Logo
|
Friday 19th April 2024
Logo

epaper

दुर्गमको दुर्गतीः सुगम विभुषित



सरकारले दुर्गम क्षेत्रमा बसेर स्वास्थ्य सेवा पुर्याउदै आइरहेको स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नु त कता हो कता उल्टै सुगम क्षेत्रमा कार्यरत चिकित्सकहरुलाई मात्रै मानपदवी र पदक दिएर सम्मान गरेको छ । संविधान दिवसको दिन राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका चिकित्सक, नर्स एवं औषधि उद्यमीलाई पदक प्रदान गरिएको थियो । जसमा सुगम क्षेत्रमा कार्यरत चिकित्सकहरु मात्र विभुषित भएका छन । मानपदवी र पदक पाउने दुर्गम तथा विकट क्षेत्रका चिकित्सकको संख्या सुन्य छ ।
कर्णाली प्रदेश र सात नं. प्रदेशमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई पनि मानपदवी वा पदक प्रदान गरिएको छैन । गुणस्तरीय स्वास्थ्य सेवा नपुगेको क्षेत्रमा दुर्गम खटिएका बेला सरकारले उचित मुल्यांकन नगरेकोमा स्वास्थ्यकर्मीले गुनासो गरेका छन । मानपदवी एवं पदक द्वारा विभुषित हुने अधिकांश चिकित्सकहरु काठमाडौं मै कार्यरत छन । दुई जना नर्सलाई मानपदवि प्रदान गरिएको छ । सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट विभुषित भएका चिकित्सकहरु मध्ये एघार जना काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत छन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका, वीर अस्पतालका डा. गणेश गुरुङ, धुलिखेल अस्पतालका प्रमुख डा. राजेन्द्रप्रसाद कोजु, नेपाल प्रहरी अस्पतालकी डा. आशा सिंह विभुषित भएकी छिन ।

यसैगरि महाराजगन्ज मेडिकल क्याम्पसका प्रमुख डा. प्रताप नारायण प्रसाद, ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल, आँखा रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल, त्रिवि शिक्षण अस्पतालकी डा. गीता गुरुङ छन्। ।
कान्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राई ,त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटालाई पनि सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ ।

काठमाडौं बाहिर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.पशुपति चौधरी र भेरी अञ्चल अस्पताल नेपालगन्जकी नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठलाई यस मानपदवी प्रदान गरिएको छ ।

‘‘कर्णाली प्रदेश र सात नं. प्रदेशमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीलाई पनि मानपदवी वा पदक प्रदान गरिएको छैन ।’’

त्यस्तैगरि सुप्रबल जनसेवा श्री चतुर्थ श्रेणीको मानपदवीमा पनि सुगमकै बाहुल्य छ । काठमाडौंमा कार्यरत आधा दर्जन बढी चिकित्सकलाई यो पदवी प्रदान गरिएको छ । वीर अस्पतालकै निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत, वीर अस्पतालकै डा. दिलिप शर्मा, त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा।सगुन जोशी, काठमाडौंकै डा. दीपक श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका डा.राम थापा क्षेत्री, वीरेन्द्र अस्पतालकी डा. दृष्टि राज्यलक्ष्मी शाह र सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रविन नेपालले पनि पदक पाएका छन ।

यहिँ पदकबाट जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपाने, जिल्ला अस्पताल धनकुटाका डा.फणिन्द्रराज बराल, मन्थलि प्राथमिक स्वास्थ्य केन्द्रकी डा. नीलिजा शाक्य, विराटनगरका डा.पवनकुमार कर्ण कायस्थलाई पनि प्रदान गरिएको छ । जिल्ला अस्पताल दाङकी नर्सिङ निरिक्षक राधा पौडेललाई जनसेवा श्री पञ्चम श्रेणीको पदक प्रदान गरिएको छ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल चौबिसै घण्टा ड्युटिमा खटिने नर्सहरुलाई सरकारले उपेक्षा गरेको भन्दै गुनासो गरिन ‘नर्सहरु चाकडि, चाप्लुसी गर्न जाँदैनन्न भनसुन गरिदिने पनि कोही भएन,’ उनले भनिन्। ।

भुईंचालोका बेला नर्सहरुले गरेको योगदानको कदर गर्ने संयुक्त राष्ट्र संघले नर्सिङ संघलाई रिस्क रिडक्सन पुरस्कार,—२०१७ दिएको बताउँदै पोखरेलले यसपल्ट नर्सको अवमुल्यन भएको बताइन्न ‘८१ हजार भन्दा बढी नर्सहरु विरामीको सेवामा खटिएको बेला सरकारले दुईजनालाई मात्र छनोट गर्नु दुर्भाग्यपूर्ण हो,’ पोखरेलको भनाई थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले पनि विकट क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सरकारले उपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्