बालबालिकाहरु निःशुल्क उपचार गर्ने उद्देश्यले यो अस्पतालको स्थापना गरिएको हो ।

केन्द्रले बर्षेनी १७० दिन नेपालभर ‘मोबाइल क्लिनिक’ सञ्चालन गरी हजारौं अपाङ्ग बालबालिकालाई सेवा पु¥याउँदै आएको छ । यसै शिलसिलामा बालबालिकाहरुको हाडजोर्नीसम्बन्धि समस्याको उपचारका लागि स्वास्थ्य शिविर लिएर करिब ४९ वटा जिल्लामा म पनि पुगिसकेको छु । भौगोलिक असमानता र गरिबीका कारण हाडजोर्नीसम्बन्धि उपचार धेरै बालबालिकाहरुको पहुँचभन्दा बाहिर भएको देखेँ । त्यसैले कुनै पनि संक्रमण भएर निको नहुने अवस्था आउन नदिन बेलैमा तपाईं आफैं सचेत हुनुपर्छ ।

सेवा
शारीरिक अपाङ्गता भएका विपन्न वर्गका बालबालिकाहरुको निःशुल्क उपचार र पुनस्र्थापनाका लागि खोलिएको च्यारिटी अस्पताल हो यो । पश्चिममा नेपालगञ्ज, पूर्वमा इटहरी, लहान, बाग्लुङ्ग र बुटवल गरी देशका ५ वटा ठाउँमा डेडिकेटेड शाखा सेन्टरहरु रहेका छन् ।

बालबालिकाको समस्या
यो अस्पतालमा सबैभन्दा धेरै हाडजोर्नीको जन्मजात समस्या भएका धेरै बालबालिका आउने गर्छन् । ‘क्लबफूट’ जन्मजात धेरैलाई देखिने समस्या हो । यसबाहेक बालबालिकाहरुमा मस्तिष्क पक्षघातको समस्या देखिने गरेको छ । बच्चा जन्मिने बेला कुनै कारण मस्तिष्कमा अक्सिजन नपुगेमा, समयभन्दा पहिला बच्चा जन्मिएमा र जन्मपछि संक्रमण भएमा यस किसिमको समस्या देखिनसक्छ ।
मष्तिष्कघात भएका बालबालिकाहरुमा मोभमेन्ट (गति) डिसअर्डर हुन्छ । हिड्न र हातखुट्टा चलाउन सक्दैनन् । यस्तो समस्या भएका २०–२५ प्रतिशत बिरामीलाई शल्यक्रिया, फिजियोथेरापी गराएर कार्यगतिमा ल्याउन मद्धत गर्दछौं ।
चोटपटक लागेर बांगिएको हातको शल्यक्रिया गरेर सिधा बनाउने गरिन्छ । यसका साथै तत्काल चोटपटक लागेका बालबालिकालाई पनि उपचार सेवा प्रदान गरिन्छ ।
भिटामिन ‘डी’ नपुगेर खुट्टा बांगिएका बालबालिकाहरुलाई सर्जिकल उपचार सेवा प्रदान गरिन्छ यसका साथै कतिपय बालबालिकालाई भिटामिन डी पनि खुवाइन्छ । आगोले जलेर अपाङ्ग भएका बालबालिकाहरु प्लाष्टिक सर्जरी सेवा दिइरहेको छ ।
त्यस्तै ट्युमर, जन्मजात हुने स्कोलियोसिस, स्पाइनका समस्या, इन्फेक्सन एवं बच्चाहरुमा देखिने अर्थोपेडिकसम्बन्धि सबै समस्याहरुको उपचार सेवा प्रदान गर्दै आएका छौं ।

जन्मजात अपाङ्ग
वंशाणुगत कारणले बालबालिकाहरु जन्मजात अपाङ्ग जन्मिन्छन् । ‘क्लवफुट’ जन्मजात देखिने कमन रोग हो । तर अनुसन्धानकर्ताहरुले ३—४ वटा जीन पत्ता लगाएको भएपनि के कारणले हुन्छ ? भन्ने अहिलेसम्म थाहा छैन । गर्भमा खुट्टाको विकास हुने बेला जिनमा समस्या देखिनसक्ने केही अनुसन्धानकर्ताहरुको भनाइ छ ।
कुनै कुनै क्रोमोजोमका कारण पनि हड्डीमा समस्या देखिनसक्छ । ‘डाउन सिन्ड्रोम’ क्रोमोजोमका कारण हड्डीमा देखिने समस्या हो । यसले हाडजोर्नी, मुटु र मिर्गौलामा समस्या गर्नसक्छ । ‘मस्क्युलर डिसट्रोफी’ परिवारमा सर्दैजान्छ ।
हड्डी बन्नेबेला कमलो तरिकाले हड्डी बन्ने समस्यालाई अस्टियोजेनेसिस इम्परफेक्टा भनिन्छ ।

रोग पहिचान
बालबालिकाहरुलाई कम्प्लिट हेल्थ केयर सोलुसन दिने यो च्यारिटेबल अस्पताल हो । शुरुमा हामी विपन्न परिवारमा रहेका अपाङ्ग बालबालिकाहरु पहिचान गर्दछौं । उपचारपछि सम्बन्धित बालबालिकाहरुलाई सामाजिक पुनस्र्थापना गर्छौ ।
हाम्रो पाँच ओटा स्याटालाइट सेन्टरहरु छन् । २२० जना स्टाफ छन् । त्यसमध्ये ३० जना स्टाफ केन्द्रमा उपचार पाएका पूर्व बिरामी रहेका छन् । ७० जना स्टाफ फिल्डमा नै हुन्छन् । उहाँहरुले मोबाइल क्लिनिक सञ्चालन गरिरहनुभएको छ । वर्षेनी २५ हजार जना बालबालिकाहरुलाई सेवा पु¥याउँदै आएका छौं । त्यसमध्ये ६० प्रतिशत बालबालिकाहरुलाई सम्बन्धित फिल्डबाट उपचार सेवा प्रदान गर्दछौं । गाउँ गाउँमा पुगेर बच्चाहरु छनोट गरेर उपचार गर्छौ र विभिन्न संस्थाहरुसँग मिलेर उनीहरुको अध्ययनमा पनि मद्दत गर्दछौं ।
लाभ
केन्द्रमा अहिलेसम्म ८३ हजार भन्दा बढी बालबालिकाहरुको पुनस्र्थापना उपचार भइसकेको छ । त्यसमध्ये ४४ हजारको सर्जरी भएको छ । त्यसमा कतिपय पहिलादेखि नै स्कुल गइरहेका बालबालिका पनि हुन्छन् भने कति बालबालिकाहरु टुहुरा हुन्छन् । उनीहरुलाई केन्द्रमा नै पुनस्र्थापनाको सुविधा छ ।

अध्ययन सुविधा
गाउँघरबाट बच्चा ल्याएर उपचार गर्दा ‘आज तिमीहरु घर जाऊ, भोलि आऊ’ भन्ने अवस्था रहँदैन । उपचारका क्रममा ३ हप्तादेखि ६ महिनासम्म बस्नुपर्छ । त्यस क्रममा उनीहरुको पढाइ नछुटोस् भनेर हस्पिटलमा स्कुलको स्थापना गरेका छौँ । हस्पिटलमै तिन जना शिक्षकहरु छन् । बच्चाहरुको कोर्स अनुसारकै पढाइ हुन्छ ।
यस केन्द्रमा भारतबाट ४ सय जना बालबालिका फलोअपमा छन् । हस्पिटलमा तिब्बत सिक्किम, मंगोलियाबाट बालबालिका आउने गर्छन् । यहाँबाट उपचार गरेर गएका बालबालिकाहरु डाक्टर त कोहीले विद्याबारिधिसमेत गरिसकेका छन् । यो अस्पताल चलाउन धेरै दुःख गरेर पैसा उठाउनुपर्छ । हामीलाई अरु सर्पोट छैन । एउटा टुहुरो बच्चालाई उपचार गरेर सामाजिक पुनस्र्थापना गर्न सकेमा उसले देशका लागि राम्रो काम गर्नसक्छ । यसबाट समाजलाई रिर्टन अफ इनभेसमेन्ट राम्रो हुन्छ । त्यसकारण कुना काप्चामा क्याम्प गर्न प्रेरणा मिलेको छ ।
मेरो यो हस्पिटल सँग स्पेसल सम्बन्ध छ किन कि मेरो बुबाले सुरु गर्दा म, मेरो दाइ र बहिनीलाई पनि सँगै लगेर काम गर्नुहुन्थ्यो । छुट्टिको बेला हामी पुनस्र्थापना केन्द्रका बच्चाहरुसँग खेल्थ्यौ । मलाइ सानो उमेरदेखि डाक्टर बन्न मन थियो । डाक्टर भएपछि यहाँ काम गर्ने मौका पाएँ । यो मेरो लागि धेरै खुशी र गर्वको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्