Logo
|
Saturday 20th April 2024
Logo

epaper

लुपस के हो ?




नेपालमा ‘लुपस’ सम्बन्धि यकिन आँकडा नभए पनि यो रोग पुरुषको तुलनामा ९ गुणा बढी महिलालाई हुने गरेको पाइएको छ । लुपस भएका लगभग ९० प्रतिशत बिरामी १५ देखि ४५ बर्षका महिला हुने, जीवनको महत्वूर्ण एवं उत्पादनशील समयमा लाग्ने रोग भएकाले यसले महिलाको अध्ययन अध्यापन, बृत्ति विकास एवं सन्तान उत्पादन तथा हुर्काउने कार्यमा अप्ठ्यारो स्थिति उत्पन्न गरिदिने सम्बन्धित विशेषज्ञहरुले बताएका छन् ।
लुपस विशेषगरी महिलाहरुमा हुने, परस्परमा नसर्ने तथा लामो समयसम्म शरीरमा रहिरहने एक दीर्घ रोग भएकाले समयमा सही पहिचान गरेर उपचार पाएमा रोग नियन्त्रणमा राख्न सकिने सेन्टरका वरिष्ठ बाथ रोग विशेषज्ञ डाक्टर बिनित वैद्यले बताउनुभयो । यसले जोर्नीलगायत छाला, मांसपेशी मिर्गाैला, मुटु, फोक्सो तथा स्नायुमा असर पु¥याउन सक्ने भएकाले लक्षण शुरु भएको ३ महिनाबाट एक बर्षभित्र उपचार शुरु गरिएमा शरीरलाई गर्नसक्ने नकारात्मक असर न्युनिकरण गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।
कसरी हुन्छ ?
लुपस किन र कसरी हुन्छ भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन । हाम्रो शरीरको रोग विरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति (इम्युनिटी) ले हामीलाई विभिन्न रोग जस्तैः सङ्क्रमण र क्यान्सर हुनबाट जोगाउँछ । लुपस भएका बिरामीहरुमा यो शक्ति अनावश्यक रुपमा अत्यधिक क्रियाशील भइदिन्छ । फलस्वरुप : शरीरले असामान्य रुपमा एन्टीबडी भनिने विभिन्न किसिमका प्रोटिनहरु उत्पादन गर्न थाल्दछ । यसरी बनेका प्रोटिनहरुले शरीरका विभिन्न अंगहरुमा सुजन गराई लुपसका लक्षणहरु देखाउँछन् । लुपस गराउनमा वंशानुगत प्रभाव, महिलाहरुमा हुने सेक्स हर्मोन, सूर्यको प्रकाश, विभिन्न भाइरसको संक्रमण तथा केही औषधिहरुको मुख्य भुमिका रहने डा.बैद्यले बताउनुभयो । त्यस्तै कसैमा लुपस भएको रहेछ भने घामको किरण, परिवार नियोजनको चक्की, विभिन्न संक्रमण लगायत शारीरिक तथा मानसिक तनावले रोगलाई बढाउन मद्धत गर्ने उहाँको भनाइ छ ।
लक्षण
लुपसले शरीरका प्रत्येक अंगमा असर गर्न सक्ने हुनाले यसका लक्षणहरु पनि थरिथरिका हुन सक्दछन् । साथै कतिपय अवस्थामा यसका लक्षणहरु अरु रोगहरु सँग पनि मिल्न सक्ने भएकाले निदानमा कठिनाई र उपचारमा ढिलाई हुन सक्ने सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिको भनाइ छ । वंशाणुगत लक्षणहरुमा ज्वरो, अल्छीपना, कमजोर र तौल घट्ने जस्ता समस्या देखिनसक्छ । जोर्नी दुख्ने, सुन्निने तथा बिहानीपख अह«रो हुने लक्षण देखिने छाला विशेषज्ञ सेली राजभण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, छालासम्बन्धि समस्याहरुमा अनुहारमा पुतली आकारको दाग आउने, चिलाउने, खटिरा आउने, सुर्यको प्रकाशमा बाहिर निस्कन गा¥ह«ो हुने, कपाल झर्ने आदि हुनसक्छ । मिर्गौला सुन्निनसक्छ । परिपक्व र स्वस्थ्य रक्त कोषिकाहरु नष्ट हुँदै जाने भएकाले शरीरमा रक्तकोषिकाहरुको कमी हुनसक्छ । टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, केही कुराको छिटो निर्णय लिन नसक्ने, छारे रोग लाग्ने, बानी परिवर्तन भइरहने वा घरीघरी रिस उठ्ने लगायतका नसासम्बन्धि रोगका लक्षण देखिनसक्छ । आँखामा असर गर्नसक्छ । प्राय आँखा सुख्खा र रातो हुनसक्छ । छाति दुख्ने, मुटुको बाहिरी भागमा असामान्य रुपमा पानी वा तरल पदार्थ जम्मा हुने, हृदयघात हुनेजस्ता मुटु रोगका लक्षण देखिनसक्छ । यसका साथै फेक्सोमा पानी जम्न सक्छ । कतिपय बिरामीमा यसले छालामा मात्रै असर गरेको पनि पाइएको छ । रोग कडा भएको अवस्थामा यसले मिर्गाैला, फोक्सो, मुटु, मस्तिष्क, आँखा तथा रगत एवं स्नायुका नशाहरुमा सुजन गराई ती अंगहरुको काममा नराम्ररी असर पार्न सक्छ । यस रोगको निदान विभिन्न लक्षण र रगत, पिसाब, छातिको एक्सरे, मुटुको इको, मिर्गौला आदिको जाँचको आधारमा गरिन्छ । जसमा सामान्य रक्त परीक्षणदेखि केही विशेष जाँच पनि पर्दछन् ।
उपचारः
लुपस पूर्णतया निको नहुने रोग भएपनि उचित औषधि उपचारबाट यसलाई पूर्णरुपमा नियन्त्रणमा राख्न सकिने बाथरोग विशेषज्ञ डाक्टर श्वेता नकर्मीले बताउनुभयो । उहाँका अनुसार, कसै—कसैमा रोग पूर्ण नियन्त्रणमा आइसकेपछि औषधि बिस्तारै घटाउँदै गई रोक्न पनि सकिन्छ । तर यसो गर्दा रोग फर्किन्छ कि भनी सँधै सचेत हुनुपर्छ । उपचारमा रोगको स्थिति हेरीकन सामान्य सुजन कम गर्ने औषधि (एण्टीइन्फ्लामेटोरी) देखि लिएर कडा (क्यान्सरको उपचारमा पनि प्रयोग हुने) औषधीको प्रयोग गरिन्छ । औषधिको प्रयोग बाहेक घामबाट जोगिएर (टोपी, छाता, लामो बाहुला भएको लुगा लगाएर वा सनस्क्रिनको प्रयोग गरेर), रुघाखोकी लगायतका सामान्य संक्रमणको समयमै उपचार गरेर, शारीरिक तथा मानसिक तनावमा नियन्त्रण गरी रोगलाई बढ्नबाट रोक्न सकिन्छ ।
यो रोग लागेका बिरामीले कुनै प्रकारको विशेष भोजन खान जरुरत त छैन । तर सन्तुलित भोजन सेवन गर्नुपर्ने सेन्टरकी डायटिसियन प्रज्वला प्रजापतिले बताउनुभयो । उहाँका अनुसार, बिरामीले चिल्लो कम भएका खाना, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थोरै मात्राामा माछामासु खान सकिन्छ । नुन र चिल्लो कम भएका खाना खानुपर्छ
यो रोग लागेका बिरामीहरु घामको किरणबाट बच्नुपर्छ यसका लागि छाता, लेसन वा घामबाट बच्ने क्रिम एसपिएफ ३० भन्दा बढीको लगाउने, घाम छेक्ने गरी शरीर ढाक्ने कपडा लगाउने, नियमित व्यायामका साथै यो रोग लागेका व्यक्तिले निमोनिया र फ्लु भ्याक्सिन लगाउनुपर्छ । यो रोग लागेका धेरैजसो गर्भवती महिलामा गर्भपतन हुने भएकाले गर्भवती हुनअघि चिकित्सको सल्लाह लिनुपर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डा. बैद्यको भनाइ छ । यद्यपी लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह चिकित्सहरुले दिने गर्छन् । रोग नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार अनुसार अनिवार्य जाँच गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्