Logo
|
Friday 29th March 2024
Logo

epaper

थायराइड ग्रन्थी तथ्य, कार्य र रोग



थायराइड ग्रन्थी मानव शरीरका विभिन्न ग्रन्थीमध्ये एक महत्वपूर्ण ग्रन्थी हो । यो तपाईंको गलामा सानो पुतली आकारको हुन्छ । यो स्वास्थ्यका लागि धेरै महत्वपूर्ण अंग हो । यसले थायराइड हर्मोन उत्पादन गर्दछ जसले शरीरमा हुने विभिन्न रसायनिक प्रक्रियालाई सक्रिय र सुचारु राख्न मद्धत गर्दछ ।
अमेरिकन थायराइड एसोसिएसनका अनुसार, अमेरिकामा १२ प्रतिशत भन्दा बढी व्यक्ति जीवनको कुनै पनि कालखण्डमा एकपटक थायराइड रोगबाट प्रभावित हुने गरेका छन् । पछिल्लो तथ्यांक अनुसार, अमेरिकामा २ करोडलाई थायराइड भएकोमा ६० प्रतिशत आफ्नो रोगबारे जानकार छैनन् ।
नेपालमा थायराइड ग्रन्थी सम्बन्धि रोगबारे सरकारी तथ्यांक छैन । तर चिकित्सकहरुकहाँ उपचार गर्न आउने बिरामीहरुको संख्या अधिक छ ।
कस्तो अवस्थामा बिरामी आउँछन् ?
बिराटनगरदेखि ललितपुरको काठमाडौं डायविटिज एण्ड थायराइड सेन्टरमा उपचार गर्न आइपुगेकी लक्ष्मी पोखरेल हातगोडा काप्ने, टाउको दुख्ने, खान मन नलाग्ने, रिंगटा लाग्ने, बढी पसिना आउने, दिसा पटक पटक लाग्ने, निद्रा नलाग्ने समस्या सताउन थालेपछि उहाँ धेरै ठाउँमा उपचारका लागि धाउनुभयो । धेरै समयपछि मात्र उहाँलाई थायराइड भएको पत्ता लाग्यो । चिकित्सकको परामर्शमा नियमित औषधि सेवन गरिरहनुभएको छ । अहिले उहाँ ६—६ महिनाको फलोअपमा हुनुहुन्छ ।

‘मलाई थायराइड भएको एक वर्ष भयो । शुरुमा हातखुट्टा गल्ने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या भएको थियो । के भयो भनेर धुलिखेल अस्पतालमा जचाँउन गएँ । डाक्टरले थायराइडको समस्या भएको बताउनुभयो । त्यसपछि डाक्टरको सल्लाहमा एक वर्षदेखि नियमित औषधि खाइरहेको छु ।’—झम्सीखेलकी सुलोचना खत्री भन्नुहुन्छ— ‘अहिलेसम्म त राम्रो छ । फलोअपका लागि अहिले ६ महिनाको समय दिएकाले आएको छु । अहिले समस्या कम भएको छ । रिंगटा पनि लागेको छैन । टाउको पनि त्यति दुखेको छैन । प्राय खाना बारेको छैन । यस्ता समस्या भएका बिरामीले आत्तिन हुन रहेनछ । चिकित्सकले बिस्तारै समस्याबाट छुटकारा पाइन्छ भन्नुभएको छ ।’
हर्मोन विशेषज्ञ डा.अंशुमाली जोशी के भन्नुहुन्छ ?

हर्मोन विशेषज्ञ डा.अंशुमाली जोशी
 हर्मोन विशेषज्ञ डा.अंशुमाली जोशी

थायराइड हर्मोन रोग भाइरल इन्फेक्सन र अटोइम्युनबाट सृजित हुन्छ । भाइरल इन्फेक्सनका कारण देखिने समस्या टेम्पोरटी हुन्छ । भाइरल इन्फेक्सनबाट हुने समस्या औषधि खाए पनि वा नखाएपनि आफैं निको हुन्छ । शरीरको प्रतिरोधात्मक शक्तिमा गडबडी भएर हुने समस्या अटो इम्युन थायराइड हो । यो जिन्दगीभर हुने रोग भएकाले जीवनभर औषधि सेवन गर्नुपर्छ ।
कतिपय बिरामीलाई थायराइडको समस्या भएको आफैंलाई थाहा हुन सक्दैन । मोटाउने, दुब्लाउने, जाडो लाग्ने, गर्मी लाग्ने, पसिना बढी वा कम आउने, कपाल झर्ने, महिनावारीमा गडबड हुने, निःसन्तानको समस्या, कब्जियत, पेटको समस्या, मुटु ढुक ढुक हुने, छाला खस्रो हुने समस्या थायराइड भएका व्यक्तिको मुख्य लक्षण हुन् ।

थायराइड ठूलो रोग होइन । थायराइड ग्रन्थी गाडीको इन्जिन जस्तै शरीर सञ्चालनका लागि आवश्यक पर्ने हर्मोन भएकाले यसको लक्षण कुनै एक अंगमा मात्र सिमित हुँदैन ।
कतिपय बिरामी आफैं जागरुक भएर शुरुको अवस्थामा थायराइड हुनसक्ने भयले परीक्षणका लागि आउने गर्छन् भने रोग पत्ता लागेपछि सम्बन्धित डाक्टरको सिफारिसमा स्पेशलाइज उपचारका लागि कतिपय बिरामी आउने गर्छन् ।
यस रोग पहिचानका थायराइड फंगसन टेष्ट (टिएफटी) गर्नुपर्छ । थायराइड घाँटीमा हुने भएकाले त्यहाँ डल्लो आदि देखा परेमा थायराइड अल्ट्रासाउन्ड गर्नुपर्छ ।
थायराइड ग्रन्थी सम्बन्धि रोग ४ प्रकारका हुन्छन् । हर्मोन बढी हुने रोगलाई हाइपर थायराइडिजम भनिन्छ । हर्मोन कम हुने रोगलाई हाइपो थायराइडिजम भनिन्छ भने घाँटीमा गलगाँड आउने रोग (थायराइड गडबढ नहुने तर थायराइड ग्रन्थीमा डल्लो आउने जुन क्यान्सर होइन), थायराइड ग्रन्थीको क्यान्सर पनि हुनसक्छ ।

थायराइड र गर्भ
पाठेघरलाई पनि थायराइड हर्मोन आवश्यक पर्छ । बच्चा बस्न, अण्डा उत्पादन हुन र सबै प्रक्रियामा थायराइड हर्मोनको जरुरत पर्ने भएकाले हर्मोन गडबड भएमा निःसन्ताको समस्या हुनसक्छ । तर त्यो हर्मोन तपाईंले बाहिरबाट पु¥याउनु भएमा निःसन्तानको समस्या थायराइडले गर्दा हुँदैन ।
आमालाई थायराइड समस्या छ भन्दैमा बच्चालाई हुन्छ भन्ने जरुरत हुँदैन । यो समस्या बच्चा जन्मँदै हुन्छ भन्ने पनि हुँदैन । गर्भवती अवस्थामा थायराइडलाई नियन्त्रणमा राखेर नियमित फलोअपमा बसेमा बच्चाहरुलाई कुनै समस्या हुँदैन । तर यो वंशजमा हुने अटो इम्युन डिजिज भएकाले ठूलो भएपछि हुनसक्ने सम्भावना हुनसक्छ ।

उपचारमा मध्यम वर्गको पहुँच
थायराइड रोगमा खानपान, नियमित औषधि सेवन गर्ने कुरामा भ्रम र हल्ला बढी छ । त्यसैले यसमा काउन्सिलिङको बढी जरुरत छ । उपचारमा गारो हुने रोग होइन । यो महँगो औषधि होइन । दीर्घकालीन रुपमा खाँदा बिरामीलाई मर्का पर्दैन ।
कुनै कुनै हर्मोन बढी हुने रोगलाई दिने औषधि रेडियो आयोडिनको उपचार अलि महँगो हुनसक्छ । रेडियोआयोडिन एकपटक खाएपछि पटपटक खान जरुरत पर्दैन । थायराइड क्यान्सर उपचार पनि धेरै महँगो छैन ।

हर्मोन विशेषज्ञ डा. ज्योति भट्टराइ के भन्नुहुन्छ ?

      हर्मोन विशेषज्ञ डा. ज्योति भट्टराइ

थायराइड ग्रन्थी घाँटीमा उत्पादन भएर शरीरका विभिन्न अंगमा रहेका कोषिकामा पुगेर काम गर्ने भएकाले यसको महत्वपूर्ण भूमिका छ । हाम्रो शरीरका हरेक अंगका एक एक कोषमा अक्सिजन र ग्लुकोज आदिको रसायनिक क्रियाहरु भइरहेको हुन्छ । त्यसलाई मेटाबोलिक (शक्ति) दिने काम थायराइड हर्मोनले गर्छ । यसले शरीरका हरेक कोषहरुलाई उर्जावान गराइराख्छ र चाहिने शक्ति प्रदान गरी सम्बन्धित अंगलाई सक्रिय गराउने र यसको कार्य सुचारु राख्छ ।
शरीरका हरेक कोषहरुको मेटाबोलिज्म (रस प्रक्रिया) लाई स्वस्थ्य राख्छ । जस्तो—मस्तिष्कलाई एकत्रित र सोच्न सक्ने क्षमतालाई तन्दुरुस्त राख्छ । मुटुले सामान्य काम गर्न थायराइड हर्मोनको निकै आवश्यकता पर्छ । थायराइड हर्मोनको गडबडीले मुटु सुन्निएर यसले राम्रोसँग काम गर्न सक्दैन । यसका साथै मुटुको रक्त प्रवाह गर्ने क्षमता घट्छ । मुटुको वरिपरिको झिल्लीमा पानी जम्ने समस्या देखिनसक्छ । थायराइड हर्मोन पेटका लागि अति आवश्यक हुन्छ । आन्द्राको कार्यका लागि थायराइड हर्मोन निकै महत्वपूर्ण मानिन्छ । थायराइड हर्मोनको गडबडी भएमा झाडा लाग्ने, अपचको समस्या, पाचनशक्तिमा गडबडी हुनसक्छ ।
यसैगरी महिलाहरुको महिनावारी ठीक समयमा हुन थायराइडको महत्वपूर्ण भूमिका हुन्छ । थायराइडमा गडबडी भएमा महिनावारी समयमा नहुने र निःसन्तानको समस्या पनि हुनसक्छ । यसैगरी गोडाहरु सुन्निने, कपाल धेरै झर्ने, नङमा गडबडी हुनेजस्ता समस्याहरु थायराइडका कारणले हुनसक्छन् ।

हाइपोथायराइडिज्मको प्रभाव
-धेरै जाडो लाग्ने
-अपचको समस्या (कब्जियत)
-शरीर सुन्निने
-मोटाउने
-छाला खस्रो हुने
-कपाल झर्ने
-एकत्रित हुने शक्ति कम हुने
-अल्छी लाग्ने
महिनावारीमा गडबडी हुने
-निःसन्तानको समस्या

हाइपरथायराइडिज्मको प्रभाव
-शारीरिक तौल कम हुने
-मुटु ढुक ढुक हुने
-हात काम्ने
-पसिना धेरै निस्किने
-गर्मी धेरै लाग्ने
-झाडा लाग्ने
-घाँटीमा गलगाँड निस्किने
-आँखा ठूलो हुनसक्ने
-कपाल झर्ने
-महिनावारी गडबडी हुने आदि ।

थायराइड परीक्षण
थायराइडको धेरै परीक्षण हुन्छ जस्तै— टी थ्री, टी फोर, एफटिआई, टिएचएच । यी परीक्षणले थायराइड ग्रन्थीको स्थिति पत्ता लाग्छ । कहिलेकाँही थायराइड ग्रन्थीमा कुनै रोग नभएपनि पिट्यूटरी ग्रन्थीले ठीकसँग काम नगर्दा थायराइड ग्रन्थीलाई उत्तेजित गर्ने हर्मोन टीएसएच (थायराइड स्टिमिुलेटिङ हर्मोन) ठीक सँग बन्दैन र थायराइडबाट हुने रोगको लक्षण उत्पन्न हुन्छ ।

हर्मोन विशेषज्ञ डा.प्रीया दर्शनी योञ्जन के भन्नुहुन्छ ?

हर्मोन विशेषज्ञ डा.प्रीया दर्शनी योञ्जन

थाइराइड रोग पुरुषको तुलनामा महिलामा बढि देखिन्छ । थाइराइड अटो इम्युन समस्या भएकाले यस प्रकारको समस्या महिलाहरुमा बढी देखिएको पाइन्छ । महिलाहरुमा नै अटो इम्युन समस्या किन हुन्छ ? भन्ने पत्ता लागेको छैन । मेरो व्यक्तिगत अभ्यासमा १० जना महिलालाई थायराइड हुँदा एक जना पुरुषलाई यस प्रकारको समस्या देखिने गरेको छ । शरीरमा थायराइड हर्मोन बढि हुने समस्या अर्थात हाइपर थाइराइडिज्म ८ महिलालाई हुँदा एक जना पुरुषमा देखिन्छ भने थायराइड हर्मोन कम हुने अर्थात हाइपो थाइराइडिज्म चार जना महिलामा देखिँदा एक जना पुरुषलाई हुने गरेको पाइन्छ ।

उमेर
शरीरको अटोइम्युनमा भएको गडवडी पहिलो कारण हो । यद्यपी थायराइड समस्या एउटै निश्चित समयमा हुन्छ भन्ने हुँदैन । यो कुनै पनि बेला जुनसुकै उमेर समुहका व्यक्तिमा देखिनसक्छ । कहिलेकाँही भाइरल संक्रमणका कारण पनि थायराइड हर्मोन गडबढ हुनसक्छ ।
आयु
यो जटिल खालको आयु घटाउने रोग त होइन । तर अटोइम्युनबाट भएको थायराइड समस्यामा जीवनभर औषधि सेवन गर्नुपर्छ । यदि भाइरल संक्रमणबाट थायराइड हर्मोन गडबड भएको अवस्थामा ८० प्रतिशतमा यो रोग निको हन्छ । तर अटोइम्युन सम्बन्धि समस्या भएकाले निको हुँदैन । यो रगत जाँचबाट थाहा हुन्छ । कसैमा झोल आयोडिन दिँदा हर्मोनको कमी हुनसक्छ । हर्मोन बढेको अवस्थाका व्यक्तिलाई झोल आयोडिन दिने गरिन्छ । झोल आयोडिन खाएर हर्मोनमा कमी भएको अवस्थामा योे निको हुँदैन । यस्ता बिरामीले पनि जीवनभर औषधि सेवन गर्नुपर्छ । यो अस्वस्थ्यकर जीवनशैलीबाट लाग्ने रोग होइन । यो वंशाणुगत हुनसक्छ । यो अटुइम्युन रोग भएकाले परिवारका कुनै सदस्यलाई भएमा परिवारका जो कसैलाई देखिनसक्छ ।
विषादीयुक्त खाना
विषादियुक्त तरकारी तथा फलफूल नियमित सेवन गर्नेहरुमा पनि विभिन्न अटोइम्युन समस्या देखिनसक्छ । यसले हर्मोनको गडबडी गराउनसक्छ । तर नुनमा आयोडिनको मात्रा बढि भएर अटो इम्युन समस्या देखिन थालेको छ । आयोडिनको मात्रा पिपिएममा मापन गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, २० बर्ष अगाडि १९९० मा संसारभर ३० प्रतिशत भन्दा कम देशहरुमा मात्र आयोडिनको मात्रा पुग्दथ्यो भने १० वर्षपछि २००० तिर ७० प्रतिशत भन्दा बढि देशमा आयोडिनको मात्रा पुगेको छ । कतिपय अवस्थामा आयोडिनको मात्रा बढि पनि भएको छ । यसरी आयोडिनको मात्रा बढी भएको कारण पनि अटोइम्युन समस्या देखिन थालेको छ ।
जटिलता
यो ज्यान लिने रोग त होइन तर थाइराइडलाई समयमै नियन्त्रण नगरेमा दुःख पाउन सकिन्छ । समयमा उपचार नपाएमा काम गर्न गारो हुने, गल्ने, थाक्ने, बढि मात्रामा निन्द्रा लाग्ने , शरीर झमझमाउने, पोल्ने, सुन्निने खालको समस्या हुनसक्छ । थायराइड हर्मोन कमीको तुलनामा हर्मोन बढि हुने समस्या जटिल अवस्था हो किनभने यसले मुटुमा असर गर्ने, मुटुको चाल बढाउने, एर्टियल फिव्रिलेसन लगायतका जटिल समस्या निम्त्याउन सक्छ ।
आयु
राम्रो उपचार पाएको अवस्थामा थायराइडको समस्याले आयु घट्दैन । अटोइम्युन समस्या खानपानबाट आएको होइन । विगतमा पहाडतिर आयोडिन नुनको अभावका कारण गलगाडको समस्या देखिन्थ्यो । यस्तो अवस्थामा बन्दा काउली बढि मात्रामा खानु हुँदैन भनिन्थ्यो । तर यो अहिले प्राक्टिसमा देखिँदैन । तर क्याल्सियम, आइरन चक्की, ग्याँस्ट्रिकको औषधि खाइरहेका व्यक्तिले थायराइडको औषधि केहि समय ग्याप राखेर मात्र सेवन गर्नुपर्छ ।
गर्भवती
थायराइड नियन्त्रण गरेर मात्र बच्चा जन्माउन सकिन्छ । थायराइड भएको बेलामा गर्भवती भएमा पहिलो ३ महिनामा गर्भपतन हुनसक्ने खतरा हुन्छ । त्यसैले नियमित औषधिको सेवन गरेर थायराइड नियन्त्रणमा राखेका महिलाले गर्भवती हुन मिल्छ ।
उमेर
२० देखि ३० वर्ष उमेर समूहका महिलाहरुमा थायराइड बढि देखिने गरेको छ । बुढेसकालमा थाइराइडको समस्या देखिएपनि उमेरले गर्दा परीक्षण गरेको पाइँदैन । तर युवा उमेरमा जाँगर कम हु्न थालेपछि तुरुन्तै परीक्षण गरिन्छ ।

थायराइड ग्रन्थीबारे १० जानकारी

१. थायराइड एक इन्डोक्राइन ग्रन्थी हो जुन गर्दनको तल्लो भागमा पाइन्छ । यो रुद्रघण्टी को ठीक तल हुन्छ । यो ग्रन्थीको काम थायराक्सिन हर्मोन बनाएर रगतमा पु¥याउनु हो जसले शरीरको मेटाबोलिज्मलाई नियन्त्रण गर्छ । २. थायराइड हर्मोनले दुई किसिमका हर्मोन बताउँछ । टी थ्री (ट्राइआयोडिन थायरोनिन), टी फोर (थायरोक्सिन) । यी हर्मोनको अनियमित भएपछि थायराइड हर्मोनको रोग शुरु हुन्छ ।
३. यदि शरीरमा थायराइड हर्मोन को मात्रा कम भएमा शरीरमा आलस्य हुन लाग्दछ र यसको मात्रा बढी भएमा शरीर धेरै सक्रिय हुन लाग्छ ।
४. थायराइड ग्रन्थीको नियन्त्रण पिट्यूटरी ग्रन्थीले गर्छ जबकि पिट्यूटरी ग्रन्थी हाइपोथेलमसबाट नियन्त्रित हुन्छ ।
५. हाइपोथायराइडिज्ममा टीएसएचको स्तर बढ्छ एवं टी थ्री र टी फोर कम हुन्छ ।
६. हाइपरथायराइडिज्ममा टीएसएचको स्तर घट्छ एवं टी थ्री र टी फोरको मात्रा बढ्छ ।
७. कहिलेकाँही थायराइड ग्रन्थीको कुनै रोग हुँदैन । तर पिट्यूटरी ग्रन्थीले ठीकसँग काम नगर्दा थायराइड ग्रन्थी उत्तेजित गर्ने हर्मोन थायराइड स्टिमुलेटिङ हर्मोन (टीएसएच) ठीकसँग बन्दैन र थायराइडले हुने रोगको लक्षण देखिन्छ ।
८.थायराइडको जाँचका लागि रगतमा टी थ्री, टी फोर एवं टीएसएच हर्मोनको जाँच गर्नुपर्छ । यसका साथै अल्ट्रासाउन्ड थायराइड एवं एन्टि थायराइड टेस्ट गर्नुपर्छ ।
९ थायरोक्सिन हर्मोन धेरै भएमा शरीको ताप सामान्य भन्दा धेरै हुन्छ । अनिद्रा, उत्तेजना तथा घबराहट जस्ता लक्षण पनि देखिनसक्छ । एवं शारीरिक तौलक कम हुन थाल्छ ।
१०. यदि बच्चामा थायराइड हर्मोन असन्तुलन भएमा बच्चाको शारीरिक एवं मानसिक विकास रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्