Logo
|
Friday 29th March 2024
Logo

epaper

मस्तिष्क क्षमता घट्दै जाने अल्जाइमर्स रोग के हो ? (सन्दर्भः बिश्व अल्जाइमर्स दिवस—२०१८)



(सन्दर्भः बिश्व अल्जाइमर्स दिवस—२०१८ ) 

नेपालको सन्दर्भमा अल्जाइमर्स रोगको बारेमा आम नागरिकमा जनचेतनाको स्तर न्यून छ भने सम्बन्धित जनशक्तिहरू पनि यस रोगप्रति त्यति चासो राख्दैनन् । जनचेतनाको अभावकै कारण यो रोगलाई मानसिक रोगका रुपमा बुझिदै आएको छ । तर यो रोग मानसिक रोग भन्दा पनि स्मरणशक्तिसँग सम्बन्धित छ ।

डा. राजु पौडेल, वरिष्ठ कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट

अल्जाइमर्स बुढ्यौलीसँगै स्मरणशक्ति एवं मन मस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो ।

स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्या लिएर अस्पताल आउने करिब ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिने गरेको पाइन्छ । मुलुकमा कति अल्जाइमर्सका बिरामी छन् भन्ने एकिन तथ्यांक त छैन तर अस्पतालहरुमा आउने बिरामीहरुको संख्या उल्लेख्य छ ।
अमेरिकी एक तथ्यांकअनुसार विश्वमा मृत्यु गराउने १० कारक रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ ।
अल्जाइमर्स रोगलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरण शक्तिसम्बन्धि समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ । त्यसैगरी ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ ।
अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, जसले मष्तिष्कमा बिस्तारै क्षय गराउँछ । यसबाट बिरामीमा स्मरणशक्ति कमजोर हुनुका साथै सोच्ने क्षमता, समस्याको समाधान निकाल्ने क्षमता र विस्तारै बोली र भाषामा पनि समस्या ल्याउने गर्छ ।
बुढ्यौलीसँगै मष्तिष्कमा विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ रसायनको कमीका कारण स्नायुहरूमा हुने क्षतिले अल्जाइमर्सको समस्या देखिन्छ ।
जोखिम
अल्जाइमर्स रोगको मुख्य जोखिम बढ्दो उमेर नै हो । ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले बढ्दै जान्छ । विभिन्न अध्ययनले देखाएअनुसार आणुवांशिकता (जेनेटिक्स) का साथसाथै धुम्रपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाउँछ ।
लक्षण
शुरुको अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चीजबीजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन् । त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भूल्ने (एप्रेक्सिया), योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोर र दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जान्छ ।

जटिल समस्या
रोग बढ्दै अन्तिम अवस्थामा पुगेका अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत चिन्न सक्दैनन् । आफ्नो वरिपरिका गतिविधिसँग समेत मतलब नहुने, विभिन्न मानसिक समस्या जस्तै चिन्ताको रोग (डिप्रेसन), शंकाको रोग (डिल्युजन र हेलुसिनेसन) देखिने, दिसापिसाब बारेको चेतनासमेत हराउँदै जान्छ र कपडामै दिसापिसाब गरिदिन्छन् ।

यसका साथै साबिकको खानेशैलीमा अस्वाभाविक बदलाव आउँछ । समय बित्दै जाँदा बिरामीले खाना खाने तरिकासमेत बिर्सने गर्दछन् । यसबाट बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन् । सबैभन्दा महत्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरण शक्ति तथा क्षमतामा ह«ास आउने मस्तिष्कका विभिन्न किसिमका सर्ने र नसर्ने प्रकृतिका अन्य रोगमा पनि यस्तै लक्षण देखिने भएकाले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ ।
स्पष्ट निर्देशिकाको अभाव
अल्जाइमर्स रोग पहिचानका लागि विभिन्न किसिमका परीक्षण विधि अझै अनुसन्धानका क्रममा छन् । बिरामीको रगत र शरीरका अन्य पदार्थमा विभिन्न किसिमका प्रोटिनजन्य रसायनहरूको विश्लेषण गर्ने एमआरआई, स्पेक्टलगायतका विभिन्न प्रविधिको प्रयोगबाट यो रोग निरूपणका लागि थप अनुसन्धान जारी रहे पनि रोग निरूपणबारे स्पष्ट निर्देशिका बन्न भने अझै सकेको छैन ।

Web

उपचार र रोकथाम
अल्जाइमर्स रोग पूर्णरूपमा विकसित भएपछि यसको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुआतकै अवस्थामा यसको निरूपण गर्न सकेमा केही औषधिहरूको सहायताले यस रोगको विकासको गतिलाई केही मात्रामा कम गर्न सकिन्छ । यसका साथसाथै बिरामीको जीवनयापन सहज बनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी चिकित्सकको सिफारिसमा विभिन्न औषधिहरूको प्रयोग गर्नु फाइदाजनक मानिन्छ ।
अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तहरूको सहजतासमेत यस रोगको महत्वपूर्ण पक्ष हो । यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा बिरामीको सेवा गर्न दिनरात बिरामीको आफन्त खटिनुपर्ने हुनाले उनीहरूमा पनि शारीरिक तथा मानसिक थकान बढ्दै जाने र त्यसको समयमै निदान नभएमा त्यो आफैंमा प्रत्युत्पादक हुनेसमेत खतरा रहन्छ ।
यसकारण समयमै अल्जाइमर्स रोगको निरूपण, चिकित्सकको संलग्नतामा बिरामीमा आउनसक्ने सम्भावित समस्या र तिनको निदानको उचित कार्ययोजना बनाउनु अपरिहार्य छ । बिरामी र आफन्तलाई समेत सहज हुने गरी रोगको उपचार योजना तयारी अघि बढ्नु जरुरी देखिन्छ ।
‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर आज सेप्टेम्बर २१ मा विश्व अल्जाइमर्स दिवस मनाउने गरिनछ । अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई ‘वल्र्ड अल्जाइमर्स दिवस’ का रूपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ ।

(डा.पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्