Logo
|
Thursday 25th April 2024
Logo

epaper

नदी र चक्रपथ सफाइ गरी उपत्यकाबाट ३५ मेट्रिकटन फोहर व्यवस्थापन



उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २८०औँ हप्तामा कोटेश्वर महादेवस्थान पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५१० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो ।

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रदेशसभा सदस्य गणेश दुलाल, म्यानमारका लागि पूर्व नेपाली राजदूत भिक्ट्रीशम्शेर राणा, सशस्त्र प्रहरी महिला परिवारकी अध्यक्ष सरिता खनाल कँडेल, महानगरपालिकाको वडा नं ३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो ।

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४१औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेशवरी महादेव मन्दिर परिसरमा गरियो । नगरपालिकाको वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेलको संयोजनमा भएको सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत जनप्रतिनिधिको सहभागिता थियो ।

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने फोहर त्यहीँ गाडियो । नकुहिने फोहर खाडल खनेर गाडिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो ।

रुद्रमती सफाइको २३५औँ हप्तामा रातोपुलबाट भण्डारखाल क्षेत्रसम्म सफाइ गरियो । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो ।

अर्को हप्तादेखि शुक्रबार बेलुकी जनचेतनामूलक अभियानसहित फोहर नगर्न सफाइमा उपस्थित हुन आह्वान गर्दै दुई घण्टे कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । विष्णुमती सफाइको २०७औँ हप्तामा आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं ५ स्थित विष्णुमती पुलमा सफाइ गरियो । सफाइमा तीन सुरक्षा निकाय, वडा नं ५ का अध्यक्ष विजय लामासहित ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । विष्णुमतीको घाट एवं सत्तलमा गरिएको सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिनुभयो ।

आजको सफाइमा स्थानीय चिसेनी युथ क्लबका युवाको उल्लेखनीय सहभागिता थियो । विष्णुमतीको मुहान क्षेत्रमा धेरै फोहर भेटिएकाले अर्को शनिबार २०८औँ हप्ताको विष्णुमती सफाइ पनि यहीँ गरिनेछ । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ९०औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

यसैगरी मनोहरा सफाइको ८०औँ हप्तामा नरेफाँटस्थित मनोहरा र हनुमन्तेको दोभानमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नदी सफाइले उपत्यकाको वातावरण स्वच्छ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो । हनुमन्ते सफाइ अभियानले पनि आज मनोहरा अभियानसँगै सफाइ गरेको जनाइएको छ ।

चक्रपथ सफाइको ७६औँ हप्तामा गोंगबुबाट सामाखुसी चोकसम्म सफाइ गरियो । ४५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो ।

आलोकनगर सफाइको ७६औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । आलोकनगर क्षेत्र सफाइ गरी महिला समूह कोटेश्वरको वाग्मती सफाइ महाअभियानमा सहभागी भएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।

चक्रपथ वाफल खण्ड सफाइको ५८औँ हप्तामा स्यूचाटार पुलबाट सोल्टी दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षकै रुपमा घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्