उच्चरक्तचापका बिरामीले के नखाने ? जीवनशैली कस्तो हुनुपर्छ ?

जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-09-21 06:57:50

तपाईंको रक्तचाप कति छ ?
ब्राजिलकी एक महिला मेरीयान डराइन् । विनाकारण तिनको नाकबाट भलभलती रगत बग्न थालेको थियो । ‘मैले त आफू मर्नै लागेछु भन्ठानेकी थिएँ’ भनी तिनी सम्झन्छिन् । चिकित्सकले त्यो रक्तश्राव उच्च रक्तचापले (धमनीको उच्च रक्तचाप गर्दा भएको हो भनेर तिनलाई बताइन् । ‘तर अब मलाई एकदम ठीक छ’ भनेर मेरीयानले जवाफ दिइन् । ‘कुनै लक्षण नदेखिने हुनाले थुप्रै मानिसलाई आफूलाई उच्च रक्तचाप भएको कुरा थाहै हुँदैन’ भनी तिनले भने ।
रगत प्रवाह हुँदा रक्तनलीहरूको भित्तामा रगतले पार्ने असरलाई नै रक्तचाप भनिन्छ । यसलाई रबरको बन्धक प्रयोग गरेर नाप्न सकिन्छ, जसलाई पाखुरामा बेरेर रक्तचाप नाप्ने उपकरणमा जोडिएको हुन्छ । यसबाट दुई प्रकारको नाप निस्कन्छ ।

‘‘जस्तै—१२०/८० अघिल्लो संख्यालाई सिस्टोलिक रक्तचाप भनिन्छ किनभने यसले मुटुको धड्कन (सिस्टोल) हुँदाको रगतको चापलाई देखाउँछ र दोस्रो संख्यालाई डायास्टोलिक रक्तचाप भनिन्छ किनभने यो मुटु आराम (डायास्टोल) अवस्थामा हुँदाको रक्तचाप हो । रक्तचाप पारोको मिलिमिटरमा नापिन्छ र रक्तचाप १४०/९० नाघेको खण्डमा त्यस्तो बिरामीलाई चिकित्सकहरू उच्च रक्तचाप भएका बिरामीहरू भन्छन् ।’’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी भन्नुहुन्छ—‘२० देखि ३० वर्षका युवामा साइलेण्ट किलर रक्तचापको समस्या देखिन थालेको छ । करिब ९७ प्रतिशतको उच्च रक्तचापको कारण अझै पत्ता लाग्न सकेको छैन ।’
स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ ले २३ दशमलव ४ प्रतिशत पुरुष र १६ दशमलव ८ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या भएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम सम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप देखाएको छ ।
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दवावलाई रक्तचाप भनिन्छ । माथिको १४० वा बढी र तलको ९० वा सो भन्दा बढीको अवस्थालाई उच्चरक्तचाप भनिन्छ । माथिको १२०—१३९ र तलको ८०—८९ प्रिहाइपरटेन्सन र माथिको १२० र तलको ८० सामान्य रक्तचाप हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार, मोटोपना, वंशाणुगत, गर्भावस्था, सुप र सौस, अचार, नुनिलो विस्कुट, आलु चिप्स, फास्टफूड, आलु तारेको, दालमोठ, मानसिक तनाव, कम गतिविधि, धेरै मदिरा सेवन, धुम्रपान आदिले उच्च रक्तचापको समस्या बढाइरहेको छ ।

रक्तचापको असर
अंग                            के हुन्छ ?

मस्ष्तिक                  मस्तिष्कघात
आँखा                       दृष्टिमा कमी, रक्तश्राब
मुटु                           मुटुको भित्ता बाक्लो, स्वाँ स्वाँ हुनु, मुटु कमजोर
मिर्गौला                    मिर्गौलाको काममा कमी
रक्तनली                 ठूलो र सानो रक्तनलीको रोग
नाक                         रक्तश्राव
खुट्टा                         खुट्टा सुन्निने

उच्चरक्तचापका बिरामीले के नखाने ?
अचार
अचार जे को भनएपनि उच्च रक्तचाप भएकाहरुले नखाँदा बेस हुन्छ । अचारमा क्यालोरी कम हुने भएपनि सोडियम लवण उच्च हुन्छ ।
पापड
पापडमा पनि क्यालोरी कम हुने तर सोडियम लवण उच्च हुन्छ ।
अल्कोहल
उच्च रक्तचाप भएकाहरुका लागि मदिरा सेवन निकै घातक सावित हुनसक्छ । अल्कोहलले रक्तचाप झनै बढाउँछ । यसले रक्तनलीको भित्तामा क्षति पू¥याउँछ र जोखिम झनै बढाउँछ । 
चिल्लो तथा बोसोयुक्त खानेकुरा
तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दुध, दही, घिउको बढि सेवन पनि हानिकारक हुन्छ । पानी नहालेको एक कप दुधमा ८ ग्राम चिल्लो हुन्छ । ८ ग्राममध्ये ५ ग्राम त संतृप्त फ्याट हो जुन शरीरका लागि हानिकारक हुन्छ । त्यसकारण चिल्लो निकालेको दुध पिउनु राम्रो हुन्छ ।
डुनोट
डुनोट खाँदा मिठो होला तर उच्च रक्तचापका रोगीहरुले डुनोट खानु राम्रो हुँदैन । यसमा क्यालोरी तथा चिल्लोको मात्रा पनि उच्च हुन्छ ।
चाउचाउ तथा अन्य फास्टफुड
उच्च रक्तचाप भएकाहरुका लागि यो खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरु फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । नुनमा पाइने सोडियमको मात्रा धेरै भएमा मुटु तथा रक्तनलीमै क्षति पु¥याउने र रक्तचाप उल्लेखनीय बढ्ने जोखिम हुन्छ ।
चिनी
चिनी तथा चिनीयुक्त खानेकुराहरुको अधिक सेवन पनि उच्च रक्तचापको अवस्थामा हानिकारक हुन्छ । यसले मोटोपना बढाउने हुनाले स्वतःरक्तचाप पनि बढाउँछ ।
कफी
कफीमा हुने क्याफाइन तत्वले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप उच्च हुने मानिसले कफीको बढि सेवन गर्नुहुँदैन ।

उच्चरक्तचापका व्यक्तिको कस्तो हुनुपर्छ जीवनशैली ?
सन्तुलित भोजन
कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन तथा खनिज पदार्थ पाईने खानाहरु र प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खानुपर्छ ।
चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने
तेलमा डुबाएका वा भुटेका खानेकुरा, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीजजस्ता चिल्लो र बोसोयुक्त पदार्थ कम खानुपर्दछ ।
दैनिक ५ ग्राम भन्दा कम नुन खाने
नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटु रोगी एवं मधुमेहका बिरामीहरुले दिनमा ५ ग्राम भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन ।
मोटोपन नियन्त्रण
शरीरको तौल सन्तुलित राख्नुपर्छ । मोटोपन नियन्त्रणका लागि तपाई आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस र त्यसबाट १०० घटाउनुहोस् । त्यसबाट आएको परिणाम नै तपाइको सहि वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ ।
तनावबाट मुक्त
तनावले रक्तचाप बढाउँछ । तनाव कम हुने काममा मात्र हात हाल्नुपर्छ । एउटै व्यक्तिले धेरै पद ओगट्दा दबाबमा काम गर्नुपर्छ । त्यसैले सकेसम्म धेरै पदमा बस्नुहुँदैन । यसले रक्तचाप नियन्त्रण गर्न सघाउँछ ।
धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन बन्द
धुम्रपान वा सुर्तिजन्य पदार्थहरुको सेवन कदापि गर्नु हुँदैन । यदि उच्च रक्तचाप भएका व्यक्तिहरुमा यस्तो अम्मल छ भने पनि यसलाइ चटक्कै छोड्नुपर्छ ।
नियमित व्यायाम
प्रत्येक दिन कम्तिमा आधा घण्टा सक्रिय खालका कुनै न कुनै व्यायाम गर्नुपर्छ । हिड्ने, दगुर्ने, पौडी खेल्ने, डोरी खेल्ने, साइकल चलाउने गर्नुपर्छ । उच्च रक्ततापबाट बच्न हिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो ।
रक्सी लगायतका पेय पदार्थ निषेध
अत्यधिक रक्सी, बियर वा धूम्रपानले उच्च रक्तचाप र क्यान्सरसम्म हुने अवस्था निम्त्याउन सक्छ । त्यसैले उच्च रक्तचापबाट बच्न रक्सी सेवनलाई सदाका लागि निषेध गर्नुपर्छ ।
नियमित रक्तचापको जाँच
विशेषगरी ४० वर्ष नाघेपछि हरेक तीनतीन महिनामा नियमित रुपमा रक्तचापको जाँच गराउनु राम्रो मानिन्छ । नियमित रक्तचापको जाँचले व्यक्तिलाई मुटुको रोगलगायतका रोगको आक्रमणबाट बचाउँछ ।
उच्च रक्तचाप भए नियमित औषधि सेवन
उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको सल्लाहबमोजिम नछुटाइ औषधि सेवन गर्नुपर्छ । औषधि सेवन नगरेमा पक्षाघात, हृदयाघात, मिर्गौला फेल, दृष्टिविहीन समेत हुन सकिन्छ । उच्च रक्तचाप भएका व्यक्तिले दैनिक नियमित औषधि खाने, स्वास्थ्यकर्मीसँग नियमित शारीरिक र रक्तचाप जाँच गराउनुपर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाई अन्य व्यक्ति सरह जीवन बिताउन सक्नुहुन्छ ।

    Comment Here!